रास्वपा केन्द्रीय समिति बैठकः गृहमन्त्रीबारे मौन, के–के भए निर्णय ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक पूर्वनिर्धारित एजेन्डा पारित गरेर सम्पन्न भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय बैठकले गरेको निर्णय सहित ९ बुँदे एजेन्डा पारित गरेको हो ।
तर बैठकमा गोरखा–१ बाट निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङको विषयमा छलफल नै नभएको प्रवक्ता मनिष झाले जानकारी दिए । बिचौलिया दीपक भट्टसँग बिजनेस साझेदारी रहेको तथ्य मिडियामा सार्वजनिक भएपछि राष्ट्रिय गृहमन्त्री गुरुङलाई राजीनामा दिन चौतर्फी दबाब बढेको छ । तर गुरुङको विषयमा कुनै छलफल नभएको प्रवक्ता झाले जिकिर गरे ।
‘हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने होइन । आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन,' झाले भने ।
यद्यपि सभापति रवि लामिछानेले गृहमन्त्री गुरुङको स्पष्टीकरण आएकाले पार्टीले हेर्दै रहेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उहाँको स्पष्टीकरण पार्टीसम्म आएको छ । यसलाई हेर्दैछ पार्टीले ।’
सहमामन्त्री विपिन कुमार आचार्यले पनि गृहमन्त्रीबारे बैठकमा कुनै छलफल नभएको जिकिर गरे । बैठकमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले एजेण्डना प्रस्तुत गरेको र सभापति रवि लामिछानेले सामान्य बिफ्रिङ गरेको उनले बताए ।
‘महामन्त्रीले बैठकको एजेन्डाबारे ब्रिफिङ गर्नुभयो । सभापतिले पार्टीबारे सामान्य बताउनुभयो । गृहमन्त्रीको विषयमा कुनै सदस्यले प्रश्न पनि उठाउनुभएन । छलफल पनि भएन,' रातोपाटीसँग आचार्यले भने ।
यसअघि सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा सक्रिय बनाएको आरोपमा पार्टीको सिफारिसमा प्रधानमन्त्री बालेनले बर्खास्त गरेका थिए ।
बैठकले के–के गर्यो निर्णय ?
केन्द्रीय समिति बैठकले महामन्त्रीमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाह निकट भूपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनयन गरेको छ । तीन जना थपिएसँगै सचिवालय १६ सदस्य बनेको छ । नयाँ महामन्त्री शाहलाई पार्टी र सरकारबिच पूलको काम गर्ने गर्ने गरी जिम्मेवारी दिएको छ । उनको संयोजकत्वमा सातै प्रदेशबाट संयोजक तथा सहंयोजक रहने गरी समिति गठन गरिएको छ । यसैगरी बैठकले जिल्ला अधिवेशनको कार्यविधि पास गरेको छ । आइतबार बसेको सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।
बैठकले केन्द्रीय माहाविधेशन कार्यविधि बनाउने जिम्मा महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । यो समितिमा रोहन कार्की, रञ्जु दर्शना, विष्णु पुरुष श्रेष्ठ, विनिता कठायत, सुशान्त वैदिक सदस्य रहेका छन् ।
यस्तै विधान संशोधन समितिको संयोजकको जिम्मेवारी सहमामन्त्री विपिन कुमार आचार्यलाई बनाएको छ ।
बैठकले वैशाख २० गते स्थानीय तहका लागि उम्मेदवार छनोटका लागि आह्वान गरेको छ । रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान गर्ने संयोजनको जिम्मेवारी आचार्यलाई नै दिएको छ ।
यस्तै संसदीय दलको विधान संशोधन गर्ने जिम्मा पार्टी सचिवालयलाई दिएको छ ।
‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान वैशाख २० गते गर्ने र सोको संयोजन गर्ने जिम्मा दिएको छ,' सहमहामन्त्री आचार्यले भने ।
यसैगरी प्रवासमा रहेका नेपालीलाई मताधिकारको अधिकार दिलाउन सरकारको निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले नयाँ महामन्त्री र दुई जना सचिवालय सदस्यको शपथ गराएको छ । ५१ सदस्य नबढ्ने गरी गठन भएको संघीय नेतृत्व मञ्चमा थप ६ जना सदस्य थप गरेको छ । यसअघि १७ जना मनोनित गरेको थियो । यस्तै जीवन प्रभा लामा काभ्रे, मोती प्रसाद पंगाली नवलपरासी पूर्व, हरिप्रसाद पाण्डे भक्तपुर र बिष्णुहरी शर्मा कपिलवस्तुलाई केन्द्रीय सल्लाहकार परिषद्मा मानोनयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण