बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नयाँ मन्त्री

सीके राउत र उमेश यादवलाई हराउने रामजीलाई श्रम मन्त्रालयको जिम्मेवारी

शुक्रबार, २७ चैत २०८२, २० : ४४
शुक्रबार, २७ चैत २०८२

सारांश

  • सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामजी यादव श्रममन्त्रीमा नियुक्त भएका छन्।
  • उनले प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपाका उमेश यादवलाई पराजित गरेका थिए।
  • इन्जिनियरिङ पृष्ठभूमि रहेका यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन्।

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामजी यादव श्रममन्त्री नियुक्त भएका छन्। सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण गरेर आठ वर्षसम्म रोजगारीसँगै सामाजिक कार्यमा व्यस्त रहेका उनी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेरणाबाट राजनीतिमा आएका हुन्।

वि.सं. २०७० देखि राजनीतिमा सक्रिय रहँदै आएका उनले सन् २०२२ मा भारतको ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रास’बाट इनर्जी सिस्टममा स्नातकोत्तर (मास्टर्स) गरेका छन्। विद्यावारिधि (पिएचडी) का लागि अस्ट्रेलिया जाने तयारीमा रहेका उनी चुनाव घोषणा भएपछि देशमै रोकिएर उम्मेदवार बनेका थिए।

उनले सप्तरी–२ मा जसपा नेपालका उम्मेदवार उमेश यादवलाई १४ हजार १४१ मतान्तरले पराजित गरेका हुन्। २८ हजार ४०४ मत प्राप्त गरी निर्वाचित भएका यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई तेस्रो स्थानमा धकेलेका थिए। जबकि, डा. राउतले वि.सं. २०७९ को चुनाव सोही क्षेत्रबाट जितेका थिए।

उक्त निर्वाचनमा डा. सीके राउत ९ हजार ८८० मत ल्याएर तेस्रो स्थानमा खुम्चिएका थिए। ‘हेभिवेट’ नेता राउतलाई तेस्रो स्थानमा झारेपछि रामजी यादवको चर्चा एकाएक चुलिएको थियो।

अहिले श्रममन्त्रीको जिम्मेवारी पाएपछि उनको चर्चा थप बढेको छ। यसअघि सप्तरी–२ बाट चुनाव जितेका सीके राउत मन्त्री बन्न सकेका थिएनन्, तर पहिलो प्रयासमै चुनाव जितेका यादव मन्त्री बनेपछि यसले धेरैको ध्यान तानेको छ।

सुरुमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा सक्रिय रहेका यादव पछि सो पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। रास्वपाबाटै उम्मेदवारी दिएर ३० वर्षको उमेरमा पहिलो प्रयासमै सांसद बनेका उनले आफ्नो क्षेत्रका जनताका सानादेखि ठुला सबै समस्या समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

परराष्ट्र मामिला, जलवायु नीति र दिगो विकासमा विशेष रुचि राख्ने उनले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन्। सार्वजनिक खरिद नीति तथा प्रक्रियाको अध्ययनमा सक्रिय यादव सप्तरीमा सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन्। उनले नेपाल इन्जिनियर्स एसोसिएसनलगायतका सङ्गठनमा जिल्ला इन्चार्जको जिम्मेवारीमा रही इन्जिनियरहरूको हकहितका लागि आवाज उठाउँदै आएका थिए।

इन्जिनियरिङ अध्ययनका क्रममा कलेजमा मधेस सम्पर्क समितिको उपाध्यक्ष र राजविराज जेसिजको उपाध्यक्षलगायतका पदमा निर्वाचित भएर उनले नेतृत्वदायी भूमिका सम्हालिसकेका छन्। सामान्य किसान परिवारमा जन्मिएका उनका बुवा सुरतलाल यादवको १३ वर्षअघि नै निधन भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप