बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘यो चुनावमा लास्ट बेन्चरलाई फर्स्ट बेन्चरले खेदेका छन्’

सोमबार, १६ चैत २०८२, १५ : ००
सोमबार, १६ चैत २०८२

सारांश

  • डा. परशुराम दाहाल, एआई विज्ञ, ले एआईको विकास र प्रयोगबारे आफ्नो धारणा राखे।
  • उनले एआईको कार्यप्रणाली, यसका लागि आवश्यक ज्ञान, र यसको भविष्यका सम्भावनाबारे प्रकाश पारे।
  • निर्वाचनमा एआईको प्रभाव र विदेशमा बस्ने नेपालीहरूको राजनीतिक भूमिकाबारे पनि उनले चर्चा गरे।

काठमाडौँ । डा. परशुराम दाहाल कृत्रिम बुद्धिमत्ता (एआई)को क्षेत्रमा काम गर्छन् । भौतिकशास्त्रमा विद्यावारिधि गरेका उनी अमेरिकामा एआई विज्ञ छन् । प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा उनी अग्रपङ्क्तिमा छन् । टेक्ससको नेपाली समाजका पूर्वमहासचिव दाहालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान छ ।

निर्वाचनमा एल्गोरिदम, एआईको प्रयोग,  निर्वाचन परिणाममा एआईले फरक पार्न सक्छ ? अन्य देशमा निर्वाचनमा यसको  प्रयोग र प्रभाव, विदेशमा बसेकाले नेपालको चुनावमा पारेको प्रभाव लगायत विषयमा भौतिकशास्त्रका प्राध्यापक तथा एआई विज्ञ दाहालसँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ):

  • तपाईंले भौतिकशास्त्रमा विद्यावारिधि गर्नुभयो, यसमा अध्यापन गराउनुहुन्छ, अनुसन्धान गर्नुहुन्छ । कुन क्षणले तपाईँलाई परिवर्तन गर्‍यो र एआईको क्षेत्रमा प्रवेश गर्नुभयो ?

मेरो थेसिस नाइट्रिक अक्साइड मोलिक्युललाई म्याग्नेटिक फिल्डले ट्रयाप गर्नेमा थियो । त्यसमा प्रोब्याबिलिटी डेन्सिटी क्याल्कुलेट गर्नलाई एआईको पनि प्रयोग गरेको थिएँ । त्यो भएको कारणले एआईमा जान मलाई सजिलो भयो ।

  • एआईले कसरी काम गर्छ भनेर सरल भाषामा कसैले जान्न खोज्यो कसरी बुझाउनुहुन्छ ?

एआईको फुलफर्म आर्टिफिसियल इन्टेलिजेन्स हो । हामी मान्छे ह्युमन वा नेचुरल इन्टेलिजेन्स हौँ । मान्छेलाई जसरी एआईलाई पनि ट्रेनिङ दिइएको हुन्छ डेटाले । अल्गोरिदमहरू ट्रेन गर्ने डेटाहरूले नै हो र एआई बनाउने । एक्ज्याक्ट सिमिलर कन्सेप्ट हो कि मान्छेकै ब्रेनजस्तो वा त्यो भन्दा स्मार्ट त्यो भन्दा दक्ष बनाउने ।

  • अल्गोरिदम भनेको चाहिँ के हो नि ?

म्याथमेटिकल प्रोसेसहरूको थ्योरीहरूलाई एप्लाई गर्दै कुनै फर्मुलाहरू प्रयोग गरेर कुनै समस्या समाधान गर्न प्रयोग गरिएका टुल्सहरू ।

  • एआई भनेको चाहिँ ?

प्रोसेसहरू युज गरेर डेटालाई ट्रेन गरेर मेसिनलाई आर्टिफिसियल इन्टेलिजेन्स बनाउने । अल्गोरिदम नभई एआईका डेटालाई हामी ट्रेन नै गर्न सक्दैनौँ । त्यो म्याथमेटिकल डेटाका कोरिलेसनसिप हुन्छन्, फिचरहरूका कोरिलेसनसिप हुन्छन् । कस्तो कोरिलेसनसिपमा ती फिचरहरू छन् र कसरी डेटाको प्याटर्नहरू छन् । त्यो अन्डरस्ट्यान्ड गर्न त अल्गोरिदमहरू चाहियो ।

  • एआईसम्बन्धी सिप सिक्न एउटा व्यक्तिसँग के कस्ता किसिमका ज्ञान आवश्यक पर्छ ?

राम्रो म्याथमेटिकल नलेज हुनुपर्छ । एटलिस्ट पनि ब्याचलर लेभलसम्मको स्ट्याटिस्टिकल म्याथमेटिक्सको ज्ञान, जनरल म्याथमेटिकल नलेज । त्यस्तै मोटिभेसन र इन्ट्रेस्ट पनि हुनुपर्‍यो । कडा परिश्रमी हुनुपर्‍यो ।

  • यसको प्रोग्रामिङ भाषाहरू पनि केही सिक्नुपर्छ यसमा ?

सिक्नुपर्छ । जस्तै- पाइथन, यसका पनि एडभान्स प्याकेजहरू छन् । पान्डाज भन्ने छ । विभिन्न किसिमका लाइब्रेरीहरू पनि युज गर्न सिक्नुपर्छ ।

  • म एआईमा जागिर खान्छु, त्यसबाट कमाउन थाल्छु भन्यो भने उसलाई सामान्यतया कति समय लाग्छ ?

अमेरिकाजस्ता विकसित देशमा तीनदेखि ६ महिनामै स्टार्टिङ इन्ट्री प्वाइन्टमा सुरु हुन्छ जागिरमा । तर मोटिभेसन इन्ट्रेस्ट, स्ट्रोङ ब्याकग्राउन्ड अर्थात् विद्यालयदेखि कलेजसम्म कक्षामा पहिलेदेखि नै फर्स्ट बेन्चर हुनुपर्‍यो ।

  • एआईले कसरी काम गरिरहेको छ ? अर्थात् गरेको छ कि छैन भनेर कसरी मूल्याङ्कन गर्ने व्यक्तिले ?

त्यसको इभ्यालुएसन टेक्निक हुन्छ । मानिलिऊँ १० हजार डेटा छन् भने केही पार्टलाई हामी ट्रेन गर्छौँ अनि त्यो ट्रेन गरेको मोडलले राम्रो काम गर्‍यो कि गरेन भनेर हामी मूल्यांकन पनि गर्छौँ । भ्यालिडेट गर्छौँ । अनि भ्यालिडेट गर्दा राम्रै एक्युरेसी आया, राम्रै मूल्याङ्कन आयो भने क्रिएट गरेको अल्गोरिदमले राम्रै काम गरेको रहेछ भने राम्रै रिजल्ट आउँछ । त्यो राम्रो रिजल्ट आयो भने हामी त्यहाँबाट कन्फर्म भयौँ कि हाम्रो एआई मोडलले राम्रो काम गरेको छ ।

  • यसको विश्वसनीयतामा धेरै बहस हुने गरेका छन् । कति पत्याउनु कति नपत्याउनु । एकखाले नैतिक जोखिम पनि सिर्जना गरेको छ यसले । यसबारे तपाईं के भन्नुहुन्छ ?

पत्रकारिता क्षेत्रमा फेक न्युज, फेक भिडियोहरू हामी देख्छौँ । यो चाहिँ यसका अहिलेका चुनौतीहरू हुन् । एआईका बेफाइदा पनि हुन् । जे कुरामा पनि फाइदा–बेफाइदा त सँगसँगै हिँडेका हुन्छन् नि । युज र मिसयुज भइरहन्छ ।

  • अनि कसरी पत्याउनु त ?

तपाईँको कफी मेसिनले ट्याक्क कफी बनाइदियो भने त पत्याउनु परिहाल्यो नि । एआईजडित रोबोटले तपाईँको बारी खनिदियो, बगैँचामा काम गरिदियो, भान्सा सफा गरिदियो भने त पत्याउनु परिहाल्यो नि त । जमाना यही हो अब । १०-२० प्रतिशत कमीकमजोरी छन् ।

  • एआई आएपछि मानिसको जागिर सकिन्छ, बेरोजगारी बढाउँछ भन्ने आमचिन्ता देखिन्छ । त्यस्तै हो ?

त्यो हो पनि, होइन पनि । केही रोजगारी यसले लगेकै पनि छ । तर होइन किनभने एआई क्रिएट गर्नलाई त राम्रा-राम्रा दिमाग चाहिन्छ, एआईलाई अझै एडभान्स बनाउन ।

  • अहिलेसम्म एआईको एकदमै उच्चतम बिन्दु त्यस्तो आश्चर्यलाग्दो के देख्नुभएको छ ?

अहिले चलिरहेको अमेरिका-इजरायल र इरानबिचको युद्धमा उच्चतम प्रयोग भइरहेको छ । ड्रोनलाई एआईले गाइड गरेको भएर नै बम ठ्याक्कै भनेकै ठाउँमा हानिरहेको अवस्था छ । स्पेस एक्सप्लोरेसनमा जाने रोबोटहरूमा पनि उच्चतम किसिमका एआई प्रयोग भइरहेको छ ।

  • एआईले मिसगाइड गरेर हस्पिटलमा पनि खस्यो नि बम ?

कहिलेकाहीँ आधा त इरर हुन्छ ।

  • धेरै वर्षपछि नजाऔँ । अबको १० वर्षभित्र एआई कस्तो देखिन्छ होला भनेर कल्पना गर्न सकिन्छ ?

एआई हाम्रो पार्ट अफ लाइफ हुन्छ । त्यो नभईकन हामी चल्दै नचल्ने हुनसक्छ । सीमित मान्छे अझै स्मार्ट हुँदै जान्छन् । तर केही मान्छेहरूलाई अल्छी बनाउँछ । किनभने सबै काम त एआईले गरिदिन्छ । रोबोटहरूले गरिदिन्छ । सबै काम रोबोर्टले गर्ने भएपछि मान्छे अलिकति क्रिमिनल माइन्ड बन्दै जान्छ । एउटा उखान छ नि खाली दिमाग सैतानको घर भनेजस्तो क्रिमिनल एक्टिभिटी बढ्न पनि सक्छ । यो मेरो व्यक्तिगत अनुमान हो ।

  • नेपालको यस पटकको निर्वाचनमा अल्गोरिदमको खुबै चर्चा भयो । अल्गोरिदमले चुनाव हरायो, जितायो भनेर रुवाबासी चलिरहेकै छ । यसलाई कसरी हेर्नुभएको छ ?

घण्टीको लहर जसरी आयो, यसमा जेन्जी योङ मान्छे, स्मार्ट पिपल, फर्स्ट बेन्चर लागेका थिए स्वतःस्फूर्त रूपमा । उनीहरूले अल्गोरिदम स्वतःस्फूर्त रूपमा पक्षमा बनाइदिए ।

  • तपाईँ आफ्नो पक्ष पनि बनाउन सक्नुहुन्छ यसलाई ?

सकिन्छ । जस्तै- धेरैवटा भिडियो घण्टीको पक्षमा बनाइदियो भने त्यो तपाईँ हामीहरूले हेर्ने सेलफोनहरूमा तिनै मात्रै भिडियो आइरहन्छ । यो एउटा कारण मात्र हो । निराशा पनि त थियो नि त पुराना पार्टीहरूप्रति ।

  • अल्गोरिदमले निर्वाचनलाई प्रभाव मज्जाले पार्ने रहेछ होइन ?

जतिखेर पनि त्यो स्क्रोल गरेर त्यही आइराखेपछि त प्रभावित हुन्छ नि मान्छे । तर त्यो आइरहनलाई पनि काम त कसैले गरिरहेकै हुन्छ ।

  • पुराना पार्टीले चाहिँ नयाँ पार्टीलाई, यिनीहरूको विचार छैन, कार्यक्रम छैन, नीति छैन, गन्तव्य छैन । यी कहाँबाट सञ्चालित हुन्छन् भनेर भाषण गर्छन् । त्यो कुरा उनीहरूले बनाउन सक्दैन थिए त ?

उनीहरू अलि परम्परावादी थिए । उनीहरूका जेनजी लेभलका स्मार्ट ब्रेनहरू त थिए, तर उनीहरूसँग मोटिभेसन थिएन । उनीहरू पैसामा गइसकेका थिए । पैसा कहाँबाट कमाइ हुन्छ ? कुन नेताको पछि लाग्यो भने कमाइन्छ भन्नेमा लागिसकेका थिए । जो आफैँ गरिखान्छन्, स्मार्ट छन् ती उनीहरूको पक्षमा खासै थिएनन् । तर नयाँमा स्वतःस्फूर्त लागे । जो स्मार्ट थिए, जो फर्स्ट बेन्चर थिए तिनले अल्गोरिदम बनाए स्वतः स्फूर्त रूपमा ।

  • निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूले नयाँ पार्टीलाई भोट हाल्न परिवारलाई दबाब दिए भन्ने कुरा छ । तपाईं पनि अमेरिकामै बस्नुहुन्छ । तपाईंले नि दबाब दिनुभयो ?

जति नेपालीहरू बाहिर गएका छन् काम राम्रो नराम्रो जस्तो भएपनि रेस्पेक्ट हुन्छ बाहिर । त्यहाँ उनीहरूले सुशासन देखेका छन् । त्यहाँको सरकार देखेका छन् । त्यहाँ अलिकति सानो गल्ती हुने बित्तिकै पुलिस प्रशासन कसरी एक्टिभ हुन्छ र निष्पक्ष काम गर्छ । कसरी तुरुन्तै काम गर्छ ? त्यो देखेका मान्छेहरूले यहाँ अर्कै भोगेका थिए ।

३४–३५ वर्षदेखि कहिल्यै सुधार भएन । खाली गफ मात्रै भयो । रास्वपामा पढेलेखेकाहरू छन् तुरुन्तै सेन्टिमेन्ट बुझ्छन् । आफूले पनि भोगेका छन् । देश विदेश पढेर पनि आएका छन् । त्यसकारण माहोल विदेशमा बसेकाले पनि तयार पारिदिए ।

एकजना एमाले नेतृले देशलाई अप्ठ्यारो परेका बेला भागेर विदेशमा बस्नेहरूले बिहानै आँखाको कचेरा पुछ्दै हामीलाई गाली गर्ने ? देश बनाउन बसेकालाई गाली गरेर हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो नि त ।  उहाँहरू भागेका भन्नुहुन्छ । हामी भन्छौँ भगाइएका हौँ, बस्न नदिएको हो । किनभने राजनीतिमा लास्ट बेन्चरवाला छन् । लास्ट बेन्चरले फर्स्ट बेन्चरलाई थर्कायो, हेप्यो, अपमान गर्‍यो अनि बस्न दिएन । त्यही भएर फर्स्ट बेन्चरले लास्ट बेन्चरलाई खेदे यो चुनावमा । मेरो विचारले यिनीहरूलाई रिकभर हुन धेरै गाह्रो छ । यी लास्ट बेन्चरहरूलाई रिकभर हुनलाई धेरै गाह्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप