बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस रचनात्मक प्रतिपक्ष र जिम्मेवार साझेदार बन्छ : सांसद कर्ण

सोमबार, २३ चैत २०८२, १३ : ३७
सोमबार, २३ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले आफ्नो पार्टी वर्तमान सरकारको रचनात्मक प्रतिपक्ष र जिम्मेवार साझेदार बन्ने बताएका छन्।
  • सांसद कर्णले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाका लागि सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको उल्लेख गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारसँग पार्टीले रचनात्मक प्रतिपक्ष र जिम्मेवार साझेदारको भूमिका निर्वाह गर्ने बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद कर्णले वर्तमान सरकार परिवर्तनप्रतिको जनआकाङ्क्षाको प्रतिरूप भएको बताए । उनले लोकतन्त्रमा जनताको आदेश नै सर्वोपरि हुने पनि बताए।

सांसद कर्णले २००७ देखि २०६२/६३ सम्मका जनआन्दोलनहरूले निर्माण गरेको लोकतान्त्रिक आधारकै कारण आज नयाँ पुस्ताले अवसर पाएको बताए । गौरवपूर्ण विगतसँगै कांग्रेसले केही कमजोरीहरू स्विकार्नै पर्ने कर्णको भनाइ थियो । 

‘संविधान र अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म अपेक्षित रूपमा पुग्न नसकेको, ढिलासुस्ती, नीतिगत अवरोध र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको, र युवालाई देशमै अवसर दिन नसक्दा वैदेशिक रोजगारी बाध्यता बनेको छ,’ कर्णले भने, ‘जनअपेक्षा अनुरूप शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्नु र सुशासन, पारदर्शिता, रोजगारी तथा सामाजिक न्यायमा स्पष्ट मार्गचित्रसहित अघि बढ्न नसक्नु आजको यथार्थ हो ।  यसलाई अब सुधार्नु पर्छ ।’

कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच रहेको र सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति रहेको बताउँदै सांसद कर्णले यी दुईको संयोजनले देशलाई सही गति दिन सक्ने विश्वास व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रण, संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारमा सहकार्य गर्न कांग्रेस तयार रहेको र सकारात्मक प्रस्तावहरूमा पूर्ण समर्थन रहने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप