बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमै बन्यो ‘सेज २.५ म्याग्नस’ एआई

आइतबार, ०६ वैशाख २०८३, २० : ०७
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • भक्तपुरको सेजिया कम्पनीले नेपालमै पहिलोपटक १२ अर्ब प्यारामिटर भएको 'सेज २.५ म्याग्नस' एआई मोडेल सार्वजनिक गरेको छ।
  • यो मोडेल पूर्ण रूपमा मौलिक सिर्जना हो जसले गणितीय प्रतिस्पर्धामा अलिबाबाको क्वेन३ मोडेललाई समेत पछाडि पारेको छ।
  • सेजियाले म्याग्नसका साथै हेलियोस केवाइसी र बहुभाषिक वाक् प्रणाली जस्ता प्रविधिमार्फत वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणमा सहयोग गरिरहेको छ।

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वमञ्चमा अहिलेसम्म अमेरिका, चीन र युरोपका विशाल प्रयोगशालाको मात्रै एकाधिकार सुनिँदै आएको छ। तर यो भाष्यलाई भक्तपुरको एउटा सानो अनुसन्धान केन्द्रले कडा चुनौती दिएको छ। नेपालको आफ्नै एआई कम्पनी ‘सेजिया’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप मोडेल सेज २.५ म्याग्नस सार्वजनिक गरेको हो ।

१२० अर्ब प्यारामिटर भएको यो भाषा मोडेलले विश्वका दिग्गज एआई प्रणालीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने क्षमता राख्छ। कम्पनीका तीन संस्थापक बासब झा, उज्ज्वल पुरी र फिरोज पौडेलको नेतृत्वमा रहेको १२ जनाको सानो तर दक्ष टोलीले नेपाललाई एआईको ’प्रयोगकर्ता’ बाट ’निर्माता’ मा बदल्ने सपना साकार पारिरहेको छ ।

उनीहरूले केवल विदेशी मोडेलको नक्कल नगरी शून्यबाटै आफ्नै प्रशिक्षण पूर्वाधार र डेटा पाइपलाइन प्रयोग गरेर म्याग्नसको निर्माण गरेका हुन्। यो मोडेल कुनै पनि अवस्थित प्रणालीको परिमार्जित रूप नभई पूर्णतः मौलिक सिर्जना हो ।

प्राविधिक रूपमा म्याग्नस एक मिक्सचर अफ एक्सपट्र्स ट्रान्सफर्मर हो। यसको क्षमता कति छ भन्ने कुरा बेन्चमार्क नतिजाले पुष्टि गर्छन्। प्रतिस्पर्धात्मक गणितमा यसले ८३.५ अङ्क प्राप्त गर्दै अलिबाबा जस्तो विश्वकै ठुलो कम्पनीको क्वेन३ मोडेललाई समेत पछाडि पारेको छ ।

निर्देश–अनुसरण मूल्याङ्कनमा पनि यसले शीर्ष स्कोर हासिल गरेको छ। थोरै स्रोत र साधनका बाबजुद स्मार्ट वास्तुकला र उद्देश्यपूर्ण डिजाइनका कारण म्याग्नसले विश्वका ठुला प्रयोगशालाका मोडेललाई टक्कर दिन सकेको कम्पनीको दाबी छ ।

सेजियाको कार्यक्षेत्र केवल भाषा मोडेलमा मात्र सीमित छैन। कम्पनीले व्यावसायिक समस्या समाधानका लागि ‘हेलियोस’ नामक उन्नत केवाइसी पूर्वाधार विकास गरेको छ, जुन नेपालका ठुला पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) हरूले प्रयोग गर्न थालिसकेका छन्। यसले पहिचान प्रमाणीकरण, डीपफेक पत्ता लगाउने र कागजात सत्यापन जस्ता जटिल कामहरू गर्छ। त्यस्तै, भोरामार्फत नेपाली र अन्य क्षेत्रीय भाषाहरूमा वार्तालाप गर्न सक्ने बहुभाषिक वाक् प्रणाली र डकुमेन्ट एआई जस्ता सेवाहरूले नेपालको वित्तीय र प्रशासनिक क्षेत्रलाई डिजिटल रूपान्तरणमा मद्दत गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप