बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इरान युद्ध

इरान युद्धसँगै युद्धको स्वरूप फेरियो

शनिबार, १४ चैत २०८२, १९ : ००
शनिबार, १४ चैत २०८२

सारांश

  • मध्यपूर्वमा बढ्दो आक्रमण र प्रतिआक्रमणका घटनाहरूमा ड्रोनको प्रयोग बढ्दै गएको छ।
  • सानो र सस्तो ड्रोनहरूले युद्धको अर्थशास्त्रलाई परिवर्तन गर्दैछन्, जसले प्रतिरक्षा प्रणालीलाई चुनौती दिन्छ।
  • युक्रेन युद्धमा देखिएको ड्रोनको प्रयोग र डेटाको महत्त्वले युद्धको नयाँ स्वरूपलाई दर्शाउँछ।

मध्यपूर्वबाट हरेक दिन आक्रमण र प्रति–आक्रमणका ठूला–ठूला खबरहरू आइरहेका छन् । यी खबरभित्र फेरिँदै गएको युद्धको कथा भेटिन्छ । तेहरानले बदला अभियान सुरु गरेको पहिलो हप्तामै खाडी मुलुकहरूमा चलाएका ७१ प्रतिशत अभियान ड्रोनमार्फत सञ्चालित थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) एक्लैले आठ दिनमा १,४२२ वटा ड्रोन एवं २४६ वटा क्षेप्यास्त्रको सामना गर्नुपर्यो । हामीले यस्तै प्रवृत्तिको झलक युक्रेनमा पनि देख्यौँ । तर इरानले भने भविष्यको युद्धको स्वरूप नै हाम्रा सामु स्पष्ट राखिदिएको छ ।

‘काउन्सिल अन फरेन रिलेसन्स’ मा आबद्ध माइकल होरोविज भन्छन्, ‘हामी अहिले व्यापक युद्धको सटिक चरणमा छौँ ।’ यो समयानुकूल सही टिप्पणी हो । दशकौँदेखि सटिक युद्ध (प्रेसिजन वारफेयर) भन्नाले ‘टोमाहक’ क्षेप्यास्त्र, ‘स्टिल्थ बम्बर’ वा लडाकु विमानको उपयोगलाई बुझ्ने गरिएको थियो । आज त्यसको अर्थ फेरिएको छ ।

अहिले व्यावसायिक पुर्जाबाट बनाइएका एवं ठूलो सङ्ख्यामा (स्वार्म) प्रहार गर्न सकिने ‘वान–वे’ ड्रोनहरूलाई बुझिन्छ । कुनै समय ठूला औद्योगिक मुलुकले मात्रै तयार गर्न सक्ने त्यस्तो क्षमता अहिले साना राज्यहरूले पनि बढ्दो मात्रामा ‘एसेम्बल’ गरेर निर्माण गर्न सक्छन् ।

यसले युद्धको अर्थशास्त्र पूरै उल्टाइदिएको छ । अङ्ग्रेजी अक्षर ‘ए’ आकारको एउटा ड्रोनलाई करिब ३५ हजार डलर हाराहारी पर्छ । त्यसलाई रोक्ने एउटा ‘प्याट्रिअट इन्टरसेप्टर’को खर्च भने ४० लाख डलर हुन्छ । एउटा प्याट्रिअट इन्टरसेप्टरको खर्चमा सयभन्दा बढी ड्रोन किन्न सकिन्छ ।

यही नै अहिले बदलिँदै गरेको द्वन्द्वको अङ्कगणित हो । आक्रमण गर्नेले हजार डलरको स्तरमा खर्च गर्दा प्रतिरक्षा गर्नेले दशौँ लाख डलर खर्च गर्नुपर्छ । सफलतापूर्वक प्रतिरक्षा गर्दा पनि आक्रमण गर्नेले आफ्नो एक प्रकारको ‘एट्रिसन’ (क्षय गराउने रणनीति) मा सफलता पाइरहेको हुन्छ ।

अहिले युद्धमा हुँदै गरेको क्रान्ति त ड्रोनभन्दा पनि ठूलो छ । त्यस्तो क्रान्ति नयाँ ढङ्गको सैन्य ‘आर्किटेक्चर’ मा चलिरहेको छ । सस्तो स्वचालित प्रणाली, कृत्रिम बुद्धिमत्ता (AI) को सहयोगमा हुने लक्ष्य निर्धारण, व्यावसायिक भू–उपग्रहको सहायतामा हुने तस्बिर सङ्कलन, बलियो सञ्चार प्रणाली, एकीकृत सेन्सर तथा ‘साइबर टुल’हरू सबैले एकसाथ काम गर्छन् ।

सबैको लक्ष्य निशानामा प्रहार गर्ने मात्र हुँदैन, हमलाका लागि आवश्यक समयलाई ज्यादै छोटो बनाएर शत्रु पक्ष भाग्ने, लुक्ने वा पुनः तयार हुनुअगावै पत्ता लगाउने, निर्णय गर्ने र प्रहार गर्ने समेत हुन्छ । गत वर्ष अमेरिकी वायु सेनाले सञ्चालन गरेको अभ्यासअनुसार मेसिनले १० सेकेन्डभित्र मान्छेको तुलनामा ३० गुणा धेरै विकल्पहरू सुझाव गरेको पाइएको थियो ।

सैन्य सर्वोच्चताको पुरानो मोडल आकर्षक प्रणालीहरूमा आधारित थियो, जसमा आकर्षक तर महँगा, सुस्त गतिमा उत्पादन हुने तथा गुमाउनु पर्दा ठूलो क्षति हुने प्रणालीहरू हुन्थे । तर अहिले त्यस्तो प्रणाली आफैँमा पर्याप्त हुँदैन । सन् २०२३ मा अमेरिकी रक्षा उपमन्त्री क्याथलीन हिक्सले पेन्टागनले थालेको ‘रेप्लिकेटर’ परियोजना सार्वजनिक गर्दै त्यसलाई आफ्ना प्रतिद्वन्द्वीहरूको तुलनामा अमेरिकी सर्वोच्चता कायम गर्ने योजना भनेकी थिइन् ।

उनले ‘रेप्लिकेटर’ प्रणालीलाई ‘सानो, स्मार्ट, सस्तो तथा धेरै सङ्ख्यामा हुने’ बताएकी थिइन् ।

आउने दिनमा हुने युद्धहरू एउटै खालको उत्कृष्ट प्रणाली भएको शक्तिले मात्र जित्नेवाला छैन । कुशल प्लेटफर्मको उपयोगमार्फत सस्तो, चुस्त तथा आपसमा बुद्धिमत्तापूर्वक जोडिएको सञ्जाल सञ्चालन गर्नेले जित्न सक्छ । ठूलो सङ्ख्यामा रहेका सामान्य प्रणालीले सानो सङ्ख्यामा रहेका उत्कृष्ट प्रणालीलाई हराउन सक्छन् ।

अमेरिकाले अहिले इरानको ‘शाहेद–१३६’ जस्तै न्यून मूल्यको ड्रोन प्रणाली ‘लुकास’ को प्रयोग गर्दैछ । संसारको सबैभन्दा उन्नत मानिएको सेनाले लामो समयसम्म नाकाबन्दी भोगेको ‘दुष्ट शासनवाला’ भनिएको देशबाट सिक्दैछ । युद्धको ‘लजिक’ फेरिएका कारण यस्तो भएको हो ।

‘सफ्टवेयर’, स्वचालित प्रणाली तथा वास्तविक समयमा हुने सञ्जालको सम्बन्धका कारण मात्राले आफैँमा गुण हासिल गरेको छ । जसरी विगतमा ‘मेसिन गन र ट्याङ्कहरू’ व्यापक मात्रामा प्रयोग हुन्थे, त्यसरी नै अबका दिनमा सटिक आक्रमण प्रणाली पनि व्यापक मात्रामा प्रयोग हुने होरोविजको तर्क छ ।

अहिले युद्धमा नयाँ युगको ठूलो प्रयोगशालाका रूपमा युक्रेन रहेको छ । युक्रेनले युद्धकालीन गतिमा आवश्यक अनुकूलनको मोडल तयार गरेको छ । युक्रेनको ‘स्टिङ इन्टरसेप्टर’ ड्रोनको मूल्य २ हजार डलर मात्रै हो । यो प्रतिघण्टा २ सय ८० किलोमिटरको गतिमा उड्छ ।

सन् २०२३ को मध्यदेखि अहिलेसम्म त्यसले ३ हजारभन्दा धेरै शाहेद ड्रोन खसाइसकेको छ । रोयटर्सका अनुसार प्रतिमहिना १० हजारभन्दा धेरैको सङ्ख्यामा उत्पादन पनि भइरहेको छ । परीक्षण उडानमा संलग्न चालकका अनुसार पुराना अन्य ड्रोन चलाउन जान्ने जोकोहीले पनि ती ड्रोनहरू चलाउन ‘३ देखि ४ दिन’ मै सिक्न सम्भव छ ।

यसको सफ्टवेयर पक्ष पनि छ । युक्रेनले युद्धभूमिमा सिर्जित सबै डाटामा आफ्ना सहयोगी मुलुकहरूलाई खुला पहुँच दिएको छ । यसो गर्दा उनीहरूले आफ्नो ड्रोनलाई तालिम दिन सक्छन् । त्यस्तो तालिमले ‘प्याटर्न रिकग्निसन’ तथा लक्ष्य निर्धारण क्षमतामा ठूलो वृद्धि गराउनेछ । युक्रेनी रक्षा मन्त्री मिखाइलो फेदेरोभका अनुसार अहिले उनको देशसँग ‘युद्धभूमिको तथ्याङ्कको मौलिक भण्डार छ, जुन संसारका कुनै पनि मुलुकभन्दा बढी हो’ ।

यसमा युद्धका लागि भएका दशौँ हजार उडानका दौरान सङ्कलित दशौँ लाख तस्बिरहरू पनि पर्छन् । अर्को शब्दमा भन्दा, युद्धको सबैभन्दा मूल्यवान् उपलब्धिका रूपमा केवल ‘हार्डवेयर’ मात्र होइन, अब ‘डाटा’ को पनि उत्तिकै महत्त्व छ ।

यी तथ्य र तथ्याङ्कको असर केवल खाडी क्षेत्र र युक्रेनमा मात्र सीमित हुँदैन । युक्रेनका शीर्ष कमान्डरका अनुसार अहिले मस्कोले शाहेद शैलीका ड्रोनहरू दैनिक ४०० वटा उत्पादन गर्दैछ । उत्पादनको मात्रा बढाएर प्रतिदिन १ हजार पुर्याउने लक्ष्य राखिएको छ । उता अमेरिकी हतियार कम्पनी ‘लकहिड मार्टिन’ ले भने सन् २०२४ भर जम्मा ६ सय वटा मात्रै इन्टरसेप्टर बनायो ।

योजनाअनुसार सन् २०२७ सम्म यसलाई २ हजार पुर्याउने लक्ष्य छ । कथा यहींनिर फरक पर्छ । अबको मुख्य सवाल उन्नत प्राविधिक उत्पादन मात्र रहेन, बरु युद्धभूमिको पाठलाई समावेश गर्दै उच्च गतिको सफ्टवेयर जोडेर औद्योगिक स्तरमा हुने उत्पादन बन्यो ।

सैन्य मामिलामा देखिएको यस्तो क्रान्तिका धेरै गहन प्रभावहरू छन् । ड्रोनको प्रयोग हुन थालेपछि युद्ध जहाँसुकै पनि हुन सक्छ । सैनिकहरूले आराम नै पाउँदैनन् । युद्धभूमिमा मान्छेको भौतिक उपस्थिति नभएपछि युद्धलाई ‘डेडलक’ (गतिरोध) मा पुर्याउन पनि सजिलो हुन्छ ।

यसरी घातक हतियारहरू सहजै उत्पादन गर्न सकिने भएपछि आतङ्ककारी समूह, लागूऔषध ‘कार्टेल’ तथा आपराधिक समूहले पनि युद्ध सञ्चालन गर्न सक्छन्, जुन कुनै समय हतियारबद्ध सङ्गठित सेनाले मात्रै गर्न सक्ने मानिन्थ्यो ।

सन् १९९१ मा चलेको खाडी युद्धले विश्वलाई उन्नत प्रविधिले युद्ध सटिक बनाउने पाठ सिकाएको थियो । अहिले सन् २०२४ मा इरानले संसारलाई अझ ठूलो पाठ दिँदैछ: अब सटिक युद्ध क्षमताको पनि व्यापक स्तरमा उत्पादन हुँदैछ । उत्कृष्ट ‘प्लेटफर्म’ हुने मुलुकहरू मात्र युद्धमा हाबी हुनेवाला छैनन् ।

साना र छरिता हतियारलाई महँगा हतियार प्रणाली एवं ठूलो सङ्ख्याका ड्रोनसँग जोडेर परिचालन गर्न सक्नेहरू हाबी हुनेछन् । युद्धमा बिस्तारै मानवीय निर्णय क्षमताको स्थान ‘कम्प्युटर अल्गोरिदम’ ले लिँदैछ । अब युद्धको भविष्य यस्तै हुनेवाला छ । यो दिन हामी सबैले कल्पना गरेभन्दा धेरै चाँडो आइपुगेको छ ।

(फरेन पोलिसीबाट साभार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फरिद जकारिया
फरिद जकारिया
लेखकबाट थप