स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु
सारांश
- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरु गरेको छ।
- कार्यवाहक प्रमुख सुनिता डङ्गोलले समयमै क्यान्सर पत्ता लगाउनुपर्ने र यसले परिवार तथा आर्थिक अवस्थामा पार्ने असरबारे बताइन्।
- कार्यक्रममा क्यान्सर पीडित महिलाहरूले उपचारका अनुभव सुनाउँदै महानगरपालिकाको यो कदमको प्रशंसा गरे।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा आजदेखि महिलाहरूको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ । पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएका छन् । उनीहरूमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको हिस्ट्री छ ।
शुभारम्भ अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि स्वास्थ्य जाँच गराएकी छन् ।
त्यस क्रममा बोल्दै उनले भनिन्, ‘समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ । आर्थिक अवस्था र घर परिवारलाई कमजोर बनाउँछ । जाँच गरेर समयमा क्यान्सर परिहान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ ।’
उनले शिक्षा र सचेतनाको कुरा गर्दै भनिन्, ‘घरमा महिलाहरू परिवारका सदस्य बिरामी पर्नुहोला कि भनेर चिन्तित हुनुहुन्छ । तर, आफैँ स्वास्थ्य जाँच गराउन भने ख्याल गर्नुहुन्न । यसकारण महिलाहरूलाई आफ्नो पनि स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दछु ।’
क्यान्सरले परिवार र आर्थिक अवस्थालाई भविष्यसम्म पनि अप्ठ्यारो पार्ने भएकोले धेरैभन्दा धेरै महिलाहरूको क्यान्सर परीक्षण गराएर सम्भावित जोखिम कम गराउने प्रयास गरिरहेको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ ।
चिकित्सा विज्ञ प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यस अघि समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै महानगरपालिकाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम चलाउनुले समस्या समाधानमा ठुलो महत्त्व राखेको उल्लेख गरे । महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरूमा सदैव साथमा रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले महिलाहरूको स्तन, पाठेघर र सर्भाइकल क्यान्सरका क्षेत्रमा अनुकरणीय काम सुरु भएको बताए ।
क्यान्सर उपचारको अनुभव सुनाउँदै कार्यक्रममा सस्मिता कार्की थापाले भनिन्- ‘मलाई पिसाबको इन्फेक्सन भइरहन्थ्यो । कहिलेकाहीँ महिनावारी गडबडी हुन्थ्यो । यसलाई मैले कहिल्यै पनि समस्याको रूपमा लिएको थिएन । जब क्यान्सर भएको चिकित्सकबाट थाहा पाएँ । सुरुमा त पत्याइन । जब पत्याउनुपर्ने दिन आयो । त्यसपछि धेरै नै डराएँ । मलाई बाँच्छु भन्ने लागेकै थिएन । सन्तानको मात्र माया लाग्थ्यो । सन्तानलाई अझै बढाएर, थोरै पढाएर मर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । तर, उपचार गर्दै जाँदा म त बाँच्न सक्ने भएँ । डाक्टर भनेका साँच्चै भगवान् हुँदा रहेछन् । महानगरपालिकाले क्यान्सर जाँच गर्ने जुन कार्यक्रम ल्याएको छ । यो साँच्चै नै ठुलो काम हो । पर्नेलाई थाहा हुन्छ । क्यान्सर भएका मानिसलाई सानोतिनो सहयोगले पनि बाँच्नका लागि कति धेरै हौसला हुन्छ भन्ने कुरा । महानगरपालिकाका प्रमुखप्रति धेरै नै आभारी हुनुपर्छ ।’
उपचारको अनुभव सुनाउँदै विमला पौडेलले भनिन, ‘जाँच गराउँदा मलाई पोजेटिभ देखियो । पहिलो स्टेजमै पत्ता लागेकोले मेरो उपचार सहज भयो अहिले मेरो नेगेटिभ भइसकेको छ । यदि मैले पहिले नजँचाएको भए अहिले म शिथिल बिरामी भएको अवस्थामा हुन्थेँ होला । मलाई यो जीवन दिएकोमा काठमाडौँ महानगरपालिका र वीर अस्पताललाई धन्यवाद ।’
‘पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउनुहुन्छ । तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा सन्ध्या चापागाईँ भन्छिन्– ‘क्यान्सर रोगका विषयमा समुदाय स्तरमा चेतना विस्तार गर्नु पर्ने धेरै विषय छन् ।’
महिलाहरूको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको थियो । गएको वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए ।
सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एक पटक यसको परीक्षण गराउनुपर्छ ।
१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरै पटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण