शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चय कोषले बाँड्यो ५ अर्ब ३० करोड मुनाफा

बिहीबार, १२ चैत २०८२, १४ : ३२
बिहीबार, १२ चैत २०८२

सारांश

  • कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता र योगदानकर्तालाई ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ।
  • सञ्चयकर्ताको खातामा ५ अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तिभरण कोषमा १० करोड ५५ लाख जम्मा गरिएको छ।
  • कोषले विभिन्न सामाजिक सुरक्षा सुविधा र विशेष सापटी लगायतका सुविधाहरू पनि प्रदान गर्दै आएको छ।

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट कोषले उक्त रकम सम्बन्धित व्यक्तिहरूको खातामा जम्मा गरेको हो।

कोषका अनुसार, सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको छ। गत फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकमको १.०० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेबमोजिम उक्त रकम खातामा पठाइएको हो।

कोषले प्रत्येक आर्थिक वर्षको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरूमा राख्ने नीति लिएको छ।

 

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट ५.७५ प्रतिशत व्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेको  जाने कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए। कोषले विशेष सापटीका अलावा घर सापटी, शैक्षिक सापटी, घर मर्मत, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ।

कोषले सञ्चयकर्ताबाट छुट्टै कुनै योगदान नलिई आफ्नै स्रोतबाट विभिन्न सामाजिक सुरक्षा सुविधाहरू समेत प्रदान गर्दै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा मात्र कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार १११ जनालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानबापत ६०५ जनालाई २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिबापत १७० जनालाई ३ करोड ३९ लाख र स्वास्थ्य उपचार सोधभर्नाबापत ५ हजार ३५५ जनालाई ३४ करोड रुपैयाँ वितरण गरेको छ।

साथै, निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई विशेष आर्थिक सुविधाबापत १ करोड ७३ लाख प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण कोषका योगदानकर्ता आबद्ध रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप