आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक पूर्वसैनिकको शिक्षाः काँधमा बन्दुक, १३८ वटा डिग्री र ३ वटा पीएचडी

सोमबार, ३० चैत २०८२, १९ : १७
सोमबार, ३० चैत २०८२

सारांश

  • राजस्थानका पूर्वसैनिक दशरथ सिंहले सेनामा कार्यरत रहँदा नै शिक्षालाई निरन्तरता दिँदै तीनवटा पीएचडी र १३८ वटा डिग्री हासिल गरेका छन्।
  • उनी संसारकै सबैभन्दा धेरै शैक्षिक योग्यता भएका व्यक्ति मानिन्छन् र उनको नाम इन्टरनेसनल बुक अफ रेकर्डमा दर्ता छ।
  • दशरथ सिंहले आफ्नो ड्युटीको समय व्यवस्थापन गर्दै कठिन परिस्थितिमा पनि पढाइप्रतिको लगावलाई कायम राखेका छन्।

राजस्थान । सरकारी जागिर पाएपछि प्रायः मानिसहरू थप पढाइ छोड्छन् । सेनामा भर्ती हुनु त झन् कठिन हुन्छन्, तर भारत राजस्थानको झुन्झुनु जिल्लाका पूर्वफौजी दशरथ सिंहको कथा भने फरक छ । 

सेनामा रहँदा उनले आफ्नो पढाइलाई निरन्तरता मात्र दिएनन्, तीन वटा पीएचडी र १३८ वटा डिग्री, डिप्लोमा र प्रमाणपत्रहरू हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । उनको सफलताको कथाले लाखौं युवालाई शिक्षाप्रति प्रेरित गरिरहेको छ ।

राजस्थानको एक साधारण परिवारबाट आएका दशरथ सिंह शेखावतको नाम आज इन्टरनेसनल बुक अफ रेकर्डमा दर्ता छ । विभिन्न विषयहरूमा १३८ वटा डिग्री, डिप्लोमा, प्रमाणपत्र र तीनवटा पीएचडी गरेपछि डा. दशरथ सिंह शेखावत संसारकै सबैभन्दा धेरै पढेलेखेका व्यक्ति बनेका छन् । 

इन्टरनेसनल बुक अफ रेकर्डद्वारा २०१९ अक्टोबर १७ मा उनलाई ‘मोस्ट एजुकेसनल्ली क्वालिफाइड पर्सन’ (सर्वाधिक शैक्षिक योग्यता भएका व्यक्ति) को रूपमा सम्मानित गरिएको थियो । पूर्वसैनिक डा. दशरथ सिंहसँग १३८ वटा डिग्री, डिप्लोमा र प्रमाणपत्रका साथै तीन वटा पीएचडी डिग्रीहरू छन् । यसमा विभिन्न विषयहरूमा ७ वटा स्नातक डिग्री, ४६ वटा स्नातकोत्तर डिग्री, २३ वटा डिप्लोमा, ५२ वटा सर्टिफिकेट कोर्स, सात वटा मिलिट्री स्टडीजका डिग्रीहरू र तीनवटा भिन्न–भिन्न विषयहरूमा पीएचडी समावेश छन् । 

dass

हालै ५५ वर्षीय पूर्वसैनिक डा. दशरथलाई इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा वैदिक अध्ययनमा स्नातकोत्तर डिग्रीबाट सम्मानित गरिएको छ । राजस्थानको झुन्झुनु जिल्लाको नवलगढ तहसीलको खिरोड गाउँका दशरथ एक साधारण परिवारबाट आएका हुन् । उनलाई बाल्यकालदेखि नै पढ्ने सोख थियो । प्रारम्भिक शिक्षा गाउँकै सरकारी विद्यालयबाट प्राप्त गरे । कुनै न कुनै तरिकाले दशौं कक्षा त पास गरे, तर कलेजमा टप गरेपछि पनि थप पढाइलाई निरन्तरता दिन सकेनन् । किनकि परिवार ठूलो थियो र आर्थिक अवस्था राम्रो थिएन । थप पढाइलाई निरन्तरता दिन पैसा थिएन । 

सन् १९८८ मा सेनामा भर्ती भएपछि दशरथ सिंहलाई अगाडिको पढाइ पूरा गर्न नसकेको कुराले सताइरहन्थ्यो । त्यसैले उनले सेनामा आफ्नो ड्युटीका साथसाथै पढ्ने निर्णय गरे । एक अन्तर्वार्तामा पूर्व सैनिक डा. दशरथ सिंहले भनेका थिए, ‘म १६ वर्षको सैन्य सेवामा सहरमा बसिनँ । बन्दुक चलाउने व्यक्ति भएर सीधै सीमामै रहेँ । १६ वर्षसम्म मेरो सबै सरसामान मेरो ढाडमै रह्यो । मलाई कहिल्यै राति बत्तीमुनि कोठामा बसेर पढ्ने ठाउँ मिलेन । मैले समय हेरेँ, दिउँसो छ र अहिले मेरो ड्युटी छैन । मसँग दुई घण्टा छ र एक घण्टा पढ्न सक्छु । यसरी मैले समयलाई व्यवस्थापन गरेर र मिलाएर पढाइ गरेँ ।’ 

एक पोडकास्ट अन्तर्वार्तामा डा. दशरथलाई १३८ वटा डिग्री, डिप्लोमा, प्रमाणपत्र र तीनवटा पीएचडी हासिल गर्नुको पछाडि के कारण थियो भनेर सोधिएको थियो । तब उनले यसको मूल कारण केवल सिक्नु र विभिन्न क्षेत्रमा ज्ञान आर्जन गर्नु भएको बताए । उनले बीए आट्र्समा पहिलो डिग्री हासिल गरे र डिग्रीहरू लिने क्रम सुरु गरे । 

dfkdfj

सेनाबाट अवकाश पाएपछि पढाइप्रतिको लगाव झनै बढ्यो

सन् २००४ मा सेनाबाट अवकाश पाएपछि पढाइप्रतिको उनको लगाव अझ प्रबल हुँदै गयो । आफ्नो तेस्रो पीएचडी डिग्रीबारे बताउँदै डा. दशरथले भनेका थिए, ‘तेस्रो पीएचडी डिग्री महिला सशक्तीकरणसँग सम्बन्धित छ, जसलाई शिक्षासँग जोडेर हेरिएको छ । पुरुषप्रधान समाजमा महिलाहरूको स्थिति के छ, महिलाहरू घुम्टोमा बस्छन् र महिलाहरूमा शिक्षाको स्तर आज पनि कम छ, मानिसहरू आज पनि छोरीहरूलाई पढाउन चाहँदैनन् ।’ 

हाल उनी एलएलबी र एलएलएम गरेपछि अहिले सेवारत तथा अवकाशप्राप्त सैनिकलाई कानुनी सहयोग गर्ने काममा संलग्न छन् । साधारण सैनिक बनेर सेवा प्रवेश गरेका उनी १६ वर्षमा नन कमिसन्ड अफिसर बनेर सेवाबाट बाहिरिएका थिए । 

पूर्वसैनिक डा. दशरथ सेनामा ड्युटीको समयमा होली वा दिपावलीको सट्टा अप्रिल–मे महिनामा बिदा लिन्थे, किनकि त्यही बेला अधिकांश परीक्षाहरू हुन्थे । उनको कथा पढाइप्रतिको झुकावको एउटा जीवन्त उदाहरण हो । 

नवभारत टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप