श्रीमतीबाट ‘मुक्ति’ पाएको खुसीमा ९ किलोमिटर कठिन दण्डवत् यात्रा
सारांश
- उत्तर प्रदेशका एक युवकले श्रीमतीबाट छुटकारा पाउन ९ किलोमिटर लामो साष्टाङ्ग दण्डवत् परिक्रमा गरे।
- विवाहको दुई वर्षमै श्रीमतीसँगको कलहबाट आजित भएपछि उनले सम्बन्ध विच्छेद गरेका थिए।
- उनले बैडवा माताको मन्दिरमा श्रीमतीबाट छुटकारा पाए साष्टाङ्ग दण्डवत् गर्ने भाकल गरेका थिए।
काठमाडाैँ । मानिसहरूले पत्नी पाउन वा दाम्पत्य जीवन बचाउन पूजापाठ, व्रत र भाकल गरेको त हामीले सुनेकै छौँ । तर, भारतको उत्तर प्रदेशमा एक युवकले श्रीमतीबाट छुटकारा पाउन गरेको भाकल पूरा भएपछि अनौठो तरिकाले खुसी मनाएका छन् । विवाहको दुई वर्षमै श्रीमतीसँगको कलहबाट आजित भएका उनले सम्बन्ध विच्छेद भएपछि ९ किलोमिटर लामो साष्टाङ्ग दण्डवत् परिक्रमा गर्दै मन्दिर पुगेर भाकल पूरा गरेका हुन् ।
यो घटना भारतको उत्तर प्रदेश बस्ती जिल्लाका रवि नामका एक युवकको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, रवि बिहानै भोकै–प्यासै घरबाट निस्किएका थिए । उनको गन्तव्य थियो, घरबाट ९ किलोमिटर टाढा रहेको प्रसिद्ध बैडवा माताको मन्दिर । तर, उनी त्यहाँ गाडी चढेर वा हिँडेर गएनन्, बरु भुईँमा लम्पसार पर्दै र घिस्रिँदै गए । साष्टाङ्ग दण्डवत् परिक्रमा गर्दै उनलाई मन्दिर पुग्न साँझको ६ बजेको थियो । मन्दिर पुग्दा उनको शरीर थकानले चूर थियो र घुँडाहरू रक्ताम्य भइसकेका थिए, तर उनको अनुहारमा भने मनोकामना पूरा भएको गहिरो सन्तोष प्रस्टै देखिन्थ्यो ।
साष्टाङ्ग दण्डवत् परिक्रमामा शरीरका आठ अङ्ग (निधार, छाती, पेट, दुवै हात, दुवै घुँडा र खुट्टा) ले भुईँमा छुने गरी घोप्टो परेर प्रणाम गर्दै अगाडि बढ्नुपर्छ ।
यो कठिन यात्रामा रवि एक्लै थिएनन् । उनका मातापिता र गाउँका दर्जनौँ मानिस बाजागाजासहित उनको साथमा थिए । रविको यो पूरै प्रयासको कारण थियो–श्रीमतीसँग कानुनी रूपमा सम्बन्ध विच्छेद हुनु । यही नै उनको मनोकामना पनि थियो ।
रविले बताएअनुसार, दुई वर्षअघि उनको विवाह भएको थियो तर श्रीमतीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । घरमा दिनहुँ झगडा र कलह हुन्थ्यो । दिनदिनैको किचलोबाट दिक्क भएर उनले श्रीमतीबाट अलग हुने निर्णय गरे । उनले पौराणिक बैडवा माताको मन्दिरमा ‘श्रीमतीबाट छुटकारा दिलाएमा साष्टाङ्ग दण्डवत् यात्रा गर्दै मन्दिर आउनेछु’ भनेर भाकल गरेका थिए । केही समयपछि उनको भाकल पूरा भयो र उनले कानुनी रूपमा सम्बन्ध विच्छेद गरे । त्यसपछि उनले आफ्नो भाकल पूरा गर्न यो कठिन यात्रा गर्ने निर्णय गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण