बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अप्रत्याशित मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा छ : अध्यक्ष पाण्डे

आइतबार, २९ चैत २०८२, १५ : ५७
आइतबार, २९ चैत २०८२

सारांश

  • नेपाल निर्माण व्यवसायी महासङ्घले अप्रत्याशित मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण देशका विकास निर्माणका काम ठप्प हुने स्थितिमा पुगेको बताएको छ।
  • अध्यक्ष निकोलस पाण्डेले इन्धनको उच्च मूल्य र सहज उपलब्धता नहुँदा तथा नदीजन्य सामग्रीको मापदण्ड जटिल बन्दा निर्माण कार्य असम्भव जस्तै भएको उल्लेख गरेका छन्।
  • महासङ्घले व्यवसायीहरूका लागि उचित मूल्य समायोजनको माग गर्दै सरकारसँग लबिङ गरिरहेको र यस हप्ता ठोस निकास निस्कनेमा आशावादी रहेको जनाएको छ।

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले अप्रत्याशित रूपमा भइरहेको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण मुलुकभरका विकास निर्माणका कामहरू अघि बढाउन नसकिने स्थिति आएको बताएको छ । 

महासङ्घका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा काम जारी राख्नु ‘अप्ठ्यारो मात्र नभई असम्भव’ जस्तै भएको बताए ।  अध्यक्ष पाण्डेका अनुसार सडक निर्माणका आयोजनाहरूमा पेट्रोलियमजन्य पदार्थ (बिटुमिन, केरोसिन, र डिजेल) को मात्रै ४० प्रतिशत ‘वेटेज’ रहने गर्दछ । तर, हाल डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको र त्यो पनि बजारमा सर्वसुलभ उपलब्ध हुन नसक्दा निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको उनले बताए । उनका अनुसार एकातिर अहिले इन्धनसहित निर्माणजन्य वस्तु पाउन समेत कठिन भइरहेको छ । 

पाण्डेले खासगरी नदीजन्य सामग्री (ढुङ्गा, गिटी, बालुवा) उत्खननका लागि बनाइएका मापदण्डहरू अत्यन्तै जटिल भएकाले त्यस्ता सामग्री पाउन समेत गाह्रो भइरहेको बताए । उनका अनुसार जिल्लाका स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूले ठ्याक्कै काम गर्ने सिजन सुरु भएपछि मात्र क्रसरहरूलाई अवैध देख्ने गरेका छन् । वातावरणमा न्यूनतम क्षति नपुग्ने गरी विकासका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा उत्खनन गर्न पाउने गरी व्यावहारिक मापदण्ड बनाउनुपर्ने उनले बताए । ती सामग्रीहरू कसैको व्यक्तिगत घरका लागि नभई राष्ट्रिय गौरवका सडक र पुल निर्माणमा प्रयोग हुने भएकाले राज्यले यसलाई रोक्न नहुने उनको तर्क छ ।

अध्यक्ष पाण्डेले भने– ‘सबैभन्दा पहिला अप्रत्याशित रूपमा मूल्यवृद्धि भएको छ । सडक बनाउँदा ४० प्रतिशतसम्म वेटेज पेट्रोलियमजन्य पदार्थ हुन्छ । बिटुमिन, केरोशिन, डिजेलको वेटेज ४० प्रतिशतसम्म हुन्छ । आजको दिनमा डिजेलको भाउ २०२ रुपैयाँ प्रतिलिटर भएको र त्यो पनि सर्वसुलभ उपलब्ध हुन सकिरहेको छैन । जसकारण काम गर्न अप्ठ्यारो मात्रै होइन करिब करिब असम्भव जस्तै छ ।’

अध्यक्ष पाण्डेले मध्यपूर्वमा देखिएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि बढिरहेको सन्दर्भमा महासङ्घ नेतृत्वले आफ्ना व्यवसायीहरूको समस्या समाधानका लागि लविङ गरिरहेको बताए । अध्यक्ष पाण्डेका अनुसार हालको परिस्थितिमा महासङ्घ नेतृत्वले काम गर्न नसक्ने व्यवसायीहरूलाई काम नगर्न भनिएको छ र उनीहरूको म्याद थपका लागि महासङ्घले पहल गर्नेछ ।

त्यस्तै, महासङ्घले हाल काम गरिरहेका व्यवसायीहरूका लागि ‘उचित मूल्य समायोजन’ को माग गर्दै लबिङ सुरु गरेको समेत पाण्डेले बताए । उनकाअनुसार हाल प्रचलनमा रहेको मूल्य समायोजन इन्डेक्सले अहिलेको महँगी धान्न सक्दैन । उचित समायोजन गर्नेगरी लविङको काम भइरहेको छ । 

भौतिक पूर्वाधार, सहरी विकास मन्त्रीले उचित मूल्य समायोजन गरिदिने प्रतिबद्धता जनाएको पाण्डेले जानकारी दिँदै यसै हप्ताभित्र केही न केही ठोस निकास निस्कनेमा आफूहरू आशावादी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप