बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण

मङ्गलबार, १७ चैत २०८२, ०२ : ४३
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई ललितकलाको केन्द्र बनाउन ध्यानाकर्षण गरायो।
  • प्राज्ञ नगेनसिंह ठकुरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्न आग्रह गरे।
  • कलाकारका लागि सुविधा, बोर्ड स्थापना, र विश्वविद्यालयको माग गरिएको छ।

गण्डकी। ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिने भन्दै सोका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयसहित ध्यानाकर्षण गराएका हुन् ।

नौ बुँदे ध्यानाकर्षण पत्रमा नेपाली कला र वास्तुकलालाई विश्वभर चिनाउन अरनिकोको जस्तै स्वर्ण युग बनाउन सकिने उल्लेख गरिएको छ । हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

नेपालका कलाकारका कलाकृति बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने, नेपाल ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने, ललितकला पर्यटनलाई प्रोत्साहन दिनुपर्ने, विज्ञापन बोर्डमा कलाकारको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

अन्तर्राष्ट्रियस्तरको कला पुरस्कारको व्यवस्था र छुट्टै ललितकला विश्वविद्यालयको स्थापना गरिनुपर्ने, नेपाल प्रेस काउन्सिलबाट वर्गीकृत ‘क’ श्रेणीका पत्रिकामा अनिवार्य एक पृष्ठ ललितकलाका लागि छुटाउनुपर्ने, नेपालको संविधानमा ललितकलालाई राज्यको एक अङ्गका रूपमा उल्लेख गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारले अघि सारेका १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको र कलाकारको विकासले देशको सांस्कृतिक पहिचान उच्च बनाउनुका साथै पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने भन्दै ध्यानाकर्षणपत्रमार्फत ध्यानाकर्षण गराइएको महाअभियानका प्राज्ञ ठकुरीले जानकारी दिए । वर्तमान प्रधानमन्त्रीका पालामा नेपालले विश्वमा ललितकला डायमन्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्न सक्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल आफैँ कला–संस्कृतिको धनी देश भएको बताउँदै सुझावसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप