शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ निर्वाचन : अञ्जन श्रेष्ठको टिम घोषणा

वस्तुगत उपाध्यक्षमा शिवप्रसादको उम्मेदवारी
सोमबार, ०९ चैत २०८२, १७ : ०२
सोमबार, ०९ चैत २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठको टिम घोषणा गरिएको छ।
  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्, जसमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिएको छ।
  • उम्मेदवारहरूले निजी क्षेत्रको विकास, महासंघलाई प्रभावकारी बनाउने र सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी  निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिम सोमबार काठमाडौँमा घोषणा सभा गर्दै ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका टिम घोषणा भएको हो। 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । श्रेष्ठ प्यानलमा वस्तुगत सङ्घ तर्फबाट उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएटको तर्फबाट उपाध्यक्षमा प्रवलजंग पाण्डे र जिल्ला नगर तर्फबाट उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उपाध्यक्षमा पदका लागि उम्मेदवारी घोषणा भएको छ। 

महासंघको ६०औँ वार्षिक साधारणसभा आगामी चैत २९ र ३० गते हुँदैछ । उम्मेदवारी घोषणा गर्दै वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेले निजी क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा व्यवहारमा उतार्दै महासङ्घलाई सबै तहका उद्योगी व्यवसायीको साझा, विश्वसनीय र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उनले यसका लागि निजी क्षेत्रमैत्री नीतिगत सुधार, नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको जिम्मेवार र अर्थपूर्ण सहभागिता जनाउने बताए। 

उनले भने-‘महासङ्घलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै सचिवालयलाई पेसागत, दक्ष र सेवा–केन्द्रित संस्थाका रूपमा विकास गर्नेछौँ । केवल प्रतिबद्धता मात्र होइन, परिणाम देखिने गरी काम गर्ने संस्कृतिको विकास हाम्रो प्राथमिकता हुनेछ ।यो घोषणापत्र निजी क्षेत्रको केवल सपना होइन कार्यको प्रतिबद्धता हो ।’ 

उनले आफूले जितेमा सिङ्गो निजी क्षेत्रको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्ने अवसर दिलाउने बताए ।  त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार दिलसुन्दर श्रेष्ठले महासङ्घलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै सचिवालयलाई पेसागत, दक्ष र सेवा–केन्द्रित संस्थाका रूपमा विकास गर्ने बताए ।

उनले  प्रतिबद्धता मात्र होइन, परिणाम देखिने गरी काम गर्ने संस्कृतिको विकास हाम्रो प्राथमिकता हुने प्रतिबद्धता जनाए । उनले आगामी सरकारसँग सहकार्य गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने बताए।

एसोसिएटको तर्फका उपाध्यक्ष उम्मेदवार प्रवलजंग पाण्डेले आगामी सरकारसँग समन्वय गरी कर प्रणालीलाई सुधार गर्ने पहल गर्ने बताए ।  आगामी सरकारसँग हातेमालो गरेर देश विकास गर्ने आतुर रहेको बताए । भूत प्रभावित कर प्रणालीलाई खारेज गरेर जान आवश्यक रहेको बताए। 

यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी सहित टिम घोषणा गरिसकेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन् । 

हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् । त्यस्तै,ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप