बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

आइतबार, २२ चैत २०८२, ०५ : ३८
आइतबार, २२ चैत २०८२

सारांश

  • सूर्यविनायक नगरपालिकाले डिजिटल घर नम्बरिङ अभियान सुरु गरेको छ, जसले सबै घरलाई समेट्नेछ।
  • यो प्रणालीले नागरिकलाई छिटो, सहज सेवा प्रदान गर्ने र स्मार्ट सिटी बनाउन मद्दत गर्नेछ।
  • क्यूआर कोडसहितको डिजिटल नम्बरले घरको विस्तृत विवरण सङ्कलन गर्नेछ र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेछ।

भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्‍याउने अभियान सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको हो ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोल पारीगाउँस्थित नगरप्रमुख वासुदेव थापाको घरमा नम्बर टाँसेर सुरु भएको अभियान आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सबै घरमा पुर्‍याउने गरी सुरु गरिएको नगर कार्यालयले जनाएको छ । नगरप्रमुख थापाले नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली अभियान सुरु गरेको जानकारी दिँदै यो प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भविष्यमा स्मार्ट सिटीको रूपमा विकास गर्ने आधारसहित डिजिटल घर नम्बर प्रणाली लागू गरी घरघरमा नम्बर टाँस्ने अभियान सुरु गरिएको उनले बताए ।

यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई द्रुत बनाउने तथा आपत्कालीन सेवालाई लक्षित स्थानमा छिटो पुग्न सहयोग पुर्‍याउने बताए ।

नगरपालिकाका प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरी घरको विस्तृत विवरण सङ्कलन गर्ने गरिनेछ । जसमा प्रत्येक घरको ठेगाना, परिवार विवरण, नक्सा समन्वयलगायतका सूचना डिजिटल रूपमा अभिलेख राखिने छ । प्रणालीले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप