सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जुम्ल्याहा बच्चाका पिता अलग–अलग ! मेडिकल साइन्स के भन्छ ?

मङ्गलबार, १५ वैशाख २०८३, १३ : ०९
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • कोलम्बियामा एक महिलाका जुम्ल्याहा छोराका पिता फरक-फरक भएको एक दुर्लभ घटना प्रकाशमा आएको छ।
  • यसलाई 'हेटेरोप्याटर्नल सुपरफेकन्डेशन' भनिन्छ, जसमा दुई फरक पुरुषको शुक्रकीटबाट एकै महिनावारी चक्रमा दुई छुट्टाछुट्टै अण्डाको गर्भधारण हुन्छ।
  • डीएनए परीक्षण प्रविधि 'माइक्रोसेटेलाइट मार्कर' प्रयोग गरी यो निष्कर्षमा पुगेको हो, जसले बच्चाको आधा जेनेटिक प्रोफाइल आमासँग र बाँकी आधा पितासँग मेल खानुपर्ने सिद्धान्तमा आधारित छ।

सन् २०१८ मा एक महिला आफ्ना दुई वर्षीय जुम्ल्याहा छोराको पिताका बारेमा जान्नका लागि कोलम्बियाको नेशनल युनिभर्सिटीमा ‘लेबोरेटरी अफ पपुलेसन जेनेटिक्स एन्ड आइडेन्टिफिकेशन’मा पुगिन् ।

लेबोरेटरीले बच्चाको पिताका बारेमा जान्नका लागि एक नियमित परीक्षण गर्‍यो । परीक्षणको नतिजा यति आश्चर्यजनक थियो कि त्यसलाई सुनिश्चित गर्न दोहोर्‍याएर त्यो परीक्षण गरियो ।

ती जुम्ल्याहा बच्चाका आमा एउटै भए पनि पिता फरक–फरक थिए ।

यो एक दुर्लभ मामिला हो, जसलाई ‘हेटेरोप्याटर्नल सुपरफेकन्डेशन’ भनिन्छ । विश्वभरिका ‘साइन्टिफिक लिटरेचर’मा अहिलेसम्म यस्ता करिब २० वटा घटना प्रकाशमा आएका छन् ।

‘नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशन’का अनुसार हेटेरोप्याटर्नल सुपरफेकन्डेशन अर्थात् दुई वा त्योभन्दा बढी अण्डाको एउटै मेन्स्ट्रुअल साइकिलमा दुई अलग अलग पुरुषको बीर्यबाट गर्भधारण भएर महिला अलग–अलग पुरुषबाट एकसाथ गर्भवती हुँदा यस्ता जुम्ल्याहा जन्मिन्छन्, जसको पिता फरक–फरक हुन्छन् ।

युनिभर्सिटीका विशेषज्ञ सैद्धान्तिक रूपमा यस्तो सम्भव हुन्छ भन्ने जान्दथे, तर उनीहरूले यस्तो घटना यसअघि कहिल्यै देखेका थिएनन् । यो घटनाले तत्कालै उनीहरूमा वैज्ञानिक जिज्ञासालाई जगाइदियो ।

पितृत्वको परीक्षण गर्नका लागि कोलम्बियाको ‘नेशनल युनिभर्सिटीको इन्स्टिच्यूट अफ जेनेटिक्स’का वैज्ञानिक ‘माइक्रोसेटेलाइट मार्कर’ नामको एक प्रविधि प्रयोग गर्छन् ।

सहज शब्दमा भन्ने हो भने यसमा बच्चा, आमा र कथित पिताको डीएनएको तुलना गरिन्छ ।

ल्याबका निर्देशक तथा प्रोफेसर विलियम उसाक्वेनले बीबीसीसँग भने, ‘हामी हरेक व्यक्तिसँग १५ देखि २२ प्वाइन्ट्स् डीएनए स्याम्पल लिन्छौँ, जसलाई माइक्रोस्याटेलाइट भनिन्छ । त्यसको जाँच गरेर एक–एक गरी तुलना गरिन्छ ।’

यो प्रक्रिया केवल डीएनएलाई एक शक्तिशाली माइक्रोस्कोपको मुनि राख्नुभन्दा कयौँ ज्यादा मुस्किल हुन्छ । औँलामा सुई घोचेर रगतको नमुना लिएपछि वैज्ञानिक डीएनएको सानो मात्रालाई अन्य हिस्साबाट अलग गर्न एक रासायनिक प्रक्रियाको साहारा लिइन्छ ।

त्यसपछि त्यो डीएनएलाई ‘एम्प्लिफाइ’ गर्नका लागि विशेष मेसिनमा राखिन्छ । यसबाट बनेको तरल पदार्थलाई ‘फ्लोरोसेन्ट डाई’सँग मिलाएर विश्लेषणका लागि १५ देखि २२ माइक्रोस्याटेलाइट प्वाइन्टलाई चिह्नित गरिन्छ ।

त्यसपछि यसलाई एउटा अर्को मेसिनमा पठाइन्छ, जहाँ प्रत्येक नमुनाको अध्ययन गरी एक ‘न्यूमेरिकल सिक्वेन्स’मा परिणत गरिन्छ । अन्तिममा त्यही ‘न्यूमेरिकल सिक्वेन्स’का आधारमा बच्चाको पिता पहिचान गरिन्छ ।

बच्चाको आधा जेनेटिक प्रोफाइल आमासँग र बाँकी आधाचाहिँ पितासँग मेल खानु पर्दछ । यसकै आधारमा बच्चाको पिता सम्बन्धित पुरुष हो कि होइन भन्ने पत्ता लगाइन्छ ।

कोलम्बियामा भएको उक्त परीक्षणमा ती महिलाको एक बच्चाको डीएनए पितासँग मेल खाए पनि अर्को बच्चाको डीएनए भने मेल खाएन । त्यसैले वैज्ञानिकहरूले त्यो परीक्षणलाई दोहोर्‍याएका थिए ।

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका इन्स्टिच्युट अफ जेनेटिक्समा जेनेटिक्स विज्ञ तथा शोधकर्ता एन्ड्रिया काजेज भन्छिन्, ‘हामीले अन्य रिपोर्टका आधारमा यस्ता घटना हुन्छ भन्ने सुनेका थियौँ, तर विश्वमा यस्तो घटना धेरै कम हुन्छ ।’

महिलाको ओभरीबाट एकभन्दा बढी अण्डा निष्काशन भएको अवस्थामा एउटा अण्डामात्र फर्टिलाइज हुन्छ । अधिकांश मामिलामा बाँकी अण्डा चाँडै नै मर्छन् ।

अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार अन्डा निस्किएको चौबिस घण्टाभन्दा कम समयसम्ममात्र जीवित रहन्छ ।

शोधकर्ता एन्ड्रिया भने अण्डा एकै समयमा निस्किन्छन् भन्ने ग्यारेन्टी नरहने बताउँछिन् । उनले भनिन्, ‘कहिलेकाहीँ ओभरीले एउटा अण्डा निकाल्छ र दुई/तीन दिनपछि अर्को अण्डा निकाल्न पनि सक्छ ।’

यस्तो घटनामा अलग–अलग समयमा फर्टिलाइजेसन सम्भव हुने उनको भनाइ छ ।

यस्ता घटनाको संख्या निकै कम देखिनुको अर्को महत्त्वपूर्ण कारण पनि छ । अधिकांश मानिस पितृत्व परीक्षण नै गराउँदैनन् ।

अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा यस्ता घटना त्यति असामान्य नहुन पनि सक्छ । अचेल पितृत्व परीक्षणको लोकप्रियता बढेका कारण यस्ता घटना थपिँदै जाने उनीहरूको तर्क छ ।

उसाक्वेनका अनुसार पितृत्व परीक्षण हमेसा यसमा सम्बद्ध पात्रको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्दै पूरा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप