बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा

मङ्गलबार, ०१ वैशाख २०८३, २२ : ४७
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • बिहारका मुख्यमन्त्री नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन्।
  • राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ।

काठमाडौँ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् । लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिएका हुन् ।

राजीनामापछि सामाजिक सञ्जाल एक्समा एक बयान जारी गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले बिहारमा बन्ने नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो राजनीतिक घटनाक्रम नीतीश कुमार हालै बिहारबाट राज्यसभाका लागि सांसद पदमा निर्वाचित भएपछि आएको हो । उनले राज्यसभा सदस्यको रूपमा शपथ पनि लिइसकेका छन् ।

सन् २००० मा पहिलो पटक केवल सात दिनका लागि मुख्यमन्त्री बनेका नीतीश कुमारको बिहारमा लामो र प्रभावकारी शासनकाल सन् २००५ को नोभेम्बर महिनाबाट सुरु भएको थियो । आफ्नो २१ वर्ष लामो शासनकालमा बिहारमा गरेका सुधारका कार्यहरूका कारण उनलाई ‘सुशासन बाबु’ को उपनामले पनि चिनिन्थ्यो ।

यद्यपि, पछिल्ला केही वर्षहरूमा बारम्बार राजनीतिक गठबन्धन परिवर्तन गरेका कारण उनको वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठ्दै आएको थियो र उहाँ आलोचित समेत बनेका थिए ।

नीतीश कुमारको राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ र आगामी राजनीतिक समीकरण कस्तो बन्नेछ भन्ने विषयमा चासो बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप