बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

गगनले सिटौलाको गुन बिर्सेकै हुन् ?

जसले राजनीतिमा स्थापित गराए, उनैको पद खोसे
बुधबार, १६ वैशाख २०८३, १६ : ५४
बुधबार, १६ वैशाख २०८३

सारांश

  • गगन थापालाई राजनीतिमा स्थापित गराउन कृष्णप्रसाद सिटौलाको भूमिका महत्त्वपूर्ण थियो, तर अहिले उनीहरूको सम्बन्ध चिसिएको छ।
  • थापाको इशारामा राष्ट्रिय सभा संसदीय दलको नेता सिटौलालाई हटाइएको छ र कमलादेवी पन्तलाई नियुक्त गरिएको छ।
  • थापाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन सिटौलालाई हटाएर आफूनिकटलाई जिम्मेवारी दिएको बुझाइ छ।

काठमाडौँ । नेपाली कांग्रेसको मूलधारको राजनीतिमा गगन थापालाई स्थापित गराउन नेता कृष्णप्रसाद सिटौलाको भूमिका महत्त्वपूर्ण मानिन्छ । 

विगतमा सिटौलाकै विशेष सहयोग र मार्ग निर्देशनमा थापा सांसद र मन्त्री मात्र बनेनन्, पार्टीभित्र आफ्नो दह्रो प्रभाव जमाउन समेत सफल भए ।  तर, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने मान्यतालाई चरितार्थ गर्दै थापा र सिटौलाको सम्बन्धमा अहिले पानी बाराबारको स्थितिमा पुगेको छ । अर्थात् यी दुईबिचको सम्बन्ध अहिले ‘सरल रेखा’ बाट मोडिएर जटिल मोडमा आइपुगेको छ ।

जसको उदाहरण हो, नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन । विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाकै इशारामा दलको नेता सिटौलालाई हटाइएको छ । 

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा सिटौलालाई हटाएर बुधवार कमलादेवी पन्तलाई नियुक्त गरेका हुन् । 

कांग्रेस निकट स्रोतका अनुसार आङ्देम्बेले यो निर्णय आफू संसदीय दलको नेतामा सर्वसम्मत चयन हुँदा गरेको प्रतिबद्धता बमोजिम गरेका हुन् । आङ्देम्बे सोमबार प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत बनेका थिए । त्यो बेला आङदेम्बेले कांग्रेस सभापति गगन थापासँग आफूलाई सर्वसम्मत बनाएमा राष्ट्रिय सभा दलको नेतामा भने बमोजिमको व्यक्तिलाई नियुक्त गर्ने बचनबद्धता जनाएका थिए । 

गत पुसमा तत्कालीन सभापति शेरबहादुर देउवा र केन्द्रीय कार्यसमितिको असहमतिबिच गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनको विपक्षमा रहेका आङदेम्बेलाई दलको नेता बनाउन थापा सकारात्मक थिएनन् । थापाको रोजाइमा आफ्ना ससुरा अर्जुननरसिंह केसी र केसीलाई बनाउन नसकेमा रसुवाबाट निर्वाचित मोहन आचार्य थिए ।

gagan_uP2UCvPm7h

तर, ३८ सदस्यीय पार्टीको प्रतिनिधि सभा संसदीय दलमा सभापति भए पनि थापाको बहुमत थिएन । त्यसमाथि विशेष महाधिवेशनपछि उपसभापति बनेका विश्वप्रकाश शर्मा पनि थापाले अगाडि सारेका पात्रको पक्षमा नदेखिई आङदेम्बेका पक्षमा उभिए । त्यसपछि निर्वाचन भएमा शेरबहादुर देउवा समूहको बहुमत रहेको र आङ्देम्बे नै दलको नेता हुने निश्चित भएपछि थापाले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने र प्रमुख सचेतक तथा सचेतक आफूले भनेका व्यक्तिलाई नियुक्त गर्ने सर्तमा दलको नेता स्विकार्न राजी भएका थिए । 

थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको चर्को विरोध गर्ने मध्यका थिए, सिटौला । त्यसैले थापाले कसरी हुन्छ उनलाई हटाउन चाहेका थिए । सभापति थापाले ससुरालाई दलको नेता नबनाएपछि ससुराको सिफारिसमा वासना थापालाई प्रमुख सचेतक बनाउनु थियो । यी दुवै काम प्रतिबद्धता बमोजिम बुधवार आङ्देम्बेले पूरा गरेका छन् । ‘आङ्देम्बेजीलाई दलको नेता बनाउँदा राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउने र प्रमुख सचेतकमा वासनाजीलाई बनाउने भन्ने सहमति थियो । आज उहाँले त्यही पूरा गर्नुभएको हो,’ कांग्रेसका एक पदाधिकारीले रातोपाटीसँग भने । 

कांग्रेस सांसद केसीले आफू दलको नेता नबन्ने भएपछि थापालाई बनाउन सार्वजनिक रूपमै प्रस्ताव गरेका थिए । केही दिनअघि रातोपाटीसँगको कुराकानीमा केसीले भनेका थिए, ‘म अहिले प्रतिनिधि सभामा सबैभन्दा सिनियर र अनुभवी सांसद भएकाले सर्वसम्मत हुने सर्तमा दलको नेता दाबी गरेको थिए । तर, त्यो अवस्था देखिएन । अहिलेको अवस्थाका आधारमा युवा, प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउन प्रस्ताव गरेको छु ।’

सिटौला–थापाको त्यो सम्बन्ध

२०६२÷६३ को जनआन्दोलनको बेलामा गगन थापा विद्यार्थी राजनीतिमा थिए र विद्यार्थी राजनीति नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध भएर गरिरहेका थिए । थापाको स्वभावका कारण तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त्यति रचाउँदैनथे । त्यतिबेलाका कांग्रेसका जानकारहरू जनआन्दोलन सफल भएपछि थापालाई नरहरि आचार्य र सिटौलाको जोडबलमा पहिलो संविधान सभामा कांग्रेसको समानुपातिक सूचीमा राखियो । 

 उनीहरूकै जोडबलमा समानुपातिक प्रणालीतर्फबाट सांसद पनि बने । ३१ वर्षमा सांसद बनेका थापा ३४ वर्षमा २०६७ मा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बने । ०७०, ०७४ र ०७९ मा प्रतिनिधि सभा सदस्यमा काठमाडौँ–४ बाट प्रत्यक्ष लडेर निर्वाचित भए । थापाले १३ औँ महाधिवेशनमा पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठाउँदै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे तर उनलाई बलिया गुट कसैले पनि उम्मेदवार बनाएनन् । त्यसपछि त्यो बेला सभापतिका उम्मेदवार सिटौला प्यानलबाट महामन्त्रीमा निर्वाचन लडे । जित्न भने जितेनन् ।

91bc96e8-0f73-4420-af7d-c00c2c857c20

 महामन्त्रीमा ५८५ मत पाएका थापा ०७० सालको निर्वाचनपछि सिटौलाकै सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बने ।  त्यतिबेला उनी मन्त्री बनेलगत्तै सिटौलाकहाँ आशीर्वाद लिन गएको विषय निकै चर्चामा थियो । पछि पनि उनी पटक पटक सिटौलाकहाँ आशीर्वाद लिन गइरहन्थे । 

महामन्त्रीमा सिटौलाले राखेपछि राष्ट्रिय राजनीतिमा चर्चित बनेका थापाको सम्बन्ध ०७८ सालमा भएको  कांग्रेसको १४औं महाधिवेशनदेखि भने चिसियो । त्यतिबेला थापाले गुट परिवर्तन गर्दै १४ औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । गुट परिवर्तन गरेपछि सिटौलाले १४ औँ महाधिवेशनका क्रममै सार्वजनिक रुपमा नै थापालाई चेतावनी दिँदै भनेका थिए, ‘जसले नेता बनायो, उसले बिगार्न पनि सक्छ ।’ त्यो महाधिवेशनमा सिटौला देउवा समूहमा रहे । 

विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेपनि सिटौला कहिल्यै सकारात्मक रहेनन् ।  महाधिवेशनप्रति तत्कालीन सभापति देउवासमक्ष नकारात्मक कुरा पु¥याउने र पार्टी विवाद गिजोल्न सिटौलाको भूमिका महत्वपूर्ण रहेको बुझाइमा थापा देखिन्छन् ।  सिटौलासहित पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिको मुख्य भूमिकाकै कारण पार्टीभित्रको विवाद नमिलेको थापाले निकटस्थहरूसँग बताउने गरेका छन् । 

सिटौलाले अहिले पनि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समिति समायोजन गरेर त्यसैबाट महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने बताइरहेका छन् । यही बेलामा थापाले आफूलाई सिटौलाले लगाएको गुन बिर्सेर प्रतिशोध साध्दै भएको पदबाट पनि गलहत्याइदिएको सिटौलाको बुझाइ छ । 

यसैबिच देउवा समूहले मंगलबार नै सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने तयारी भएको भन्दै विरोध गरेको छ । समूहका नेता मीन विश्वकर्माले सिटौलालाई हटाए पार्टी विवाद झन् बल्झिने बताए ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप