बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

बुधबार, १८ चैत २०८२, १३ : २२
बुधबार, १८ चैत २०८२

सारांश

  • सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले ६ महिनादेखि तलब नपाएपछि काम ठप्प पारेका छन्।
  • १,५०० कामदारले काम ठप्प पार्दा आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ, जसको निर्माण भारतीय कम्पनीले गरिरहेको छ।
  • मजदुरहरूले समयमा तलब भुक्तानीको माग गर्दै आन्दोलन सुरु गरेका हुन्, जसमा प्रमुख जिल्ला अधिकारीले जानकारी दिएकी छिन्।

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् ।

आयोजनाको विद्युत गृहका चिचिला गाउँपालिका-२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ । यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले गरिरहेको छ । ६ महिनादेखि तलब नपाएको भन्दै आजदेखि काम ठप्प पारिएको मजदुरहरू बताउँछन् ।

निर्माण कम्पनीले समयमा तलब भुक्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले आयोजनाको विद्युत गृहका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन सुरु गरेका जानकारी पाएको बताइन् ।

यसअघि पनि मजदुरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको उनले जानकारी दिइन् ।

९ सय मेगावाटको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत गृहका पुखुवा क्षेत्रमा कार्यरत तीन हजारभन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च रु एक खर्ब २० अर्ब अनुमान गरिएको छ ।

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । उक्त आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्कमा छुट प्राप्त गर्ने विकास सम्झौतासम्बन्धी पत्रमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप