बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'सच्चिने कि सकिने' भन्ने दोसाँधमा कम्युनिस्ट आन्दोलन

शुक्रबार, २० चैत २०८२, २१ : ०८
शुक्रबार, २० चैत २०८२

सारांश

  • नेपालको कम्युनिस्ट आन्दोलन विचारको खडेरी र नेतृत्वको स्वार्थका कारण रक्षात्मक अवस्थामा पुगेको छ।
  • जनताको विश्वास गुमाउँदै गएका पुराना पार्टीहरूले अस्तित्व जोगाउनका लागि आमूल सुधार र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने देखिन्छ।
  • कम्युनिस्ट पार्टीहरूले अब सत्ताको खेल छोडेर जनताको एजेन्डामा केन्द्रित हुँदै सच्चिनुपर्ने वा इतिहासबाट मेटिनुपर्ने दोसाँधमा उभिएका छन्।

​इतिहासको एउटा निर्मम सत्य के हो भने जसले एकपटक क्रान्ति गर्छ त्यही नेतृत्वले दोस्रोपटक क्रान्ति गरेको इतिहास विश्वमा विरलै छ। नेपालको सन्दर्भमा नेकपा माओवादीले १० वर्ष जनयुद्ध गर्‍यो, त्यसकै जगमा मुलुकमा गणतन्त्र र संघीयता आयो।

 तर, परिवर्तन संस्थागत गर्ने क्रममा नेतृत्वले समयको पदचापलाई ठम्याउन सकेन। आज कम्युनिस्ट आन्दोलन जुन रक्षात्मक अवस्थामा पुगेको छ यसको मुख्य कारण विचारको खडेरी र नेतृत्वको उत्तराधिकारी विहीन मोह नै हो।

सत्ताको चास्नी र चुकेको अवसर

​क्रान्तिबाट आएको नेतृत्वले समयमै दोस्रो र तेस्रो पुस्ता तयार पार्नुपर्थ्यो। तर, अध्यक्ष प्रचण्डमा नेतृत्व गुम्ने त्रास यति कडा देखियो कि उनले नयाँ पंक्तिलाई अघि सार्नुको साटो आफ्नै वरिपरि शक्ति केन्द्रित गरे। संविधान निर्माण पश्चात् हिजो जुन बेथिति विरुद्ध लडिएको थियो, आज नेतृत्व तिनै पुराना शक्तिहरूसँग 'घाँटी जोड्न' पुग्यो। सत्ता र शक्तिको चास्नीमा डुब्दा हिजोका क्रान्तिकारीहरू आज समाजमा व्याप्त भ्रष्टाचार र बेथितिका साक्षी मात्र बनेका छैनन्, कतिपय अवस्थामा हिस्सेदार समेत देखिएका छन्।

जनआक्रोश र विकल्पको उदय

​जनताले हिजो माओवादी र एमालेलाई विश्वास गरेर झन्डै दुई तिहाइको मत दिएकै हुन्। तर, जनअपेक्षा पूरा हुनुको साटो पार्टीहरू गुटबन्दी र कुर्सीको खेलमा रुमल्लिए। यही रिक्तता र निराशाको परिणाम हो—आजको रास्वपा जस्ता नयाँ शक्तिहरूको उदय। रास्वपा कति स्थायी रहला, त्यो उसको कर्मले देखाउला, तर यसले एउटा स्पष्ट सन्देश दिएको छ- नेपाली जनता अब पुराना र थाकेका अनुहारबाट डेलिभरी चाहँदैनन्। माओवादीलाई जनताले जुन स्तरमा किनारा लगाउँदै लगेका छन्, यसले पार्टीको अस्तित्व नै संकटमा रहेको संकेत गर्छ।

अबको बाटो: आम शुद्धीकरण र रूपान्तरण

​यदि अझै पनि प्रचण्ड र अन्य कम्युनिस्ट नेताहरूलाई पार्टी ब्युँताउन सकिन्छ भन्ने लाग्छ भने अब 'कस्मेटिक' सुधारले पुग्दैन । सर्जिकल' अपरेसन नै आवश्यक छ ।

 प्रचण्डले अब सक्रिय कार्यकारी पद त्यागेर 'अभिभावकीय' भूमिकामा बस्ने आँट गर्नुपर्छ। युवा पुस्तालाई नीति निर्माण र नेतृत्वको बागडोर सुम्पिनु नै पार्टी बचाउने पहिलो सर्त हो।

यसैगरी हिजोका शास्त्रीय व्याख्याले आजको 'डिजिटल' र 'ग्लोबल' पुस्तालाई छुन सक्दैन। मजदुर र किसानका कुरा गर्दा अब मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिहरूलाई पनि समेट्ने गरी विचारलाई परिमार्जित गर्नुपर्छ। विज्ञान र प्रविधिको फड्कोलाई अङ्गीकार गर्दै उत्पादनसँग जोडिने मोडेल ल्याउनु पर्छ।

यसैगरी साना-साना 'सटर' खोलेर बसेका कम्युनिस्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउनु पर्छ। अबको पाँच वर्ष सत्ताको खेलमा नलागी केवल जनताको एजेन्डा बोकेर सडक र सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने प्रण गर्नुपर्छ।

 निष्कर्ष

​नेपाली समाजमा कम्युनिस्टहरूको सान्दर्भिकता अझै मरेको छैन, तर उनीहरूले बोक्ने 'शैली' र 'अनुहार' मरिसकेको छ। एमाले र माओवादीले लिएका कतिपय नीतिलाई जनताले पटक-पटक बहिष्कार गरिसकेका छन्। अब उनीहरूको हातमा जम्मा दुईवटा विकल्प बाँकी छ- एउटा सच्चिएर फेरि जनताको मन जित्ने, अर्को 'सकिएर' इतिहासको पानामा सीमित हुने। नेतृत्वले बेलैमा विवेक पुर्‍याओस्, नत्र इतिहासले कसैलाई माफी दिने छैन। ​यो अन्तिम घडी पनि हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप