बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालगञ्जमा रहेको कर्णालीको प्रहरी तालिम केन्द्रलाई पश्चिम सुर्खेतमा सार्ने चर्चा

रास्वपाका सांसदले गरे स्थलगत अनुगमन
बिहीबार, ०३ वैशाख २०८३, १२ : ००
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई पश्चिम सुर्खेतको पञ्चपुरीमा सार्ने तयारी सुरु भएको छ।
  • सांसद रमेशकुमार सापकोटाले दुलालथाई क्षेत्रको स्थलगत अनुगमन गर्दै एक महिनाभित्र जग्गा प्राप्ति प्रक्रिया पूरा गर्ने बताएका छन्।

सुर्खेत । देश सङ्घीय संरचनामा गएको झन्डै एक दशक हुन लाग्दा पनि प्रदेशमै हुनुपर्ने कतिपय संरचना कर्णालीले पाउन सकेको छैन ।

कर्णालीको प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र लगायत अन्य शाखा अझै नेपालगञ्जमा छन् । प्रदेश प्रहरी तालिम केन्द्र कर्णालीमा सार्ने तयारी सुरु भएको लामो समय हुँदासमेत त्यो कामले पूर्णता पाएको छैन ।

लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई आफ्नै प्रदेशमा सार्न आवश्यक कानुनी प्रक्रिया यसअघि नै थालिएको चर्चा थियो ।

प्रहरी तालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा त्यति जग्गा नभएपछि पश्चिम पञ्चपुरी–८ को दुलालथाई मौरीडाँडा सामुदायिक वनमा तालिम केन्द्र स्थापना गर्ने तयारी यसअघि थियो ।

त्यहाँ वन क्षेत्र भए पनि प्लटिङ गरिएको साढे २२ बिघा जमिन छ । हरेक हिसाबले त्यहाँ उपयुक्त ठाउँ रहेकाले तालिम केन्द्र सोही स्थानमा सार्ने तयारी गरेको चर्चा थियो, तर बिचैमा रुकुम पश्चिमको चौरजहारीमा सार्ने तयारी भयो ।

राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको नीति तथा कार्यक्रमै चौरजहारीमा प्रहरी तालिम केन्द्र सार्ने तयारी गरे पनि त्यसपछि उक्त विषय सेलाएको थियो ।

बुधबार सुर्खेत–२ बाट प्रतिनिधि सभा निर्वाचित सांसद रमेशकुमार सापकोटाले दुलालथाईमै तालिम केन्द्र सार्ने भनेर अनुगमन गरेका छन् । उनका अनुसार, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र दुलालथाईमै सार्ने तयारी भएको छ ।

‘हो, यसअघि रुकुम पश्चिमबारे पनि चर्चा भएको हो, तर अहिले यतै बनाउने तयारी भइसकेको छ,’ सांसद सापकोटाले रातोपाटीसँग भने, ‘आज मैले त्यहीँ पुगेर अनुगमन पनि गरेँ ।’

अबको करिब एक महिनाभित्रै जग्गा प्राप्ति प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाउने तयारी भएको उनले बताए ।

दुलालथाईमै तालिम केन्द्र सार्ने भए पनि वन क्षेत्र भएकाले गृहबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका लागि वन मन्त्रालयमा पत्र पठाउनुपर्ने हुन्छ ।

उसो त दुलालथाईमा तालिम केन्द्रका लागि जग्गा हेर्ने काम तीन वर्षअघि नै भइसकेको थियो । यद्यपि त्यसपछिका प्रदेश प्रहरी प्रमुख, प्रदेशका मन्त्री, राजनीतिक नेतृत्वले त्यसलाई बेवास्ता गरे ।

हृदयराम थानी सांसद हुँदा उनले संसदमै यसबारे आवाज उठाएका थिए । यो तालिम केन्द्र आवश्यक ज्ञान, सिप र कौशल प्रदान गरी सक्षम र दक्ष प्रहरी तयार गर्न विभिन्न आधारभूत तथा उन्नत तालिम सञ्चालन गर्ने उद्देश्यले २०२३ सालमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रूपमा स्थापना गरिएको थियो ।

०३८ सालको प्रशासनिक क्षेत्रीय पुनर्संरचना पश्चात मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रूपमा यसलाई अघि बढाइयो ।

०७२ को संविधान जारी भए पश्चात राज्यको पुनर्संरचना भएसँगै कर्णाली प्रदेशको मातहत रहने गरी तालुक प्रहरी प्रधान कार्यालय प्रशासनको पत्र आदेशानुसार नेपालगञ्ज उप–महानगरपालिका –१८ कारकाँदोमा प्रदेश प्रहरी तालिम केन्द्र छ । त्यहाँ १५ बिघा २.५ धुर जमिनमा रहेको यो तालिम केन्द्रको भौतिक संरचना भने जीर्ण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप