‘सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी
सारांश
- कञ्चनपुरको बेलौरीस्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा शिक्षण सिकाइ र अनुशासन कायम गर्न सिसी क्यामेरा जडान गरिएको छ।
- विद्यालयमा जडान गरिएका २४ वटा क्यामेरा र माइकको सहायताले प्रधानाध्यापकले आफ्नो कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने गरेका छन्।
- बेलौरी नगरपालिकाको तीन लाख रुपैयाँ सहयोगमा विद्यालयमा यो प्रविधि जडान गरिएको हो।
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ ।
शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए । पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र विद्यार्थीबीच हुने गतिविधि प्रत्यक्ष अनुगमन गर्न सकिने भएको विद्यालयले जनाएको छ ।
“ससाना कामका लागि कक्षाकोठा चहार्नु पर्दैन, प्रधानाध्यापककै कार्यकक्षबाट निगरानी गर्न सकिन्छ,” उनले भने, “विद्यालयमा २४ वटा क्यामेरा र माइक राखिएका छन् ।” उनका अनुसार क्यामेरा जडानपछि कक्षाकोठामा अनुशासन बढेको र सिकाइ वातावरण थप व्यवस्थित भएको छ ।
“कक्षामा हुने गतिविधि सहजै अवलोकन गर्न सकिने भएकाले शिक्षण प्रक्रिया अझ प्रभावकारी भएको छ,” उनले भने, “शिक्षक नभएको अवस्थामा प्रअको कार्यकक्षबाटै विद्यार्थीहरूलाई कक्षाकार्य दिने गरेका छौँ ।”
उनले अहिलेको प्रविधिसँग विद्यार्थीलाई जोड्न सके शिक्षण सिकाइ प्रभावकारी हुने बताए । “यो प्रविधि खर्चिलो छ, यसका लागि एउटा विज्ञ कर्मचारी राख्नुपर्ने अवस्था छ,” प्रअ जोशीले भने, “विभिन्न समयमा आउने प्राविधिक समस्या युट्युब हेरेर समाधान गर्ने गरेको छु ।”
उनका अनुसार बेलौरी नगरपालिकाको रु. तीन लाख सहयोगमा हरेक कक्षामा माइक र क्यामेरा जडान गरिएको हो ।
बेलौरी नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयमा आइसिटी र विज्ञान प्रयोगशालामा जोड दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिए । “सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन कक्षाकोठा व्यवस्थापनदेखि पूर्वाधार विकास गरिरहेका छौँ,” उनले भने, “विद्यालयमा पढाइका अतिरिक्त सिकाइलाई पनि प्राथमिकतामा राखेका छौँ ।”
बेलौरी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय पाँच र प्राथमिक विद्यालय १२ वटा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण