शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

बुधबार, १८ चैत २०८२, १३ : ४४
बुधबार, १८ चैत २०८२

सारांश

  • विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
  • काठमाडौं, रूपन्देही, संखुवासभा, कपिलवस्तु, तनहुँ र धादिङमा भएका दुर्घटनामा स्कुटर, ट्याक्टर, हाइस, टिपर र बस संलग्न थिए।
  • प्रहरीले दुर्घटनामा संलग्न चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ ठूलो भर्‍याङस्थित सडकमा प्र.३-०१-००६ ख ०१७२ नम्बरको टिपरले प्र.३-०२-००८ प २२२१ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटरमा सवार ३२ वर्षीय खेमबहादुर महतको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते स्कुटर चालकको उपचार भइरहेको छ । ठक्करपछि स्कुटर ना.५ ख १०१२ नम्बरको ट्रकमा समेत ठोक्किएको थियो । प्रहरीले टिपर र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ ईटाभट्टीमा बा.प्र.०३-००१ ज १२२९ नम्बरको हाइस र रा.१ ह ४४३४ नम्बरको ई–रिक्सा ठोक्किँदा ई–रिक्सा चालक ३२ वर्षीय गोबिन्द बिकको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हाइस चालक नियन्त्रणमा लिइएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा प्र.१-०२-००३ त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २१ वर्षीय रोसन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ जगदिशपुर ताल नजिक लु.२ ख ६४५५ नम्बरको टिपरले ठक्कर दिँदा ९ वर्षीया आषिका खत्रीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक पक्राउ परेका छन् ।

त्यसैगरी, कपिलवस्तुकै कृष्णनगर नगरपालिका–१ सालीमा हलचोक नजिक रा.१ ख २१४२ नम्बरको बसले साइकलयात्री ४२ वर्षीय डिल्लीराम थारूलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । गम्भीर घाइते भएका थारूको उपचारका क्रममा ज्यान गएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ग.१ त १५२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा १४ वर्षीय शिवबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते चालकको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको गल्छी गाउँपालिका–४ मास्टरमा ना.५ ख १५९२ नम्बरको ट्याङ्कर र प्रदेश ०३-०२-०१३ प ३९६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ४० वर्षीय चन्दन रौनियारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप