बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वसन्तपुरमा ज्येष्ठ नागरिकमाथि कुटपिट भएको घटना के हो ?

बुधबार, २५ चैत २०८२, ११ : ५८
बुधबार, २५ चैत २०८२

सारांश

  • काठमाडौँको वसन्तपुरमा एक ज्येष्ठ नागरिकलाई कुटपिट गर्ने प्रकाश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
  • टुरिस्ट गाइडको परिचय पत्र र संस्थामा आबद्धताको विषयमा विवाद हुँदा खत्रीले राम अवतार दासमाथि हातपात गरेका हुन्।
  • प्रहरीले आरोपित खत्रीविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा एक जना ज्येष्ठ नागरिकलाई युवकले अनुहारमा निर्घात कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१० घर भएका ४२ वर्षीय प्रकाश खत्री छन् । 

कुटपिटमा संलग्न खत्री टुरिस्ट गाइड हुन् । भिडियो सार्वजनिक भएपछि खत्रीलाई पक्राउ गरेर ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

खत्रीले कुटपिट गरेका ज्येष्ठ नागरिक राम अवतार दास हुन् । ३७ वर्षदेखि ठमेलमा बस्दै आएका पीडित पनि ‘लोकल टुरिस्ट गाइड’ हुन् ।

प्रहरीले खत्रीलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । दुवै जना टुरिस्ट गाइड भएको हुनाले उनीहरूको बिचमा त्यसैबारे विवाद भएको थाहा भएको छ । 

काठमाडौँको पर्यटकीय क्षेत्रमा काम गर्ने टुरिस्ट गाइडहरू ‘काठमाडौँ प्रिजर्भेसन अर्गनाइजेसन’मा आबद्ध छन् । लोकल टुर गाइड बन्न सो संस्थामा आबद्धता अनिवार्य गरिएको छ । 

तर, राम अवतार दास सो संस्थामा आबद्ध नभईकन गाइडको काम गरेको भन्दै खत्रीले आपत्ति जनाउँदै आएका थिए । अनुसन्धान संलग्न एक जना अधिकृत भन्छन्, ‘पहिलेदेखि नै खत्रीले पीडितको आबद्धता र कार्डबारे प्रश्न उठाएको देखिन्छ ।’

‘काठमाडौँ प्रिजर्भेसन अर्गनाइजेसन’मा आबद्ध भएर परिचयपत्र लिन अस्वीकार गरेको भन्दै दासलाई खत्रीले कुटपिट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्, ‘टुरिस्ट गाइडको परिचय पत्रको इस्यु र अर्गनाइजेसनमा आबद्धता नभएको विषयमा विवाद भएको देखिन्छ ।’

आरोपीमाथि प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप