शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

ओली र लेखकको पक्राउ विरोधमा प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेको आपत्ति

बिहीबार, १९ चैत २०८२, १६ : ३३
बिहीबार, १९ चैत २०८२

सारांश

  • प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले आपत्ति जनाए।
  • एमाले सांसद गुरु बरालले सरकारले संविधानको मौलिक हक विपरीत काम गरेको आरोप लगाए।
  • ओली र लेखकको पक्राउको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा दमन भएको भन्दै गृहमन्त्रीलाई छानबिन गर्न माग गरे।

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने वित्तकै अवरोध भएको छ । नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन् ।

एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।  

सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन् ।

पक्राउको विरोधमा शान्तिपूर्ण विरोध गर्दा सरकारले बर्बर दमन गरेको आरोप लगाए । उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरे ।

यस्तो छ बरालको सम्बोधनको सम्पादित उतार :

आज देशमा संविधानको बर्खिलाप हुने गरी गतिविधिहरू भइरहेका छन्। नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ। त्यस्तै, धारा १७ ले नागरिकको स्वतन्त्रताको हक र धारा १८ ले समानताको हक प्रदान गरेको छ।

अध्यक्षज्यू, हजुरमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु— अहिले देशमा जति पनि घटनाहरू घटिरहेका छन्, के ती घटनाहरू संवैधानिक रूपमा उचित छन्? पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई फौजदारी कार्यविधिलाई गलत ढङ्गले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो अत्यन्त गम्भीर आपत्तिको विषय हो।

यस विषयलाई लिएर देशव्यापी रूपमा विरोध प्रदर्शन भइरहेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दा आज सरकारले निर्मम दमन गरेको छ। अहिले यहीँ उपस्थित हुनुभएका माननीय सदस्यद्वय साजिदा सिद्दिकी र विष्णुमाया विकलाई गम्भीर घाइते बनाइएको छ। म अध्यक्षज्यूमार्फत उहाँहरूलाई एकपटक उभिन अनुरोध गर्न चाहन्छु। उहाँहरूलाई किन र कसले चोट लगायो? म गृहमन्त्रीज्यूलाई यस विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गर्दछु।

यसैगरी, सुर्खेतस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रवेश गरी जिल्ला नेताहरूलगायत दर्जनौँलाई घाइते बनाइएको छ। राजधानीमा पनि पार्टीका केन्द्रीय सदस्यहरूलगायत दर्जनौँ व्यक्ति घाइते हुनुभएको छ। उहाँहरूलाई गम्भीर चोटपटक लागेको छ; कसैको टाउकोमा टाँका लगाइएको छ त कसैको हात भाँचिएको छ। यसरी देशको संविधानको बर्खिलाप हुने गरी जे-जस्ता गतिविधिहरू भइरहेका छन्, ती अत्यन्त निन्दनीय र आपत्तिजनक छन्। देश संविधानअनुरूप चलोस् भन्ने हाम्रो अपेक्षा छ।

हामी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दछौँ। साथै, घाइतेहरूको उचित उपचार र माननीय सदस्यहरूलाई घाइते बनाउनेमाथि यथोचित छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दछौँ।

एउटै घटनामा कानुनको दोहोरो मापदण्ड अपनाइएको छ। एकातिर फौजदारी कार्यविधिको दफा ८१ र ८२ प्रयोग गरिएको छ भने, अर्कोतिर सोही प्रतिवेदनको अर्को खण्डको बारेमा कतै उल्लेख नगरी नयाँ कार्यदल बनाएर छानबिन गर्नुपर्छ भनिएको छ। एउटै घटनासँग जोडिएर देखाइएको यस्तो द्वैध चरित्र अत्यन्त गम्भीर छ।

यसर्थ, म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्षज्यूमार्फत अनावश्यक हस्तक्षेप बन्द गर्न, पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई अविलम्ब रिहा गर्न र देशमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको मौलिक अधिकारलाई पूर्ण रूपमा बहाल गर्ने ग्यारेन्टी गरियोस् भनी हार्दिक अनुरोध गर्दछु।

धन्यवाद !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप