बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खराब मौसमका कारण मुस्ताङ हेलिकप्टर दोलखामा अवतरण, चालकदलसहित ६ जना नै सुरक्षित

शुक्रबार, १३ चैत २०८२, १९ : ३२
शुक्रबार, १३ चैत २०८२

सारांश

  • मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ।
  • हेलिकोप्टर लाप्चाबाट चरिकोटका लागि उडेको थियो र केही समयपछि सम्पर्कविहीन भएको थियो।
  • सम्पर्क विच्छेद भएपछि सुरक्षाकर्मीको टोली परिचालन गरी हेलिकप्टर दोलखाको विगु गाउँपालिकामा फेला पारेको हो।

काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ । शुक्रबार दिउँसो लाप्चाबाट चरिकोटका लागि उडेको सो हेलिकोप्टर केही समय सञ्चार सम्पर्कविहीन भएपछि खोजी गर्दा दोलखाको विगु गाउँपालिकामा फेला परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन-एएनओ कलसाइन भएको उक्त हेलिकोप्टर दिउँसो १२:१७ बजे लाप्चाबाट उडेको थियो । भौगोलिक विकटता र मौसममा आएको खराबीका कारण उडान भरेको केही समयमै उड्डयन सञ्चार प्रणालीसँग यसको सम्पर्क विच्छेद भएको थियो ।

हेलिकोप्टर सम्पर्कविहीन भएलगत्तै खोजीका लागि स्थानीय तह, नेपाल प्रहरी र नेपाली सेनाको पैदल टोलीका साथै नेपाली सेनाको हेलिकोप्टर समेत परिचालन गरिएको थियो ।
खोजी कार्यका क्रममा बेलुका ५ बजे उक्त हेलिकोप्टर दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ स्थित लाप्चे गुम्बा नजिकै फेला परेको हो । खराब मौसमका कारण हेलिकोप्टरलाई पाइलटले सुरक्षित रूपमा अवतरण गराएको पाइएको  प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार हेलिकोप्टरमा सवार १ जना चालक दलका सदस्य र ५ जना यात्रु गरी कुल ६ जना नै सुरक्षित रहेका छन् । 

प्राधिकरणले खोज तथा उद्धार कार्यमा सक्रियताका साथ संलग्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरूलाई विज्ञप्तिमा्फत धन्यवाद ज्ञापन गरेको छ ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप