मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाको नयाँ केन्द्रीय सम्झौता : म्याक्सवेल बाहिरिँदा नेसरको पुनरागमन

बुधबार, १८ चैत २०८२, ११ : २३
बुधबार, १८ चैत २०८२

सारांश

  • क्रिकेट अस्ट्रेलियाले २०२६-२७ सिजनका लागि २१ सदस्यीय पुरुष केन्द्रीय सम्झौता सूची सार्वजनिक गरेको छ।
  • ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, झाई रिचर्डसन जस्ता खेलाडी सम्झौताबाट बाहिरिएका छन्, भने माइकल नेसरले स्थान बनाए।
  • आगामी १२ महिनामा अस्ट्रेलियाले भारत भ्रमणसहित १५ टेस्ट खेल खेल्ने तालिका रहेको छ।

सिड्नी । क्रिकेट अस्ट्रेलिया (सीए) ले सन् २०२६–२७ सिजनका लागि २१ सदस्यीय पुरुष केन्द्रीय सम्झौता सूची सार्वजनिक गरेको छ। आगामी वर्ष हुने व्यस्त टेस्ट तालिकालाई मध्यनजर गर्दै बोर्डले यस पटक टेस्ट र बहु-फर्म्याटका खेलाडीहरूलाई विशेष प्राथमिकता दिएको छ।

यस पटकको सम्झौतामा केही ठूला नामहरू बाहिरिएका छन्। विष्फोटक ब्याटर ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, झाई रिचर्डसन र लान्स मरिसले यस पटक केन्द्रीय सम्झौता गुमाएका छन्। त्यस्तै, संन्यास लिइसकेका अनुभवी ओपनर उस्मान ख्वाजा पनि स्वभाविक रूपमा सूचीबाट बाहिरिएका छन्। 

युवा ब्याटर साम कोन्स्टासले यस पटक पनि स्थान बनाउन सकेनन्। विशेषगरी तीव्र गतिका बलर रिचर्डसन अघिल्लो वर्ष मात्र सम्झौतामा परे पनि एक वर्षभित्रै बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अर्कोतर्फ, ओपनर ज्याक वेदराल्ड र तीव्र गतिका बलर माइकल नेसरले सम्झौतामा स्थान बनाउन सफल भएका छन्। नेसरले पछिल्लो एशेज सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनको इनामस्वरूप उनलाई राष्ट्रिय सम्झौतामा फर्काइएको हो।

सन् २०२६–२७ का लागि सम्झौतामा परेका खेलाडीहरू:

जेभियर बार्टलेट, स्कट बोल्यान्ड, एलेक्स केरी, प्याट कमिन्स, ब्रेन्डन डगेट, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इङ्लिस, म्याथ्यू कुह्नेमन, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्स, टोड मर्फी, माइकल नेसर, स्टिभ स्मिथ, मिचेल स्टार्क, ज्याक वेदराल्ड, ब्यू वेबस्टर र एडम जाम्पा।

अस्ट्रेलियाको व्यस्त तालिका: भारत भ्रमण मुख्य आकर्षण

अस्ट्रेलियाली टोलीका लागि आगामी १२ महिना निकै व्यस्त रहनेछ। यो अवधिमा अस्ट्रेलियाले कुल १५ वटा टेस्ट खेल खेल्ने तालिका छ। जसमा बंगलादेशविरुद्ध घरेलु मैदानमा २ टेस्ट, दक्षिण अफ्रिका भ्रमणमा ३ टेस्ट, न्युजिल्याण्डविरुद्ध घरेलु मैदानमा ४ टेस्ट र भारत भ्रमणमा ५ वटा टेस्ट खेल समावेश छन्। साथै, मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) को १५० औँ वार्षिकोत्सवको अवसरमा एउटा विशेष टेस्ट खेल समेत खेलिनेछ।

सन् २०२७ को मध्यतिर विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र त्यसपछि इंग्ल्याण्ड भ्रमणमा पाँच टेस्टको एसेज सिरिज हुने भएकाले अस्ट्रेलियाले अहिलेदेखि नै टेस्ट विशेषज्ञ खेलाडीहरूलाई प्रोत्साहन गरेको देखिन्छ। 

टेस्टबाहेक अस्ट्रेलियाले जिम्बाब्वे र दक्षिण अफ्रिका भ्रमणमा र घरेलु मैदानमा इङ्गल्याण्डविरुद्ध सीमित ओभरको शृङ्खला समेत खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप