ऊर्जा सङ्कट टार्न ट्रम्प प्रशासनको यूटर्न : रुसी तेल खरिदका लागि फेरि दियो एक महिने छुट
वासिङ्टन डिसी । विश्वव्यापी रूपमा बढ्दै गएको इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकी ट्रम्प प्रशासनले प्रतिबन्धित रुसी तेल खरिदका लागि दिइएको छुट लाई पुनः नवीकरण गरेको छ । रुसी तेलमा थप छुट दिने कुनै योजना नरहेको बताएको दुई दिनमै वासिङ्टनले आफ्नो अडान परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले शुक्रबार अबेर आफ्नो वेबसाइटमा नयाँ इजाजतपत्र जारी गर्दै आगामी मे १६ सम्मका लागि रुसी तेल खरिद गर्न अनुमति दिएको छ । अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य अत्यधिक बढेपछि त्यसलाई सन्तुलनमा राख्न ट्रम्प प्रशासनले यो कदम चालेको हो ।
यो नयाँ इजाजतपत्रले अप्रिल ११ मा समाप्त भएको ३० दिने छुटलाई प्रतिस्थापन गरेको छ । यद्यपि, यो कारोबारमा इरान, क्युबा र उत्तर कोरियालाई भने सहभागी गराउन नपाइने सर्त राखिएको छ ।
यसअघि बुधबार मात्रै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुसी र इरानी तेलका लागि दिइएको छुट नवीकरण नगर्ने बताएका थिए । तर, इरानी तेलको छुट आइतबार समाप्त हुन लागेको सन्दर्भमा रुसी तेलको हकमा भने सरकारले आफ्नो निर्णय उल्ट्याएको छ ।
गत महिना मात्रै बेसेन्टले इरानलाई दिइएको छुटका कारण करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा पुगेको र यसले ऊर्जा आपूर्तिको दबाब कम गर्न मद्दत पुगेको स्वीकार गरेका थिए ।
ट्रम्प प्रशासनको यो निर्णयको अमेरिकाभित्रै सत्तारुढ र विपक्षी दुवै दलका सांसदहरूले कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार यस्तो छुटले एकातिर युक्रेनसँग युद्ध गरिरहेको रुस र अर्कोतिर अमेरिकासँगै युद्धमा होमिएको इरानको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ ।
विज्ञ ब्रेट एरिकसनका अनुसार यो नवीकरण अन्तिम नहुन सक्छ, किनकि विश्वव्यापी ऊर्जा बजारमा द्वन्द्वले पुर्याएको क्षति गम्भीर छ र यसलाई स्थिर बनाउने उपायहरू लगभग सकिँदै गएका छन् ।
रुसी राष्ट्रपतिका दूत किरिल दिमित्रिएभका अनुसार पहिलो चरणको छुटले मात्रै १० करोड ब्यारेल रुसी कच्चा तेल बजारमा पुग्नेछ, जुन विश्वको एक दिनको कूल उत्पादन बराबर हो । यस्ता छुटले विश्वव्यापी आपूर्तिमा केही राहत दिए पनि स्ट्रेट अफ होर्मुजमा भएको अवरोधका कारण आकासिएको इन्धनको मूल्य पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
यसैबिच, वासिङ्टनको यो लचिलो नीतिले युरोपेली सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा भने चिसोपन ल्याउन सक्ने देखिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले रुसमाथिको प्रतिबन्ध खुकुलो पार्ने यो उपयुक्त समय नभएको बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण