बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
परिचय

पिताको अथक सङ्घर्ष देखेर हुर्किएकी रुबी सामाजिक अभियन्ता हुँदै उपसभामुख बन्न सफल

शुक्रबार, २७ चैत २०८२, १८ : ४५
शुक्रबार, २७ चैत २०८२

सारांश

  • जनकपुरधामकी २५ वर्षीया रुबी कुमारी प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।
  • सामान्य परिवारमा हुर्किएकी रुबी सामाजिक अभियन्ता हुँदै संसदीय राजनीतिमा प्रवेश गरेकी हुन् ।
  • उनले मधेसका सामाजिक समस्या, दाइजो र महिला हिंसाविरुद्ध कानुन निर्माणलाई आफ्नो प्राथमिकतामा राखेकी छिन् ।

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया निवासी २५ वर्षीय रुबी कुमारी प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन् ।

संसदीय राजनीतिमा पाइला टेक्नासाथ रुबीले उपसभामुखको जिम्मेवारी पाएकी हुन् । यसअघि उनले सामाजिक अभियन्ताका रूपमा काम गरेकी थिइन् ।

पिता सोगारथ ठाकुर र आमा रेणुका ६ सन्तानमध्ये रुबी साइली छोरी हुन् । सामान्य परिवारमा जन्मिएकी रुबीको यो राजनीतिक छलाङको पछाडि उनका बुबाआमाको अथक सङ्घर्षको कथा लुकेको छ ।

rubi house

  • इँटाभट्टादेखि सैलुन हुँदै वैदेशिक रोजगारीमा बुबाको सङ्घर्ष

रुबीका बुबा सोगारथ पहिले जीविकोपार्जनका लागि इँटाभट्टामा काम गर्थे । त्यसपछि उनी पुर्ख्यौली पेसा सैलुन व्यवसायतिर लागे । सैलुनमा कपाल काटेर उनले आठ सदस्यीय परिवारको गुजारा चलाउँथे ।

छोराछोरी हुर्किंदै गएपछि सैलुनको कमाइले परिवार धान्न गाह्रो भयो । त्यसपछि उनी विदेशिन बाध्य भए ।

rubi father

वैदेशिक रोजगारीबाट केही दिन अघिमात्र सोगारथ छुट्टीमा नेपाल आएका छन् । हाल उनी मुजेलियास्थित आफ्नो घरमै छन् ।

सोगारथले भने, ‘छोरी समानुपातिक सांसद बनेको खबर मैले विदेशमै हुँदा थाहा पाएको थिएँ । अहिले उपसभामुखजस्तो जिम्मेवार र गरिमामय पदमा पुगेकी छ, मलाई धेरै खुसी लागेको छ ।’

बिहीबार श्रम संस्कृति पार्टीले आफूलाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गर्नासाथ रुबीले बुबालाई फोन गरिन् । ‘मलाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ,’ रुबीले फोनबाट भनेको कुरालाई उद्धृत गर्दै सोगारथले रातोपाटीसमक्ष भने ।

छोरीले यस्तो सुनाएपछि खुसीको कुनै सीमा नरहेको उनले बताए । सोगारथले आफ्नो त्यो खुसी परिवार र आफन्तसँग बाँडे । बिहीबार साँझ सोगारथको घरमा छरछिमेकका सबै आएर बधाई दिए ।

  • सामान्य घरकी छोरी, ठुलो सपना

रुबीले जनकपुरधाम–१४ स्थित श्री सोहनी माध्यमिक विद्यालयबाट २०७४/०७५ मा एसइई उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले सर्लाहीको बलरास्थित टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ पूरा गरिन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले जनकपुरधाममै वास्तु आर्किटेक्चर कन्सल्टेन्सीमा कामसमेत गरिन् ।

रुबीले रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै पारिवारिक पृष्ठभूमिबारे भनिन्, ‘हाम्रो पुर्ख्यौली घर मुजेलियामा छ । थोरै जग्गामा बनेको एउटा सामान्य घर । आमाले दुई बिघा खेत बटैयामा लिएर खेती गर्नुहुन्छ । एउटा भैंसी पाल्नुभएको छ । त्यसमा हामी सबै दाजुभाइ दिदीबहिनीले सहयोग गर्छौं ।’

बुबाले विदेशबाट मासिक १५–२० हजार रुपैयाँ पठाउने गरेको र सोही पैसाले घर खर्च चल्ने गरेको उनले सुनाइन् ।

rubi kumari

‘दुःख के हो, मैले अनुभव गरेको छु,’ उनले भनिन् । आफूले अब जनताको समस्या समाधानलाई प्राथमिकता दिने उनको भनाइ छ ।

मधेसका समस्या औँल्याउँदै उनले बेरोजगारी, दाइजो, बालविवाह, महिला हिंसा र लैङ्गिक हिंसाविरुद्ध नीति निर्माणको भूमिकामा अग्रसर हुने बताइन् ।

‘दाइजोका कारण छोरीहरूको हत्या हुने, रातदिन प्रताडित हुने समस्या रोक्न संसदबाट कानुन बनाएर अघि बढ्ने मेरो ठुलो प्रण हो,’ उनले भनिन् ।

उपसभामुखको जिम्मेवारीमा रहे पनि आफ्नो पढाइलाई निरन्तरता दिने उनको योजना छ । ‘अध्ययन पनि समय मिलाएर जारी राख्छु,’ उनले भनिन् ।

मधेसमा छोरीको उमेर २५ वर्ष पुगेपछि विवाहका लागि परिवार चटारोमा हुन्छन् । यद्यपि रुबी अहिले विवाह नगर्ने सोचमा छिन् ।

‘म पाँच वर्षसम्म जनताका लागि बुक भइसकेकी छु,’ हाँस्दै उनले भनिन्, ‘पहिले मेरो प्राथमिकता जनताको सेवा हो, त्यसपछि बिहेबारे सोचौँला ।’

रुबीकी आमा रेणु ठाकुर पनि छोरीको उपलब्धिले हर्षित छिन् । उनले भनिन्, ‘हाम्रो घर–परिवारमा कसैको पनि राजनीतिक पृष्ठभूमि थिएन,’ उनले भनिन्, ‘रुबी बाल्यकालदेखि नै सामाजिक काममा अग्रसर थिइन् । पार्टीले यति ठुलो जिम्मेवारी दिएकोमा हामीलाई धेरै खुसी लागेको छ । मधेसकी छोरी, त्यो पनि हाम्रोजस्तो सामान्य परिवारकी छोरीलाई यस्तो सम्मान मिल्नु ठुलो कुरा हो ।’

rubi mother

  • बाल्यकालदेखि नै रुबीमा थियो सामाजिक चेतना

जनकपुर–१४ का वडा अध्यक्ष पुण्यप्रताप यादवका अनुसार रुबी बाल्यकालदेखि नै लगनशील र सचेत थिइन् ।

उनले भने, ‘रुबी ९–१० कक्षामै हुँदा दाइजोका लागि छोरी किन मारिन्छन् ? यसको लागि कडा कानुन किन हुँदैन ? भनेर प्रश्न गर्थिन् । त्यो उमेरमै यस्तो चेतना देखेर अचम्म लाग्थ्यो ।’

स्थानीय सकिला देवी पनि रुबीको सामाजिक चेतनाको प्रशंसा गर्छिन् । उनले भनिन्, ‘रुबी नानी घरघरमा आएर छोरीहरूलाई पढाउनुस्, बालविवाह नगर्नुस् भनेर सम्झाउँथिन् ।’

तिनै रुबी आज ठुलो पदमा पुगेको खबर सुन्दा धेरै खुसी लागेको सकिला देवीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप