बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्योकेरेसको सानदार ह्याट्रिक : युक्रेनलाई हराउँदै स्वीडेन विश्वकप छनोटको नजिक

शुक्रबार, १३ चैत २०८२, ०९ : १३
शुक्रबार, १३ चैत २०८२

सारांश

  • स्वीडेनले युक्रेनलाई ३-१ ले हराउँदै विश्वकप २०२६ छनोटको फाइनलमा स्थान पक्का गरेको छ।
  • भिक्टर ग्योकेरेसले ह्याट्रिक गर्दै स्वीडेनको जितमा महत्त्वपूर्ण योगदान दिए, र उनी म्यान अफ द म्याच बने।
  • अब स्वीडेनले विश्वकपका लागि पोल्याण्डसँग खेल्नेछ, जबकि कोसोभोले टर्कीलाई हराएमा पहिलो पटक विश्वकपमा डेब्यु गर्नेछ।

भ्यालेन्सिया । ग्राहाम पोटरको प्रशिक्षणमा रहेको स्वीडेन विश्वकप फुटबल २०२६ मा छनोट हुन अब मात्र एक जित टाढा रहेको छ। स्पेनको भ्यालेन्सियामा बिहीबार राति भएको प्ले-अफ सेमिफाइनलमा युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्वीडेनले आफ्नो विश्वकप यात्रालाई निर्णायक मोडमा पुर्‍याएको हो।

स्वीडेनको यस जितमा आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले सानदार ह्याट्रिक गर्दै म्यान अफ द म्याच प्रदर्शन गरे। सन् २०२६ को छनोट चरणमा अहिलेसम्म गोल गर्न नसकेका ग्योकेरेसले युक्रेन विरुद्धको खेलमा भने सुरुदेखि नै आक्रामक रूप प्रस्तुत गरे।

उनले खेलको छैटौँ मिनेटमै पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५१औँ मिनेटमा दोस्रो गोल थपेका उनले ७३औँ मिनेटमा पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पुरा गर्दै म्याच बल घर लैजान सफल भए।

अब स्वीडेनले विश्वकपको टिकटका लागि आगामी मंगलबार पोल्याण्डको सामना गर्नेछ। पोल्याण्डले अर्को खेलमा अल्बानियालाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो, जसमा ३७ वर्षीय दिग्गज फरवार्ड रोबर्ट लेवान्डोस्कीले पनि गोल गरेका थिए।

यसैगरी, फिफा वरीयताको ७८औँ स्थानमा रहेको कोसोभोले विश्व फुटबलमा नयाँ इतिहास रच्ने संकेत देखाएको छ। स्लोभाकियाविरुद्ध दुई पटक पछि परेको स्थिति उल्टाउँदै ४-३ को नाटकीय जित निकालेको कोसोभो अब टर्कीलाई पराजित गरेमा पहिलोपटक विश्वकपमा डेब्यु गर्नेछ।

टर्कीले भने रोमानियालाई १-० ले हराउँदै कोसोभोसँगको भेट पक्का गरेको हो। टर्कीको जितमा ब्राइटनका फुलब्याक फर्डी काडियोन्लुले निर्णायक गोल गरे।

अर्कोतर्फ, डेनमार्कले नर्थ म्यासेडोनियामाथि ४-० को फराकिलो जित दर्ता गरेको छ। कोपेनहेगनमा भएको उक्त खेलका सबै चार गोल दोस्रो हाफमा सम्भव भएका थिए। ब्रेन्टफोर्डका मिकेल डम्सगार्डले गोलको खाता खोलेका थिए भने आर्सनलका मिडफिल्डर क्रिस्टियन नोर्गार्डले चौथो गोल थपेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप