बुटवलमा अतिक्रमण गरी बनाइएका संरचना धमाधम हटाइँदै
बुटवल । बुटवल उपमहानगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान तीव्रताका साथ अघि बढाएको छ । सडक पेटी अतिक्रमण गरेर बनाइएका फुटपाथ व्यापार, ठेला व्यवसाय हटाउने अभियान तीव्र पारिएको उपमहानगरपालिकाले जनाएको छ।
गत बुधबारदेखि सुरु गरिएको अभियान आज पनि जारी छ। बजार क्षेत्रमा जथाभावी सामान राख्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँड्डुलमा समस्या भएपछि उपमहानगरले ‘सडक खुला अभियान’ अघि बढाएको हो।
अभियान अन्तर्गत आज बसपार्कदेखि चौराहासम्म सडक अतिक्रमण गरेर राखिएका सामग्री हटाइएको छ। यसअघि बुधबार भुर्कीचोक, अस्पताल लाइन लगायतका क्षेत्रमा डोजर प्रयोग गरी सडक कब्जा गरेर राखिएका सामान हटाइएको थियो भने हिजो राममन्दिर र अमरपथ क्षेत्र पनि खाली गराइएको थियो।
उपमहानगरपालिकाकी उपमेयर सावित्रा देवी अर्यालका अनुसार वैशाख २ गतेदेखि सुरु गरिएको अभियान हरेक दिन बेलुका ४ बजेपछि सञ्चालन भइरहेको छ।
“रुट अनुसार अनावश्यक रूपमा सडकमा राखिएका सामग्री क्रमशः हटाउँदै जानेछौँ,” उनले भनिन्। उपमहानगरले यसअघि नै व्यवसायी, सङ्घ–संस्था तथा सरोकारवालासँग छलफल गरी सहमति जुटाएको जनाएको छ। पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर हटाउनुपरेको नगरपालिकाको भनाइ छ।
उपमहानगरपालिकाका अनुसार यस अभियानले बुटवललाई थप व्यवस्थित, सुरक्षित र आकर्षक शहर बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण