शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसियामा वायु प्रदूषणः तेस्रो ध्रुवको हिमनदी पग्लने चुनौती

सोमबार, ३० चैत २०८२, १९ : ५३
सोमबार, ३० चैत २०८२

सारांश

  • दक्षिण एसियाको वायु प्रदूषणले तेस्रो ध्रुवका हिमनदीहरूलाई प्रदूषित बनाउँदै हिउँ पग्लने दरलाई तीव्र पारिरहेको छ।
  • वायुमण्डलीय खैरो बादल र विभिन्न विषाक्त तत्वहरूको निक्षेपणले यस क्षेत्रको पानीको स्रोत र सार्वजनिक स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ।
  • हिमनदीमा जम्मा भएका प्रदूषकहरू पग्लिएर नदी प्रणालीमा मिसिँदा तल्लो तटीय क्षेत्रका अरबौं मानिसको जनजीवन प्रभावित हुने खतरा बढेको छ।

नेपालमा सुक्खायाममा खुला जैविक दहन, वन डढेलो, औद्योगिक गतिविधि र सवारी साधनको धुवाँले वायुमण्डलीय प्रदूषण चुलिँदै गएको छ । यसको फलस्वरूप श्वासप्रश्वाससम्बन्धी रोगहरु बढेका छन् । यो समस्या केवल नेपालको मात्र नभई सम्पूर्ण दक्षिण एसियाकै गम्भीर संकट हो । 

इन्डो–गंगेटिक मैदान (गङ्गा र इन्दुज नदी वरपरको समथर भूभाग, जुन पाकिस्तान, भारत, नेपाल र बङ्गलादेशसम्म फैलिएको छ) बाट उत्सर्जित प्रदूषकले ‘तेस्रो ध्रुव’ (हिमालय–तिब्बती पठार) प्रदूषित बनाइरहेको छ । तेस्रो ध्रुव एन्टार्कटिक र आर्कटिकपछि पृथ्वीको सबैभन्दा ठूलो हिमनदी क्षेत्र हो । यो विश्वकै सबैभन्दा ठूलो उच्च पहाडी पारिस्थितिक प्रणाली हो, जुन तिब्बती पठारसहित विभिन्न हिमाली शृङ्खलामा फैलिएको छ र पचास लाख वर्ग किलोमिटरमा विस्तारित छ । यसले करिब १ लाख वर्ग किलोमिटर हिमनदी र १२ हजारभन्दा बढी तालहरू समेट्छ । यी नदी प्रणालीहरू अरबौं मानिसको पानीको स्रोत हुन्, जसलाई ‘वाटर टावर अफ एसिया’ पनि भनिन्छ । नेपालको खुम्बु, अन्नपूर्ण, माछापुच्छ्रे, लाङटाङ लगायतका हिमाल तथा हिमनदीहरू तेस्रो ध्रुवको अत्यन्त महत्वपूर्ण अंश हुन् । 

यस क्षेत्रको वैज्ञानिक अध्ययन अनुसार नाइट्रोजन युक्त एरोसोल, भारी धातु, पारो, माइक्रोप्लास्टिक र कालो कार्बनको मात्रा तीव्र रूपमा बढ्दै छ । दक्षिण एसियाली देशहरूबाट आउने वायु प्रदूषणले तेस्रो ध्रुवमा गम्भीर असर पुर्याइरहेको छ । यसरी, यो नेपालको स्थानीय समस्या मात्र नभई समग्र दक्षिण एसिया र तेस्रो ध्रुवकै दीर्घकालीन संकट हो । 

वायुमण्डलीय खैरो बादलः विषाक्त मिश्रण

सुख्खा याममा प्रदूषकको सान्द्रता मनसुनको तुलनामा १.५–५ गुणा बढी हुन्छ । यसको मूल कारण दक्षिण एसियाको ‘वायुमण्डलीय खैरो बादल’ (धुलो, औद्योगिक गतिविधि, सवारी साधन,  जैविक दहन, र वन डढेलो बाट निस्किने धुवाँको मिश्रण) हो, जसले तापक्रम बढाउँछ । यो बादल इन्डो–गंगेटिक मैदानमा विकसित हुन्छ । मनसुनले वर्षासँगै खैरो बादलमा मिसिएको प्रदूषक हिमनदीमा निक्षेपित गर्छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा अनियमित बन्दै गएको छ, जसले निक्षेपण प्रणाली अप्रत्याशित बनाएको छ । यो जलवायु परिवर्तनसँग प्रत्यक्ष जोडिएको छ । 

हिमालको दक्षिण र उत्तरः भिन्न प्रदूषण

हिमालले उत्तरी र दक्षिणी भागमा अत्यन्त फरक जलवायु सिर्जना गरेको छ । उत्तरी भाग (तिब्बती पठार) सुख्खा, मरुभूमिसरी छ भने दक्षिणी भाग (नेपाल, भारत, बङ्गलादेशको क्षेत्र) हरियाली र ओसिलो छ । उत्तरी ढलानमा वर्षा अत्यन्त न्यून हुन्छ, जनघनत्व पातलो र मानवीय गतिविधि न्यून छ । दक्षिणी ढलानमा भारी वर्षा, उच्च आद्र्रता, घना जङ्गल र बाक्लो मानव बस्ती छ । यहाँ औद्योगीकरण, सहरीकरण, खेतीपाती र पर्यटनको चहलपहल रहन्छ । 

दक्षिणी भागमा सल्फेट, नाइट्रेट र अमोनियम यातायात, औद्योगिक र कृषि स्रोतबाट आउँछन् । पारो, तामा, टिन, आर्सेनिक, क्याडमियम र निकेलको मात्रा उच्च छ । नाइट्रोजन निक्षेपण थ्रेसहोल्डभन्दा धेरै माथि छ । अधिकांश प्रदूषक स्थानीय स्रोतबाट आई हावाको मद्दतले हिमाल पारी पुग्छन् । उत्तरी भागमा भूपटलको धुलोको प्रभाव बढी हुन्छ । तर तिब्बतको ल्हासा, नाम्त्सोमा भारतीय मनसुनले दक्षिण एसियाबाटै प्रदूषक ल्याएको छ । हिमालले प्रदूषक रोके पनि पर्वतीय वायु उत्थान, हिमनदी हावा र हिमाली घाटीबाट ती प्रदूषक तिब्बती पठारभित्र पुग्छन् । मध्य–अक्षांशीय पश्चिमी हावाले मध्य एसियाबाट पनि प्रदूषक ल्याउँछ । जलवायु परिवर्तनले हावाको प्रवाह परिवर्तन गर्दै गर्दा प्रदूषकको लामो–दूरीको यात्रा झन् जटिल बन्दै गएको छ । 

पारोः स्नायु–विषाक्त तत्त्व

पारो एउटा स्नायु विषाक्त तत्त्व हो, जसको जैविक संचयन र जैविक आवर्धन हुन्छ । उत्तरी तिब्बतमा पारोको स्तर अमेरिका र दक्षिण कोरियाका प्रदूषित सहरहरू बराबर पाइएको छ । मुख्य स्रोत मानवजनित गतिविधि नै हो । दक्षिणी पठारमा पारो प्राकृतिक थ्रेसहोल्डभन्दा निकै माथि छ, जुन इन्डो–गंगेटिक मैदानको कोइला दहन, इँटा भट्टा र सवारी साधनको उत्सर्जनसँग जोडिएको छ । काठमाडौं र ल्हासामा सिमेन्ट कारखाना र धार्मिक क्रियाकलापले विश्वकै उच्च पारो स्तर देखाएको छ । अधिकांश स्थानमा ५९–९३% पारो कण–बद्ध अवस्थामा हुन्छ । बढ्दो तापक्रमले पारोलाई हिमनदीबाट पुनः सक्रिय गराउन सक्छ, जसले जलवायु परिवर्तन र प्रदूषणबीच खतरनाक अन्तरसम्बन्ध देखाउँछ । 

कालो कार्बनः हिमनदी पग्लने तीव्रता

जीवाश्म ईन्धन (४६%) र जैविक दहन (५४%) लगभग बराबर स्रोत हुन् । कालो कार्बनले हिउँको अल्बेडो (प्रतिबिम्बन क्षमता) घटाउँछ, जसले गर्दा गाढा बरफले बढी सूर्यको प्रकाश अवशोषित गर्छ । १०–२० एनजी/ग्राम कालो कार्बनले प्रतिबिम्बन क्षमता ५–१०% घटाउँछ । अधिकतम निक्षेपणमा हिमालयमा २०–४०% सम्म प्रतिबिम्बन क्षमता कमी रेकर्ड गरिएको छ, जसले अतिरिक्त १५–३०% हिउँ पग्लन निम्त्याउँछ । चार हजार मिटरभन्दा माथि प्रति दशक ०.३ देखि ०.७ डिग्री सेल्सियस तापक्रम बढिरहेको छ, जुन विश्वव्यापी औसतको करिब दोब्बर हो । पग्लँदै गर्दा हिमनदीले ‘विरासत प्रदूषक’ नदीमा छोड्छ । हिमनदीको अग्र–तालमा प्रदूषकको मात्रा बरफको तुलनामा ५ देखि ५० गुणासम्म बढी हुन सक्छ, जसलाई बैज्ञानिकले  ‘प्रदूषक प्रवाह’ भन्ने गरेका छन् । 

वर्षाको पानीः जोखिममा सार्वजनिक स्वास्थ्य

दक्षिण एसियाको समथर भूभागमा लाखौं मानिस भूमिगत पानी आर्सेनिक लगायतका विषाक्त पदार्थले प्रदूषित भएकाले वर्षाको पानी सङ्कलन गर्न बाध्य छन् । यस क्षेत्रमा पहिलो पटक अनुसन्धानकर्ताले वायुमण्डलीय निक्षेपणलाई सार्वजनिक स्वास्थ्यको मापदण्डमा अनुवाद गरेका छन् । यसको सबैभन्दा ठूलो जोखिम बालबालिकामा देखिएको छ, किनभने उनीहरूमा गैर–क्यान्सर जोखिम वयस्कभन्दा उच्च हुन्छ । बङ्गलादेशको दिनाजपुरमा वयस्कको क्यान्सर जोखिम स्वीकार्य सुरक्षा सीमाको ९९.६ प्रतिशत नजिक छ भने नेपालको कोशी क्षेत्र पनि संवेदनशील छ । यसो हुनुमा निकल प्रमुख कार्सिनोजेनको रूपमा रहेको छ, जसले दक्षिण एसियाका धेरै स्थानमा कुल जोखिमको ६४ देखि ७८ प्रतिशत ओगट्छ । पूर्वी नेपालको तराई क्षेत्र पनि सोचनीय अवस्थामा छ । विभिन्न धातुहरूको संयोजनले एकल धातुको तुलनामा ३ देखि १० गुणा बढी स्वास्थ्य प्रभाव पार्न सक्छ । तर हालको जोखिम मूल्याङ्कनले यी यथार्थलाई समेट्न नसक्दा वास्तविक खतरा कम आकलन भइरहेको छ ।  

प्रदूषकको बाटोः नदी उपत्यका नै राजमार्ग

स्थिर आइसोटोप अध्ययनको विश्लेषण अनुसार गण्डकी, कोशी र ब्रह्मपुत्र उपत्यकाले प्रदूषकको लागि राजमार्गको काम गर्छन् । भारतीय मनसुन मार्फत प्रदूषक हिमाल छिचोल्दै तिब्बती पठारभित्र पुग्छन् । गैर–मनसुनमा पश्चिमी हावाले मध्य एसिया र मध्य पूर्वबाट धुलो र प्रदूषक ल्याउँछ । तैपनि कम्प्युटर मोडेल र वास्तविक निक्षेपणबीच ठूलो अन्तर छ, जसले व्यवस्थित र लामो क्षेत्रीय अनुगमन सञ्जालको आवश्यकता देखाउँछ । केही अध्ययनले ठूला रूखहरूले प्रदूषक रोक्छन् भन्छन्, जसलाई ‘फोरेस्ट फिल्टर प्रभाव’ भनिन्छ, तैपनि ती प्रदूषक अन्ततः हिमनदीमै पुग्छन् । त्यसैले फोरेस्ट फिल्टर प्रभावको गहन बैज्ञानिक अनुसन्धानको महत्त्व औंल्याइएको छ ।

अनुसन्धानकर्ताका पाँच प्राथमिकता 

बैज्ञानिक अनुसन्धानकर्ताले, विशेषगरी चीनको तिब्बत, भारत, नेपाल, र बङ्गलादेशको गरिएका अध्ययनहरूको आधारमा, निम्न पाँच कार्य–प्राथमिकता प्रस्ताव गरेका छन्ः 

पहिलो, पानी सुरक्षा योजनामा वायुमण्डलीय निक्षेपणलाई अनिवार्य रूपमा समावेश गर्ने । दोस्रो, स्रोतमै उत्सर्जन नियन्त्रण गर्ने, जस्तै इन्डो–गंगेटिक मैदानका इँटा भट्टा, जीवाश्म ईन्धन, जैविक दहन, र उद्योगमा कडा मापदण्ड लागु गर्ने । तेस्रो, अन्तर–सीमीय अनुसन्धान र सहकार्य बलियो बनाउने, क्षेत्रीय सम्झौता र संयुक्त हिममण्डल अनुगमन सञ्जाल निर्माण गर्ने । चौथो, दिगो विकास लक्ष्यसँग पङ्क्तिबद्धता कायम गर्दै लक्ष्य ३ (स्वास्थ्य), ६ (पानी), ७ (ऊर्जा), ११ (सहर) र १३ (जलवायु) सँग प्रत्यक्ष जोडिएर अनुसन्धानमा जोड दिने । पाँचौं, तथ्यांकको खाडल सम्बोधन गर्ने, तिब्बती पठार र दक्षिण एसियामा संयुक्त अनुसन्धान बढाउने, आइसोटोपिक अध्ययनलाई प्राथमिकता दिने, र क्रायोकोनाइट (हिमनदीको भित्री खैरो भाग) को अध्ययन गर्ने ।

निष्कर्ष

हिमनदीहरू जमेको ताजा पानीका विशाल जलाशय हुन् । ती पग्लँदै जाँदा लामो समयसम्म जम्मा भएका विरासत प्रदूषक बाहिर निस्किन्छन् र नदी मार्फत तल्लो भागमा अरबौं मानिसको जीविका तथा वातावरणसँग जोडिन्छन् । तेस्रो ध्रुव अब यातायात र औद्योगिक उत्सर्जनको जम्मा हुने अन्तिम  ठाउँ  बनिसकेको छ । जलवायु परिवर्तनले यस प्रक्रियालाई थप तीव्र बनाएको अध्ययनले बताउँछ । बढ्दो तापक्रम, हिमनदी पग्लने दर र चरम मौसमी परिवर्तनका घटनाहरूले प्रदूषकको प्रभावलाई झनै भयावह बनाइरहेका छन् । यसको पूर्ण असर बुझ्न अझै वैज्ञानिक अनुसन्धान आवश्यक छ, तर अन्तर–सीमीय सहकार्य गर्न अब ढिला गर्नु हुँदैन ।
लेखक अधिकारी  
अनुसन्धानकर्ता, तेस्रो ध्रुव वातावरण अनुसन्धान केन्द्र, लान्झोउ विश्वविद्यालय, चीन
पूर्व सदस्य, गण्डकी प्रदेश नीति तथा योजना आयोग  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सुबास अधिकारी
डा. सुबास अधिकारी
लेखकबाट थप