शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपा नेता उप्रेतीद्वारा पदबाट राजीनामा

बिहीबार, ०३ वैशाख २०८३, २१ : १२
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पद तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
  • उनले निर्वाचनमा पार्टीले बेहोरेको कमजोर नतिजाको नैतिक जिम्मेवारी लिँदै पार्टीको विधान बमोजिम पद त्याग गरेका हुन्।
  • उप्रेतीले पार्टीको संगठनात्मक संरचना र कार्यशैलीमा सुधारको आवश्यकता औँल्याउँदै नयाँ महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पद लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

उप्रेतीले पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन समक्ष राजीनामा पेश गर्दै पार्टीको विधान, २०४८ (२०७८ मा संशोधित) को धारा ४९ बमोजिम पद त्याग गरेको जनाएका हुन्। उनले पार्टीभित्र रहेका अन्य सबै तहगत जिम्मेवारी तथा सक्रिय सदस्यताबाट समेत अलग हुने निर्णय गरेका छन्।

उनले हालै सम्पन्न केन्द्रीय संसद् निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा बेहोरेको सन्दर्भमा आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, आफूले बुझाउनुपर्ने लेवी रकम २०८२ चैतसम्म पूर्ण रूपमा बुझाइसकेको पनि जानकारी दिएका छन्।

उप्रेतीले निर्वाचन परिणामले पार्टीको संगठनात्मक संरचना, कार्यशैली, निर्णय प्रक्रिया तथा सञ्चालन पद्धतिमा गहिरो आत्म मूल्याङ्कनको आवश्यकता देखाएको बताएका छन्।

उनका अनुसार वडा तहदेखि केन्द्रीय तहसम्म संगठनात्मक सुदृढीकरणमा कमजोरी, सामूहिक निर्णय प्रक्रियामा प्रभावकारिताको अभाव, तथा पार्टीलाई एकीकृत र अनुशासित रूपमा अगाडि बढाउन नसकिएको अवस्था उजागर भएको छ।

उनले समान वैचारिक आधार भएका विभिन्न समूह, अभियान तथा व्यक्तिहरूलाई एकै प्लेटफर्ममा समेट्न नसकिएको अवस्थाले पनि पार्टीभित्र समन्वय, नेतृत्व र रणनीतिक विस्तारमा सुधार आवश्यक रहेको औँल्याएका छन्। साथै जनसरोकारका विषयहरू—शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक अवसर र सुशासन—मा स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

पार्टीभित्र देखिने आन्तरिक खिचातानी, गुटबन्दी र व्यक्तिगत स्वार्थ अन्त्य गर्दै एकीकृत संगठन निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ। 

साथै २०७८ मा सम्पन्न पछिल्लो महाधिवेशनपछि नयाँ महाधिवेशनमार्फत संगठनात्मक पुनर्संरचना अपरिहार्य भएको पनि उनले उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप