थापाथलीका ‘सुकुमबासी’सँग ठाउँ–ठाउँमा जग्गा, कसको कति ?
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
- काठमाडौँ उपत्यका विकास प्राधिकरणको सर्वेक्षणमा थापाथलीका अधिकांश सुकुमबासीको नाममा अन्यत्र जग्गा रहेको पाइएको छ।
- अध्ययनले सुकुमबासीका नाममा धेरै जग्गा जमिन फेला परेकाले वास्तविक सुकुमबासीको पहिचानमा जटिलता देखिएको छ।
काठमाडौँ । काठमाडौँको सुकुमबासी बस्ती यतिबेला फेरि चर्चाको विषय बनेको छ । गृहमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बुधबार सुरक्षा निकायका प्रमुखलाई बोलाएर आइतबारसम्म सुकुमबासी बस्ती खाली गर्न निर्देशन दिएसँगै विभिन्न कोणबाट चर्चा हुन थालेको हो ।
सरकारको यो कदमपछि सुकुमबासीहरू नयाँ रणनीतिका लागि छलफलमा छन् । बिहीबार मध्याह्न उनीहरूले आगामी कदमबारे छलफल गरेका थिए ।
बागमती किनारामा मात्रै नभएर देशभरका सुकुमबासीको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य चासोको विषय हो । यसका लागि पटक–पटक भूमि आयोग बनिसके पनि समस्या समाधान भएको छैन ।
देशभरका सुकुमबासीलाई जग्गा दिनुपर्छ भन्नेमा राजनीतिक दलहरूबिच समेत एकमत छ, तर विशेष मापदण्डभित्र नपर्ने सुकुमबासीलाई भने अन्यत्र व्यवस्थापन गर्नुपर्ने तर्क छ ।
भूमिसम्बन्धी ऐन २०२० र राष्ट्रिय भूमि आयोगको कार्यविधिले नदी तथा खोला किनार, सडकको राइट–अफ–वे, वन क्षेत्र, पुरातात्त्विक वा धार्मिक महत्त्वका स्थल, हाइटेन्सन लाइन मुनिको क्षेत्र र प्राकृतिक जोखिमयुक्त स्थानमा रहेका बस्तीलाई सोही ठाउँमा जग्गा दिन नमिल्ने व्यवस्था गरेको छ ।

यदि कुनै भूमिहीन सुकुमबासी यस्ता जोखिमयुक्त वा कानुनले निषेध गरेका स्थानमा बसोबास गरेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने मापदण्ड छ ।
कानुनले निषेध नगरेका सुरक्षित सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुमबासीको हकमा भने सम्बन्धित क्षेत्रमा तोकिए बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने कानुनी व्यवस्था छ । यस अन्तर्गत सहरी क्षेत्रमा आवासका लागि बढीमा १३० वर्गमिटर अर्थात् (झन्डै चार आना) नबढ्ने गरी निःशुल्क जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।
त्यस्तै, ग्रामीण क्षेत्रमा आवास प्रयोजनका लागि प्रतिपरिवार बढीमा ३४० वर्गमिटर (करिब १ कट्ठा वा १० आना ३ पैसा) सम्म जग्गा उपलब्ध गराउने व्यवस्था छ । यदि सुकुमबासी परिवारलाई आवासको सट्टा कृषि प्रयोजनका लागि जग्गा दिनुपर्ने अवस्था भएमा भौगोलिक रूपमा तराई र भित्री मधेसमा बढीमा २ हजार वर्गमिटर (करिब ६ कट्ठा) सम्म र पहाड र हिमाली क्षेत्रमा बढीमा ३ हजार वर्गमिटर (करिब ६ रोपनी) सम्म निःशुल्क रूपमा उपलब्ध गराउनसक्ने व्यवस्था छ ।
अहिले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा भने नदी तथा खोला किनारको मापदण्डभित्र राखेर यो क्षेत्र दिन नमिल्ने भन्दै त्यहाँबाट सुकुमबासीलाई विस्थापनको नीति सरकारले लिएको छ ।
यो नीति नयाँ भने होइन । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९/०७० सालमा थापाथलीका सुकुमबासीलाई स्थानान्तरण गरेर इचंगुनारायणमा सार्ने प्रयास गरिएको थियो । उनीहरूको व्यवस्थापनका लागि त्यहाँ स्थायी अपार्टमेन्ट समेत बनाइएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागमार्फत यो अपार्टमेन्टको निर्माण २०७३ सालमै सकिए पनि त्यहाँ कोही गएर बस्न मानेनन् । अहिले पनि सो अपार्टमेन्ट छँदैछ । झन्डै १४ करोडको लागतमा बनेका ४ वटा ठुला अपार्टमेन्ट भवनमा २३३ परिवार बस्न मिल्ने फ्ल्याट छन् ।

सुकुमबासी पहिचान गर्नै मुस्किल
को सुकुमबासी हुन् र को होइनन् भन्ने विषय निकै जटिल देखिएको छ । थापाथलीका सुकुमबासीका हकमा समेत यो विषय टड्कारो रूपमा देखिएको छ ।
थापाथलीका सुकुमबासीको सम्बन्धमा २०७८ सालमा एउटा सर्भेक्षण भएको थियो, जहाँ २३८ जना सुकुमबासी रहेको विवरण प्राप्त भएको थियो । २०८१ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) ले गरेको अर्को सर्भेक्षणमा यो संख्या बढेर ३९१ जना रहेको देखिएको थियो ।
यसरी संख्या प्राप्त भएपछि प्राधिकरणले ती सुकुमबासीको नाममा अन्यत्र जग्गा छ कि छैन भनेर हेरेको थियो । सुकुमबासी बस्तीमा रहेकामध्ये घरमुलीहरूको प्राप्त नागरिकता नम्बरलाई आधार मानेर हेर्दा झन्डै ९० प्रतिशतभन्दा धेरै व्यक्तिको अन्यत्र जग्गा रहेको पाइएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका एक अधिकारी बताउँछन् ।
‘हामीले बसोबास गर्दै आएका सुकुमबासीको लगत सङ्कलन गर्दा ३९१ जना पत्ता लगायौँ । हामीसँग घरमूलीको मात्रै नागरिकता नम्बर सहितको विवरण उपलब्ध थियो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘त्यो नागरिकता नम्बरलाई भूसेवा केन्द्रको तथ्याङ्कसँग भिडाउँदा आधाभन्दा धेरै व्यक्तिको नाममा जग्गा रहेको पायौँ ।’
यो विवरणमा आधामात्रै व्यक्तिसँग अन्यत्र जग्गा भएको पाइए पनि बाँकीसँग पनि हुनसक्ने सम्भावना रहेको ती अधिकारी बताउँछन् ।

उनले भने, ‘हामीले जसको नागरिकता पायौँ, उनीहरूको विवरण हेरेका हौँ । आफ्नै श्रीमती, छोराछोरी वा अन्य एकाघर परिवारको नाममा किनेको जग्गा पनि यो विवरणमा आउँदैन । त्यसरी हेर्ने हो भने ५/७ प्रतिशतमात्रै वास्तविक सुकुमबासी भेटिन्छन् भन्ने हाम्रो अनुमान हो ।’
कसको कति छ जग्गा ?
प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ ।
उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ ।
त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको कपिलकोटमा ९ रोपनी ३ आना, सिन्धुलीकै महेन्द्र झयाडीमा ११ रोपनी ७ आना र काठमाडौँको इचंगुनारायणमा २ आना १२ पैसा जग्गा रहेको प्राधिकरणले जनाएको छ ।
लमजुङको मध्य नेपाल नगरपालिकाका पदमराज खड्कासँग लमजुङको बांगेमा ७ कित्तामा झन्डै ११ हजार वर्गमिटर अर्थात् २१ रोपनी ११ आना जग्गा देखिएको छ ।
त्यस्तै, खोटाङको मातिम–८ स्थायी घर भएका टेक बहादुर दर्जीसँग सोही स्थानमा ९ हजार ३५९ वर्गमिटर अर्थात् १८ रोपनी ६ आना जग्गा छ ।
नुवाकोट बेलकोट–८ स्थायी घर भएका बुधे तामाङसँग सोही स्थानमा ७ हजार १७६ वर्गमिटर अर्थात् १४ रोपनी १ आना जग्गा रहेको पाइएको छ ।
धादिङ महादेवस्थान स्थायी घर भएका समरसिं प्रजासँग सोही स्थानमा पाँच कित्तामा कुल १० रोपनी ११ आना जग्गा रहेको पाइएको छ । यो परिवारमा अंशबन्डापछि कायम भएको जग्गा हो ।
दोलखाको माटी स्थायी घर भएकी दिलमाया खत्री केसीसँग सोही स्थानमा ३ हजार १५० वर्गमिटर अर्थात् ६ रोपनी ३ आना जग्गा रहेको पाइएको छ ।
काठमाडौँ–११ नै स्थायी ठेगाना उल्लेख भएका रुपमुनी ढुङ्गानासँग १० हजार २१० वर्गमिटर अर्थात् २० रोपनीभन्दा धेरै जग्गा पाइएको छ । उनीसँग रामेछापको भलुवाजोरमा १८ रोपनी तथा ललितपुरको छम्पीमा १ रोपनी ९ आना जग्गा रहेको पाइएको हो । ललितपुरकै नल्लुमा रहेको उनको जग्गा भने बिक्री भइसकेको विवरणमा देखिएको छ ।
सोलुखुम्बु स्थायी घर भएका कर्ण बहादुर राईसँग सोही जिल्लाको नेचावेतघारीमा १ हजार ९२० वर्गमिटर अर्थात् ३ रोपनी १२ आनाभन्दा बढी जग्गा रहेको पाइएको छ ।
रौतहटको चन्द्रनिगाहपुर–४ स्थायी घर भएका दिल ब. तामाङसँग सोही स्थानमा १ हजार ७८० वर्गमिटर अर्थात् ३ रोपनी ८ आना जग्गा रहेको पाइएको छ । रौतहटकै जुडबेलामा रहेको जग्गा भने यसअघि नै बिक्री गरेको देखिएको छ ।
मकवानपुरको फाखेल–५ स्थायी घर भएका श्याम परियारसँग सोही जिल्लाको चितलाङमा १ हजार ७१८ वर्गमिटर अर्थात् ३ रोपनी ६ आना जग्गा रहेको पाइएको छ ।
काभ्रेको बाडथली स्थायी घर भएका विष्णु उप्रेतीसँग सोही स्थानमा १ हजार ६८५ वर्गमिटर अर्थात् ३ रोपनी ५ आना जग्गा रहेको पाइएको छ । यो जग्गा उनीहरूका तीन जना दाजुभाइको नाममा संयुक्त रूपमा छ ।
काठमाडौँ–११ स्थायी घर भएकी पवित्रा माया मगरनीसँग ९८३ वर्गमिटर अर्थात् करिब १ रोपनी १४ आना जग्गा छ । उनीसँग मकवानपुरको टिष्टुङमा १ रोपनी र चितलाङमा करिब १४ आना जग्गा रहेको पाइएको छ ।
महोत्तरीको पर्सा देवाड–४ स्थायी घर भएका केदार महतो नुनियासँग सोही जिल्लाको सोनमामा ७९५ वर्गमिटर अर्थात् २ कट्ठा ७ धुर जग्गा पाइएको छ ।
सप्तरीको विसहरिया–७ स्थायी घर भएका भागवत रामसँग सोही स्थानमा ६४६ वर्गमिटर अर्थात् १ कट्ठा १८ धुर जग्गा रहेको पाइएको छ ।
ललितपुर उपमहानगरपालिका–३ स्थायी घर भएका सूर्यबहादुर सिलवालसँग सोही जिल्लाको लेलेमा ७९४.७६ वर्गमिटर अर्थात् १ रोपनी ८ आना जग्गा रहेको पाइएको छ । यो जग्गा सूर्यबहादुर सहित वंशलाल महर्जन र तेजनरसिंह प्रजापतिको संयुक्त नाममा रहेको पाइएको हो ।
काठमाडौँको कपन–१ स्थायी घर भएकी सीता चालिसेसँग ३२८ वर्गमिटर अर्थात् १० आनाभन्दा बढी जग्गा छ । उनीसँग ललितपुरको टिकाथलीमा ६ आना र भक्तपुरको सिपाडोलमा ३ आनाभन्दा बढी जग्गा रहेको पाइएको छ ।
मकवानपुरको धियाल–७ स्थायी घर भएका मिन राना मगरसँग काभ्रेको कुशादेवीमा २७० वर्गमिटर अर्थात् ८ आना २ पैसा जग्गा रहेको पाइएको छ ।
चितवनको चैनपुर–४ स्थायी घर भएकी दुर्गा खड्कासँग मकवानपुरको ज्यामिरेमा २२२ वर्गमिटर अर्थात् ७ आना जग्गा रहेको पाइएको छ ।
ललितपुर–१३ स्थायी घर भएकी कृष्ण प्यारी तण्डुकारसँग काठमाडौँको भिमढुंगामा १९८ वर्गमिटर अर्थात् ६ आना १ पैसा जग्गा रहेको पाइएको छ ।
काठमाडौँ महानगरपालिका–११ स्थायी घर भएकी सीता पौडेल क्षेत्रीसँग ललितपुरको लामाटारमा १०७.३० वर्गमिटर अर्थात् ३ आना ५ पैसा जग्गा रहेको पाइएको छ ।
काठमाडौँको चावहिल स्थायी ठेगाना भएका कैलाश खड्कासँग चितवनको रतनपुरमा १६९ वर्गमिटर अर्थात् ५ आना १ पैसा जग्गा रहेको पाइएको छ । उनले काठमाडौँमा रहेको जग्गा भने यसअघि नै विक्री गरिसकेको विवरणमा देखिन्छ ।
स्थायी ठेगाना नखुलेका राज खुलालसँग मकवानपुरको पदमपोखरीमा १६९ वर्गमिटर अर्थात् ५ आना १ पैसा जग्गा रहेको पाइएको छ ।
रामेछापको गागल–६ स्थायी घर भएकी ललिमाया श्रेष्ठसँग सोही स्थानमा १४५ वर्गमिटर अर्थात् ४ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

नुवाकोटको हल्देकालिका–४ स्थायी घर भएकी सुन्तली राईसँग सोही जिल्लाको भैरवीमा १४३ वर्गमिटर अर्थात् ४ आना २ पैसा जग्गा रहेको पाइएको छ ।
सल्यानको धनवाङ–४ स्थायी घर भएका झगेन्द्र बहादुर बुढासँग भक्तपुरको दधिकोटमा १३९ वर्गमिटर अर्थात् ४ आना १ पैसा जग्गा रहेको पाइएको छ ।
तनहुँको स्याम्वा–४ स्थायी घर भएकी हिरा थापासँग सोही जिल्लाको सजामा १३७ वर्गमिटर अर्थात् ४ आना १ पैसा जग्गा रहेको पाइएको छ ।
रौतहटको धर्मपुर–६ स्थायी घर भएकी कैलाशवती देवीसँग सोही जिल्लाको चन्द्रनिगाहपुरमा १३५ वर्गमिटर अर्थात् ८ धुर जग्गा रहेको पाइएको छ ।
रसुवाको डाडागाउँ–३ स्थायी घर भएकी कान्छी माया गुरुङसँग चितवनको पञ्चकन्यामा १३० वर्गमिटर अर्थात् ४ आना जग्गा रहेको पाइएको छ ।
काठमाडौँको कलंकी स्थायी घर उल्लेख भएकी चेतमाया श्रेष्ठसँग चितवनको मंगलपुरमा ८४ वर्गमिटर अर्थात् २ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

लमजुङको टोडेनी स्थायी घर भएकी शकुन्तला भारतीसँग काठमाडौँको सौखेलमा ७९ वर्गमिटर अर्थात् २ आना २ पैसा जग्गा पाइएको छ ।
सिन्धुलीको कमलामाई–२ स्थायी घर भएका डम्बर बहादुर रुम्जनसँग काठमाडौँको बज्रबाराहीमा ७४ वर्गमिटर अर्थात् २ आना १ पैसा जग्गा देखिएको छ ।
सिन्धुपाल्चोकको धुस्कुन स्थायी घर भएकी सरस्वती बस्नेतसँग काठमाडौँको बुढानीलकण्ठमा करिब ३० वर्गमिटर अर्थात् ३ पैसा ३ दाम जग्गा पाइएको छ ।
यीबाहेक काभ्रेको बुढाखानी घर भएका नारायण ब. मगर, धादिङको थाक्रे घर भएका माईला तामाङ र काभ्रेकै गणेशस्थान घर भएकी मीना कोइरालाको नाममा यसअघि जग्गा भए पनि विभिन्न समयमा बिक्री गरिसकेको विवरणमा देखिएको छ । मगरसँग काभ्रेको साँगामा ५ रोपनीभन्दा बढी र बुढाखानीमा २ रोपनीभन्दा धेरै जग्गा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण