ओली - लेखक पक्राउ : नेपाली कांग्रेसका 'कार्यवाहक सभापति' पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ति
सारांश
- नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष बढ्दै जाँदा दुई समूहबीच विज्ञप्ति युद्ध सुरु भएको छ।
- पूर्व गृहमन्त्री रमेश लेखक र केपी शर्मा ओलीको गिरफ्तारीको विषयमा दुई पक्षबीच फरक धारणा सार्वजनिक भएका छन्।
- देउवा पक्षले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै नेताहरूलाई बचाउन खोज्दा गगन थापा पक्षले निष्पक्ष छानबिनको माग गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झनै चर्किँदै गएको छ ।
२०८२ भदौ २३ र २४ गतेका घटनालाई लिएर सरकारले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ गरेको विषय र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा कांग्रेसको दुई वटा विज्ञप्ति जारी भएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा ओली – लेखक पक्राउका सम्बन्धमा विज्ञप्ति जारी भएको केही समयपश्चात पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा अर्को विज्ञप्ति निकाले । दुइ विज्ञप्तिको धार पनि छुट्टाछुट्टै छ । यो विज्ञप्ति युध्दले कांग्रेस पार्टीभित्र ठुलो दरार उत्पन्न भएको देखाएको छ ।

प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्ति तुलनात्मक रूपमा संस्थागत र सन्तुलित देखिन्छ । यसमा भदौ २३ को दमन र २४ को विध्वंस दुवैको निष्पक्ष छानबिन हुनुपर्ने पुरानै अडान दोहोर्याइएको छ । सरकारको कार्यान्वयन प्रक्रिया सेलेक्टिभ भएको र प्रतिवेदन अपारदर्शी रहेकोमा यसले जोड दिएको छ । यो विज्ञप्तिले कानुनी राज्य र विधिको शासनको कुरा गर्दै सरकारलाई संयमित हुन आग्रह गरेको छ ।


यस्तै पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने तत्कालीन कार्यवाहक सभापति खड्काले कार्यवाहक सभापतिकै नाममा जारी भएको विज्ञप्ति भने आक्रामक छ । यसले नीतिगत कुराभन्दा पनि सीधै राजनीतिक प्रतिशोधको आरोप लगाएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई खड्काले अवैध हिरासत भन्दै भर्त्सना गरेको छ । खड्काले आयोगको प्रतिवेदनलाई नै बदनियतपूर्ण करार गर्दै देशभरका कार्यकर्तालाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन् ।
काँग्रेसको गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । त्यसअघि कांग्रेसका सभापति रहेका शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई अवैधानिक भन्दै आएको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।
प्रवक्ताको विज्ञप्तिले दुवै दिनका घटनामा दोषीलाई कारबाही हुनुपर्ने माग गर्छ । तर खड्काको विज्ञप्तिले भदौ २४ को विध्वंसमा प्रतिवेदन मौन रहेको भन्दै प्रतिवेदनकै वैधानिकतामाथि प्रश्न उठाएको छ । यसले के देखाउँछ भने कांग्रेसकै एउटा पक्ष भदौ २३ को राज्य दमनमा आफ्ना नेता रमेश लेखक तानिने डरले प्रतिवेदनलाई नै खारेज गर्न चाहन्छ ।
रमेश लेखक र केपी ओलीको गिरफ्तारीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । खड्काको विज्ञप्तिले एमाले अध्यक्ष ओलीसँगको सहकार्य वा समान पीडालाई पनि समेटेको छ, जुन प्रवक्ताको विज्ञप्तिमा कतै उल्लेख छैन ।
प्रवक्ताको विज्ञप्ति 'पार्टीको धारणा' भनिएको छ भने खड्काको विज्ञप्तिमा 'यो बैठक निर्णय गर्दछ' भनिएको छ । कुन बैठकले निर्णय गर्यो भन्ने नखुल्नुले देउवा पक्षले आकस्मिक रूपमा आफ्नै समूहको बैठक बसेर पार्टीको लेटरहेड प्रयोग गरेको छ ।
कांग्रेसभित्रको यो विज्ञप्ति युद्धले पार्टी नेतृत्व तहमा गम्भीर अविश्वास रहेको देखाउँछ । एउटा पक्ष कानुनी प्रक्रियाबाट समस्या सुल्झाउन चाहन्छ भने अर्को पक्ष सडक संघर्ष र राजनीतिक दबाबमार्फत आफ्ना नेता बचाउन चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण