आर्थिक समृद्धिका लागि निजी क्षेत्रका एजेण्डा सरकारको प्राथमिकतामा हुनुपर्छ : हेमराज ढकाल
सारांश
- हेमराज ढकालले निजी क्षेत्रका एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाललाई सफल मान्दै आगामी चुनौती सामना गर्न आफू तयार रहेको बताए।
- ढकालले युवाहरू विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेपालमै रोजगारी सिर्जना गर्ने एजेण्डा प्रस्तुत गरे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वर्तमान उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेण्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महासङ्घको ६० औँ वार्षिक साधारण सभाको सन्दर्भमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले वर्तमान नेतृत्वको सफलताको स्वामित्व लिँदै आगामी कार्यकालका चुनौतीहरू सामना गर्न आफू तयार रहेको बताएका हुन् ।
उनले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाललाई ऐतिहासिक रूपमा सफल मान्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र त्यसका सुझावहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे। ढकालले आफ्नो समूहका वस्तुगत उपाध्यक्ष उम्मेदवार नरेश दास, जिल्ला नगरका उम्मेदवार उमेश डालमिया, कल्पना गैह्रे र एसोसिएटका उम्मेदवारहरूको प्रशंसा गर्दै उनीहरूलाई विजयी गराउन आग्रह गरे।
महासङ्घभित्र गुटबन्दी भन्दा पनि एउटै टिम बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो। अध्यक्षले सुरुमा प्रतिबद्धता गरेअनुसार अख्तियारको क्षेत्राधिकार निजी क्षेत्रमा प्रवेश रोक्ने, लगानी सम्मेलन गर्ने, कानुन संशोधन र सीआईपी अवार्ड पुनः सुरु गर्ने जस्ता महत्त्वपूर्ण कामहरू भएको उनले दाबी गरे। प्रतिकूल आर्थिक अवस्था र कोभिडपछिको मन्दीका बाबजुद पीएसपीपी जस्ता रणनीतिक योजनाहरू सरकारबाट पास गराउन सफल हुनु टिमको ठुलो उपलब्धि भएको उनको भनाइ छ।
अर्थमन्त्रीले आन्तरिक राजस्व अनुसन्धान विभाग खारेज गर्ने र पुराना १५ वटा कानुन खारेज गर्ने आँट देखाएकोमा व्यवसायीहरू उत्साहित भएको ढकालले बताए। अबको कार्यकालमा निजी क्षेत्रका एजेण्डाहरू सरकारको घोषणापत्रमा समेत परिसकेकाले काम गर्न केही सहज हुने उनले अपेक्षा गरे।
बजार चलायमान नभएको र युवाहरू विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै गरी खाने वातावरण बनाउनु पर्नेमा जोड दिए। जलस्रोत, पर्यटन, उद्योग र कृषिको तीव्र विकास गरेर रोजगारी सिर्जना गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे।
मुलुकको वर्तमान आर्थिक सङ्कुचन हटाउन अबको नेतृत्वको मुख्य लक्ष्य 'डबल डिजिट'को आर्थिक वृद्धि हुनुपर्ने ढकालको तर्क छ। विगत तीन वर्षमा महासङ्घले दिएको हरेक जिम्मेवारीमा अहोरात्र खटिएको स्मरण गर्दै उनले आफ्नो अनुभव र प्रतिबद्धतालाई हेरेर सहयोग गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई अपिल समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण