अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चन्द्र ढकालको चेतावनी
सारांश
- नेपाल उद्योग वाणिज्य महासङ्घका वर्तमान अध्यक्ष ढकालले भावी अध्यक्ष श्रेष्ठलाई गुटबन्दी नगर्न चेतावनी दिएका छन्।
- वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको दुरुपयोग भएको भन्दै ढकालले नेतृत्वको इमानदारितामाथि प्रश्न उठाए।
- ढकालले आगामी निर्वाचनमा श्रेष्ठले एउटा निश्चित समूहलाई समर्थन गरे आफू पनि अर्को पक्षमा लाग्ने चेतावनी दिए।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी सरगर्मीले उचाइ लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । आगामी हप्ता हुने निर्वाचनमा दुई स्पष्ट समूहहरू प्यानलसहित भिड्ने तयारीमा रहेका बेला अध्यक्ष ढकालले भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चेतावनी दिएका हुन् ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि ‘कन्फर्म’ अध्यक्ष हुन् । तर श्रेष्ठले पर्दापछाडि आफ्नो प्यानल बनाएको र चुनावी अभियानमा सक्रिय भएको आरोप लगाउँदै अध्यक्ष ढकालले यस्तो कार्य विधानको मर्मविपरीत भएको टिप्पणी गरे ।
अध्यक्ष ढकालले महासङ्घमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने कुराको स्मरण गराउँदै नेतृत्वको इमानदारितामाथि प्रश्न उठाउनु भयो । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भए पनि त्यसको दुरुपयोग भइरहेको उनको आशय छ ।
उनले भने, ‘यो वरिष्ठ उपाध्यक्षको सिस्टम एउटा नेतृत्वलाई तयार गर्नको लागि, अनि अर्को त्यो जुन नेतृत्व वरिष्ठ स्वतः अध्यक्ष हुन्छ, उ न्युट्रल होस् भन्ने हिसाबले । तर अब हामीकहाँ जुन हिसाबले न्युट्रल र तयार गर्ने हिसाबमा अब मेरो पक्ष भनेर जब वरिष्ठले नै पम्पलेट तयार गरेपछि अनि के होला भन्नुस् त ?’
ढकालका अनुसार अञ्जन श्रेष्ठले निर्वाचनमा एउटा निश्चित समूहलाई च्यापेर पम्पलेट नै छापेर हिँडेका छन् । यसले महासङ्घभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामाथि ठुलो संशय पैदा गरेको छ ।
अहिलेसम्म आफूलाई सर्वसम्मतिको पक्षधर र अभिभावकीय भूमिकामा राख्दै आउनुभएका ढकालले यदि भावी अध्यक्षले गुटबन्दी नत्यागे आफू पनि चुप लागेर नबस्ने चेतावनी दिए । उनले भावी अध्यक्ष श्रेष्ठलाई एउटा पक्षको नेता नबन्न आग्रह गर्दै यदि त्यसो भएमा आफूले पनि अर्को पक्षको खुलेर समर्थन गर्ने ‘अल्टिमेटम’ दिए ।
उनले भने, ‘म अझै केही दिन सर्वसम्मतकै पक्षमा हुनेछु । तर तपाईंहरू ढुक्क हुनुहोस्, यदि उहाँले मेरै प्यानल हो भनेर यदि भन्नुभयो भने तपाईंहरूको पक्षमा पनि म खुलेर लाग्छु ।’
महासङ्घको निर्वाचन अब केवल साधारण सदस्य वा कार्यसमिति सदस्यहरूको मात्र लडाइँ नरहेर वर्तमान र भावी अध्यक्षबिचको प्रतिष्ठाको लडाइँसमेत बन्न सक्ने देखिन्छ । अध्यक्ष ढकालले आफ्नो तीन वर्षे कार्यकालमा महासङ्घले उठाएका मुख्य पाँच वटा एजेण्डाहरू पूर्ण रूपमा सफल भएको दाबी गरे ।
उनले व्यङ्ग्यात्मक शैलीमा आगामी कार्यसमितिलाई अब उठाउने कुनै नयाँ एजेण्डा नै बाँकी नरहेको भन्दै आफ्नो सफलताको फेहरिस्त प्रस्तुत गरे । उनले भने, ‘मैले ३ वर्षअघि शपथ लिने क्रममा ५ वटा कुराहरू भनेको थिएँ । त्यो ५ वटै कुराहरू कम्प्लिट भएको छ । तपाईंहरू अहिले कार्य समितिमा आइसकेपछि पदाधिकारी आइसकेपछि तपाईंहरूको एजेण्डा नै छैन कि हामीले उठाउने एजेण्डाहरू सबै यो टेनरमा कम्प्लिट भइसक्या छ ।’
विशेषगरी ‘निजी क्षेत्र संरक्षण र प्रवर्द्धन रणनीति’ लाई सरकारको क्याबिनेटले पारित गरेको विषयलाई उनले आफ्नो कार्यकालको सबैभन्दा ठुलो उपलब्धिको रूपमा लिएका छन्। यस्तो अवस्थामा नयाँ नेतृत्वले कुन मुद्दा लिएर अगाडि बढ्ने भन्ने चुनौती रहेको उनको भनाइ छ ।
मुलुकमा करिब दुई–तिहाइको शक्तिशाली सरकार रहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले यस्तो बेला निजी क्षेत्र विभाजित हुनु दुर्भाग्यपूर्ण हुने बताए । उनले महासङ्घको शक्ति त्यसको एकतामा रहेको र नेतृत्वले गुटबन्दी गर्दा सरकारसँगको ‘बार्गेनिङ पावर’ कमजोर हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण