बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इराकको राजधानीबाट अमेरिकी पत्रकार अपहरित

बुधबार, १८ चैत २०८२, ०७ : १६
बुधबार, १८ चैत २०८२

सारांश

  • इराकको बग्दादबाट अमेरिकी पत्रकार शेली किट्टल्सनको अपहरण भएको छ, जसमा इरान समर्थित समूहको संलग्नता छ।
  • अपहरणकारीको गाडीलाई पछ्याउँदा एक संदिग्ध पक्राउ परेको छ, र अमेरिकी अधिकारीहरूले उनलाई पहिले नै खतराको बारेमा चेतावनी दिएका थिए।
  • अमेरिकी सरकारले किट्टल्सनलाई इरान समर्थित अर्धसैनिक बलबाट खतरा रहेको चेतावनी दिएको थियो, र उनको सुरक्षित रिहाइका लागि पहल भइरहेको छ।

बग्दाद । इराकको राजधानी बग्दादबाट एक अमेरिकी स्वतन्त्र पत्रकार शेली किट्टल्सनको अपहरण भएको छ। इराक र अमेरिकी अधिकारीहरूका अनुसार यस अपहरणमा इरान समर्थित सशस्त्र समूह कताइब हिजबुल्लाहसँग आबद्ध व्यक्तिको संलग्नता रहेको देखिएको छ।

समाचार पोर्टल अल-मोनिटरका लागि लेख्दै आएकी किट्टल्सनलाई मंगलबार साँझ बग्दादको मध्यभागमा रहेको एक होटल नजिकैबाट अपहरण गरिएको हो। अपहरणकारीको गाडीलाई सुरक्षा बलले पिछा गर्ने क्रममा एउटा गाडी पल्टिएको र सोही क्रममा एक जना संदिग्धलाई पक्राउ गरिएको इराकी आन्तरिक मन्त्रालयले जानकारी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव डिलन जोन्सनले नाम उल्लेख नगरी एक अमेरिकी पत्रकारको अपहरण भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले यसअघि नै ती व्यक्तिलाई आउन सक्ने खतराका बारेमा चेतावनी दिएको उल्लेख गर्दै उनको सुरक्षित रिहाइका लागि एफबीआईसँग समन्वय भइरहेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले सोमबार रातिसम्म पनि किट्टल्सनलाई पटक-पटक सम्पर्क गरेर सुरक्षा खतराको जानकारी गराएको बुझिएको छ। पक्राउ परेका व्यक्ति इरानसँग निकट मानिने कताइब हिजबुल्लाह समूहसँग सम्बन्धित रहेको अमेरिकी दाबी छ।

किट्टल्सनका आपत्कालीन सम्पर्क व्यक्ति एवं सीएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक एलेक्स प्लिट्सासका अनुसार अमेरिकी सरकारले उनलाई इरान समर्थित अर्धसैनिक बलबाट हुन सक्ने विशिष्ट खतराका बारेमा पहिले नै सचेत गराएको थियो। कताइब हिजबुल्लाहले महिला पत्रकारहरूलाई अपहरण गर्ने वा मार्ने योजना बनाएको र किट्टल्सनको नाम उनीहरूको सूचीमा रहेको चेतावनी दिइएको थियो।

इराकी अधिकारीहरूले पत्रकारको रिहाइका लागि उच्च तहबाट पहल भइरहेको बताएका छन्। इराकी आन्तरिक मन्त्रालयले सटीक गुप्तचर सूचनाका आधारमा अपहरणकारीहरूको खोजी र पक्राउका लागि सघन अपरेसन चलाइरहेको उल्लेख गरेको छ।

अल-मोनिटरले आफ्नी कन्ट्रीब्युटरको अपहरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनको तत्काल र सुरक्षित रिहाइको माग गरेको छ। अमेरिकी विदेश मन्त्रालयले भने गोपनीयताको कारण देखाउँदै यस विषयमा थप विस्तृत विवरण दिन अस्वीकार गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप