बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने मन्त्री पोखरेलको घोषणा

मङ्गलबार, १७ चैत २०८२, १५ : ०३
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • मन्त्री सस्मित पोखरेलले खेलकुदलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने योजना बनाएका छन्।
  • उनले ५ वर्षभित्र तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छन् र यसका लागि काम अघि बढेको छ।
  • खेलकुदलाई शिक्षासँग जोड्न नीतिगत र कानुनी रूपमै काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सारेका छन्। मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षणका क्रममा उनले अबको ५ वर्षभित्र तल्लो तह (ग्रासरुट) बाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो कदम चाल्न लागिएको जानकारी दिएका हुन् । 

नेपालको खेलकुदमा सानो उमेरदेखि नै खेलाडी तयार हुन नसक्नु मुख्य समस्या रहेको उनले औँल्याएका छन्। काठमाडौँ महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै मन्त्री पोखरेलले अब नीतिगत र कानुनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले हाल नेपालका धेरैजसो खेलाडीहरू सेना, प्रहरी र एपीएफ जस्ता विभागीय टोलीबाट मात्रै उत्पादन भइरहेको चर्चा गरे। १८ वर्ष पुगेपछि मात्र ती निकायमा जान पाइने भएकाले सानो उमेरदेखि नै उचित डाइट र ट्रेनिङको सुनिश्चितता गर्न विद्यालय तहकै पाठ्यक्रममा खेलकुद समेट्न लागिएको उनको भनाइ छ।

महानगरमा हुँदा कतिपय कानुनी अड्चनले गर्दा पाठ्यक्रममा जोड्न नसकिएको स्मरण गर्दै उनले अब केन्द्र सरकारको तहबाट पाठ्यक्रम विकास केन्द्र (सीडीसी) सँग मिलेर यो काम पुरा गर्ने बताए। खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठुलो भूमिका खेल्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे। 

आफूलाई मन्त्री भन्दा पनि एक ‘टिम मेम्बर’ का रूपमा हेर्न आग्रह गर्दै उनले सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट भई खेल क्षेत्रको दीर्घकालीन विकासमा लाग्न आह्वान गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप