काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपालको राजनीति तरङ्गित बनेको छ । नेकपा एमालेका नेताहरूले पक्राउको विरोध गरिरहेका छन् ।
एमालेको तुलनामा कांग्रेस नेता तथा कार्यकर्ताहरूले कमै प्रतिक्रिया दिएका छन् । नागरिक समाजदेखि नागरिक तहसम्मबाट पक्राउबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् ।
काठमाडौँ। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्च स्तरीय जाँचबुझ आयोगका अध्यक्ष गैरीबहादुर कार्कीमाथी सुरक्षा थ्रेट बढेको निष्कर्ष सहित उनको निवासमा सुरक्षा बढाइएको छ ।
अज्ञात व्यक्तिहरुले धम्कि दिएपछि उनलाई सैनिक अथवा सशस्त्रको ब्यारेकमा सार्ने विकल्पमा उच्च तहमा छलफल भएको थियो । तर, कार्कीले निवासबाट बाहिर जान नमानेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भक्तपुरको गुण्डु स्थित कार्कीको निवासमा सुरक्षा सतर्कता बढाइएको छ । निवासको सुरक्षामा प्रहरी र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले जानकारी दिए ।
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शनिबार साँझ सम्पन्न बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजी राजु अर्याल, रक्षा सचिव, सैनिक प्रतिनिधी, प्रहरीका एआईजी उमा चुतर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर सहभागी थिए ।
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि काठमाडौँसहित २२ ठाउँमा प्रदर्शन भएकोबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्रीलाई ब्रिफिङ गरेका छन् । केन्द्रीय सुरक्षा समितिले पक्राउको विरोधमा एमाले र कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शन अपेक्षा गरेभन्दा कमजोर भएको निष्कर्ष निकालिएको बैठकमा सहभागी एकजना अधिकृतले रातोपाटीलाई बताए । बैठकमा सहभागी ती अधिकृतले भने, ‘अपेक्षाकृत कमजोर प्रदर्शन भएको हाम्रो निष्कर्ष छ ।’
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ गराएका हुन् ।
बदलिँदो परिस्थतिका कारण देशभर सुरक्षा सतर्कता अपनाउँदो सुरक्षाकर्मीलाई ‘स्ट्यान्डबाई’ राखिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षा चुक हुन नदिन संगठन प्रमुखबाट स्पष्ट निर्देशन भएको छ ।’
सशस्त्रले पनि आफ्ना सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राखेको छ । भिड नियन्त्रण गर्दा लगाउने चुस्तामा स्ट्यान्डबाई बस्न देशभर सर्कुलर गरिएको सशस्त्र प्रहरीका एक एच्च अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गैरीबहादुर कार्कीलाई धम्की आएको छ ।
अज्ञात व्यक्तिहरुले धम्की दिएको उनले सरकारलाई जानकारी गराएका छन् । भक्तपुरको गुण्डुस्थित कार्कीको निवासमा सुरक्षा सतर्कता बढाइएको छ । उनलाई भक्तपुरबाट अन्यत्र सुरक्षित स्थानमा राख्नेबारे छलफल गर्न काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक डाकिएको छ ।
उनलाई कहाँ राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने एक जना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झनै चर्किँदै गएको छ ।
२०८२ भदौ २३ र २४ गतेका घटनालाई लिएर सरकारले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ गरेको विषय र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा कांग्रेसको दुई वटा विज्ञप्ति जारी भएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा ओली – लेखक पक्राउका सम्बन्धमा विज्ञप्ति जारी भएको केही समयपश्चात पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा अर्को विज्ञप्ति निकाले । दुइ विज्ञप्तिको धार पनि छुट्टाछुट्टै छ । यो विज्ञप्ति युध्दले कांग्रेस पार्टीभित्र ठुलो दरार उत्पन्न भएको देखाएको छ ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहुमत प्राप्त गरी प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई पार्टीले शुभकामना दिएको हो। शनिबार केन्द्रीय कार्यालय कोटेश्वरबाट जारी प्रेस विज्ञप्तिमा पार्टीले नयाँ सरकारको सफल कार्यकालको कामना गरेको छ।
बधाई ज्ञापनसँगै सो पार्टीले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भएको एउटा निर्णयप्रति भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति पार्टीले प्रश्न उठाएको हो।
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
आफ्ना शीर्ष नेताहरूको पक्राउको विरोधमा आज कञ्चनपुरको महेन्द्रनगरमा कांग्रेस र एमालेका कार्यकर्ताहरू सडकमा उत्रिएका थिए । एमालेले देशभर प्रदर्शन गरिरहेका बेला नेता रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा भने कांग्रेस पनि आन्दोलनमा सहभागी भएको छ ।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
शनिबार झिसमिसेमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक गिरफ्तार भएका छन् । भदौ २३ र २४ को जेनजी प्रदर्शन तथा आगजनीको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह मन्त्री परिषदको पहिलो बैठकको निर्णयसँगै, गृहमन्त्रालय र प्रहरी कार्यालयको आदेशमा उनीहरू गिरफ्तार भएका हुन् ।
यो गिरफ्तारीलाई एमाले पंक्तिले प्रतिशोधपूर्ण भन्दै विरुद्धमा आन्दोलन आव्हान गरेको छ भने सरकार पक्षले न्यायको सुरुवात भनेको छ । कार्की आयोगको प्रतिवेदनलाई सरकारका तर्फबाट औपचारिक सार्वजनिक नगरी तथा ओली र लेखक भागिहाल्ने वा उनीहरूले प्रमाण नष्ट गर्ने सम्भावना नभए पनि किन गिरफ्तार नै गर्नुपर्यो भन्ने प्रश्न त छँदैछ, यसले राजनीतिक मुठभेड निम्त्याउन सक्ने चिन्ता समेत कयौं पक्षले व्यक्त गरेका छन् ।
यो अवस्था आउनुको मुख्य दोषी भने केपी ओलीहरू नै हुन् । एमाले–कांग्रेस सम्मिलित भएर दुईतिहाईको सरकार चलाउँदा आम जनता नै निराश हुने गरी उनीहरूले जेजस्तो मनोमानी गरे, यो यसकै परिणाम हो । सहकारी प्रकरणमा पनि आफ्नाहरूलाई बचाएर रवि लामिछानेलाई मात्रै फसाउने गरी संगठित अपराधसम्मको मुद्दा रातारात तयारी गरियो, त्यो राजनीतिक प्रतिशोध नै थियो।
काठमाडौँ । नेपालबाट प्रत्येक वर्ष तीन करोड जोरजुत्ता विदेश निर्यात हुँदै आएको छ । जुत्ता उत्पादक सङ्घका महासचिव निर्मल भट्टराईले आज एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर भएको जानकारी दिए ।
'नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड जोरजुत्ता उत्पादन क्षमता छ । वार्षिक रूपमा तीन करोड जोरजुत्ता निर्यात हुँदै आएको छ', उनले भने । आन्तरिक उपभोगको ७० प्रतिशत हिस्सा नेपाली जुत्ताले ओगटेको सङ्घले जनाएको छ ।
स्वदेशी उत्पादन, निर्यात र आन्तरिक खपत बढाउने लक्ष्यका साथ अघि बढिरहको सङ्घले यही चैत २९ र ३० गते काठमाडौँमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत कार्यसमितिको सदस्यमा सङ्घका अध्यक्ष सुरज बन्जाडेलाई अघि सारेको छ । मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, निर्यातलगायत क्षेत्रमा जुत्ता उत्पादक सङ्घले महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गतेका घटनाका दोषीमाथि गरिने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानुनी प्रक्रिया बमोजिम हुनुपर्नेमा जोड दिएको छ ।
पार्टीले सरकारको पछिल्लो निर्णय र कारवाहीको शैलीलाई 'सेलेक्टिभ' र पूर्वाग्रही भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित छानविनको माग प्रारम्भदेखि नै गर्दै आएको जनाएको छ । कांग्रेसले भदौ २५ गते नै उच्चस्तरीय आयोग गठनको माग गरेको र भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विराटनगरमा एमालेका केही दर्जन युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
विराटनगरको महेन्द्र चोकमा भेला भएर एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । पार्टीको केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सरकारका गृहमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज शनिबार काठमाडौँमा एमाले कार्यकर्ताहरूले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले जानकारी दिए ।
बुटवल । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको छ। अहिले बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरुले प्रदर्शन गरेका छन् ।
शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा शनिबार विरोध प्रदर्शन भएको छ । एमालेका कार्यकर्ताहरूले अध्यक्ष ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइको माग राखेर सडकमा उत्रिएका हुन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एमालेका कार्यकर्ताहरूले ठुलो सङ्ख्यामा भेला भई नाराबाजी गरेका छन् । धनगढीको मुख्य चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै अध्यक्ष ओलीलाई विना सर्त रिहा गर्न माग गरे ।
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।
आक्रोशित कार्यकर्ताले गाडीमाथि तोडफोडसमेत गरेका छन् । अहिले प्रहरीले प्रदर्शनकारीबिचको झडपले बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार एमालेका कार्यकर्ताहरुले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट गिरफ्तार गरेको थियो ।
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कडा आपत्ति जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सरकारको यो कदमलाई लोकरञ्जनवाद र राजनीतिक प्रतिशोधको पराकाष्ठा भनेको छ।
जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको नेविसंघको ठहर छ। आयोगका अध्यक्षको पूर्वनिर्धारित धारणा अनुसार नै प्रतिवेदन तयार पारिएको दाबी गर्दै संघले नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्वलाई एउटै डालोमा राखेर पक्राउ गर्नु विधिको शासन विपरीत भएको स्पष्ट पारेको छ।
विशेष गरी मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान गर्ने बहानामा प्रत्यक्ष कार्यकारण सम्बन्ध विना नै पक्राउ गरिनु फौजदारी कानुनको मूल सिद्धान्त विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ। सरकारले मुलुकी फौजदारी संहिताको दफा ९ (६) को व्यापक दुरुपयोग गरेको आरोप लगाउँदै नेविसंघले आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको जबाफदेहिता खोइ भन्दै प्रश्न समेत गरेको छ।
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर आपत्ति जनाएकी छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदमलाई प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य मान्यता विपरीतको संज्ञा दिएकी हुन्।
सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम चुनावी सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा यो गिरफ्तारी भएको भन्दै पूर्वराष्ट्रपतिले यसको चर्को विरोध गरेकी छन्। उनले उक्त प्रतिवेदन आफैँमा पूर्ण नभएको र अध्ययनहरूले समेत यसमा त्रुटि देखाएको अवस्थामा हतारमा निर्णय गरिनुले विधिको शासनमाथि प्रहार भएको उल्लेख गरेकी छन्।
विशेष गरी भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सिफारिसलाई आधार बनाएर चालिएको यो कदमले मुलुकमा पुनः द्वन्द्व र अस्थिरता निम्त्याउने जोखिम बढाएको भण्डारीको ठम्याइ छ। उनले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा पर्याप्त अध्ययन, संस्थागत परामर्श र विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले चालेको कदम अपरिपक्व रहेको दाबी गरेकी छन्।
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।
एमाले सम्बद्ध २३ वटा जनवर्गीय सङ्गठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन थालेका छन्। प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच केही बेर ठेलमठेल हुनुका साथै स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारे पनि उनीहरू समूह बनाएर अघि बढिरहेका छन्।
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् ।
उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।
अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ । शनिबार उक्त सङ्गठनले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो ।
साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउन समेत सो सङ्गठनले सरकारसँग जोडदार माग गरेको छ ।
उक्त सङ्गठनले जेनजी आन्दोलनका दमनाकारीलाई बचाउने कुनै पनि प्रकारको षडयन्त्रप्रति सचेत रहेको बताउँदै यस्ता प्रयासहरू भए देशैभरि युवाहरू थ्प सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । शनिबार सो संगठनले भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।
अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले भक्तपुरबाट पक्राउ गरेको थियो ।
काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति घोर भर्त्सना र निन्दा गरेको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले ओलीलाई उनकै निजी निवास गुण्डुबाट पक्राउ गरिनु प्रतिशोधपूर्ण र बदलाभाव भएको ठहर गरेको छ । परिषद्का अध्यक्ष बलिभद्र राना र महासचिव रामशरण देउजाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी प्रतिशोधपूर्ण भावले गरिएको यो पक्राउ लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनेहरू माथिको प्रहार हो ।’
परिषद्ले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ । पार्टीमाथि परेको यस अप्ठ्यारो परिस्थितिमा एमालेको शुभेच्छुक संस्थाको रूपमा परिषद्ले पार्टीको हरेक क्रियाकलापमा सक्रिय सहभागिता रहने प्रतिबद्धता समेत जनाएको छ ।