बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टार्टअप कर्जा कार्यक्रमका लागि १० हजारभन्दा बढी आवेदन प्राप्त, बिना धितो कर्जा वितरणका लागि मूल्याङ्कन हुँदै

सोमबार, ०९ चैत २०८२, १८ : १३
सोमबार, ०९ चैत २०८२

सारांश

  • स्टार्टअप कर्जा कार्यक्रमका लागि १० हजारभन्दा बढी आवेदनहरू प्राप्त भएका छन्।
  • आर्थिक वर्ष २०८२/८३ का लागि ८६ करोड बजेटसहित युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिइनेछ।
  • परियोजना प्रस्तावको मूल्याङ्कन विज्ञसहितको समितिबाट गरिनेछ, जसमा एआई सफ्टवेयर प्रयोग हुनेछ।

काठमाडौँ । स्टार्टअप कर्जा कार्यक्रमका लागि १० हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ बमोजिम सहुलियतपूर्ण कर्जाका लागि प्रस्ताव आह्वान गरेकोमा हालसम्म १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएको जनाएको छ ।

नवीन ज्ञान, सोच, सीप तथा क्षमतालाई व्यवसायमा रूपान्तरण गरी युवालाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२/८३ का लागि  ८६ करोड बजेट व्यवस्था गरिएको छ ।

प्रतिष्ठानका अनुसार, २०८२ कार्तिक १९ गते स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धी प्रस्ताव आह्वान गरिएकोमा तोकिएको समयभित्र १० हजार २४४ परियोजना प्रस्ताव प्राप्त भएका हुन् । तीमध्ये भौतिक रूपमा २ हजार ४१ र विद्युतीय माध्यमबाट ८,२०३ परियोजना प्रस्तावहरू रहेका छन् । कर्जाको माग सातै प्रदेशका ७७ जिल्ला र ७९३ स्थानीय तहबाट आएको उल्लेख छ ।

प्राप्त परियोजना प्रस्तावहरूको मूल्याङ्कन प्रत्येक विषय क्षेत्रमा विज्ञसहितको मूल्याङ्कन समितिबाट अध्ययन गरी गरिनेछ । प्रारम्भिक स्क्रिनिङका लागि एआई बेस स्क्रिनिङ सफ्टवेयर प्रयोग गरिने बताइएको छ, जसले करिब ८० प्रतिशतसम्म शुद्धता प्रदान गर्ने विश्वास लिइएको छ । 

परियोजना प्रस्तावको मूल्याङ्कनको क्रममा भौतिक अवस्थाको स्थलगत जाँच भुक्तानीका लागि उद्यम विकास सहजकर्ताको सहयोग लिइनेछ । सहजकर्ताले परियोजनाको भौतिक अवस्था, विवरण, सम्बन्धित केही तस्बिर तथा उद्यमीले सञ्चालन गरेको कार्य वा उत्पादन देखिने गरी एक मिनेटको भिडियो प्रस्तुतीकरणमा पेस गर्नुपर्नेछ ।

कार्यविधिको मापदण्ड पूरा गरेका परियोजना प्रस्तावहरूलाई समावेश गरी प्रतिष्ठानले प्रारम्भिक सूची प्रकाशन गर्नेछ । व्यावसायिक प्रस्तुतीकरणमा लाग्ने ठुलो खर्च र समयलाई मध्यनजर गर्दै, उद्यम विकास सहजकर्ताबाट प्राप्त स्थलगत निरीक्षण विवरण, फोटो, भिडियो तथा प्रतिष्ठानले तोकेको ढाँचामा पेस गरिएका कागजातका आधारमा मूल्याङ्कन समितिले कार्यविधिको अनुसूची–५ बमोजिम अङ्क प्रदान गर्नेछ। 

अनुसूची–५ को ‘ड’ अन्तर्गत रहेको ६ अङ्कको व्यावसायिक प्रस्तुतीकरण बाहेक अन्य सूचकका आधारमा अङ्क प्रदान गरिनेछ । प्रारम्भिक सूचीमा समावेश भएका परियोजनाहरूलाई वैदेशिक क्रेडिट जाँच गरी ५० भन्दा बढी अङ्क ल्याउनेलाई प्राथमिकताको आधारमा कर्जाका लागि सिफारिस गरिने जानकारी दिइएको छ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप