बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्राष्ट्रिय मजदुर दिवस

श्रमिकको हितका लागि पुनः संघर्षको आवश्यकता

अहिले राज्यसत्ता सम्पूर्ण आर्थिक–प्रशासनिक समस्याको जड नै ट्रेड युनियनलाई ठान्छ, मजदुर दिवसका दिनमा यो भन्दा विडम्बना के हुन सक्ला ?
शुक्रबार, १८ वैशाख २०८३, १० : ३०
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाललगायत विश्वभर १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ, जुन श्रमिकको हक, अधिकार र बलिदानको स्मरण गर्ने दिन हो ।
  • १८८६ को सिकागो आन्दोलनसँग जोडिएको यो दिवसले श्रमको सम्मान, श्रमिकको सुरक्षा र सामाजिक न्यायको वकालत गर्दछ ।
  • नेपालमा श्रमिक अधिकारको चेतना २००३ सालको विराटनगर जुट मिलको हडतालबाट सुरु भयो, तर हाल निजी क्षेत्रमा श्रमिकहरूको अवस्था दयनीय छ र उनीहरू श्रम शोषणको सिकार भइरहेका छन् ।

सदाझैँ यो वर्ष पनि १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) नेपाललगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाइँदै छ । नेपालका विभिन्न ट्रेड युनियन, श्रमिक संघ–सङ्गठन र पेसागत संस्थाहरूले र्‍याली, सभा, गोष्ठी र वैचारिक मन्थनका विविध कार्यक्रमहरू आयोजना गरी यो ऐतिहासिक दिनलाई उत्सव र सङ्कल्पको दिनका रूपमा मनाउने गर्छन् । 

नेपाल सरकारले पनि यस दिनको महत्वलाई आत्मसात् गर्दै देशभर सार्वजनिक बिदा दिने गरेको छ । यो दिन उत्सव मात्र नभएर यो त विश्वभरिका श्रमिकहरूले आफ्नो हक, अधिकार र मर्यादा प्राप्तिका लागि गरेका अदम्य साहस र बलिदानको स्मरण गर्ने गौरवपूर्ण दिन पनि हो । ‘संसारका मजदुरहरू एक हौँ’ भन्ने कालजयी नाराका साथ मनाइने यो दिवसले श्रमको सम्मान, श्रमिकको सुरक्षा र विश्वव्यापी सामाजिक न्यायको निरन्तर वकालत गर्दै आइरहेको छ ।

यस दिवसको ऐतिहासिक पृष्ठभूमि सन् १८८६ मे ४ मा अमेरिकाको सिकागो सहरस्थित हे मार्केटमा भएको मजदुरहरूको शान्तिपूर्ण आन्दोलनसँग जोडिएको छ । दैनिक आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर गरिएको उक्त आन्दोलनमाथि राज्यसत्ताबाट निर्मम दमन भयो । बम विस्फोट र प्रहरीको गोली लागी थुप्रै निहत्था श्रमिकहरूले आफ्नो ज्यान आहुति दिए । 

तर, त्यो रक्तपातपूर्ण दमनले मजदुर आन्दोलनलाई रोक्न सकेन, बरु यसले विश्वभरिका श्रमिकहरूलाई थप सङ्गठित र सशक्त बन्न प्रेरित गर्‍यो । त्यही बलिदान र निरन्तरको दबाबका कारण सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनले मे १ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने ऐतिहासिक निर्णय गर्‍यो, जसको निरन्तरता आजसम्म कायम छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने श्रमिक दिवस र मजदुर आन्दोलनको चर्चा वि.सं. २००३ सालबाट सुरु भएको मानिन्छ । विराटनगर जुट मिलमा भएको ऐतिहासिक मजदुर हडतालबाटै नेपालमा श्रमिक चेतनाको जग बसेको थियो । त्यस आन्दोलनले केवल श्रम अधिकारको मात्र कुरा उठाएन, निरंकुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनको समेत बिजारोपण गरेको थियो । उक्त ऐतिहासिक आन्दोलनको नेतृत्व नेपालका अग्रज राजनेताहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गर्नुभएको थियो ।

वि.सं. २००३ सालदेखि २०४६ सालसम्मको कालखण्ड नेपालको राजनीतिक इतिहासमा अस्थिरता र पञ्चायती एकतन्त्रीय शासनको निरंकुशतामा गुज्रियो । त्यस समयमा राजनीतिक दलहरू र ट्रेड युनियन जस्ता मजदुर संस्थाहरूले खुला रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्ने अवसर पाएनन् । यद्यपि, भूमिगत रूपमै भए पनि पेसागत सङ्गठन र लोकतान्त्रिक राजनीतिक आन्दोलनको अग्रभागमा मजदुरहरूकै सक्रिय सहभागिता र बलिदान रहने गर्दथ्यो । 

संवैधानिक व्यवस्था, श्रम ऐन, ट्रेड युनियन ऐन एवं अन्तर्राष्ट्रिय महासन्धिहरूले निसर्त ग्यारेन्टी गरेको ‘सङ्गठित हुन पाउने अधिकार’ माथि सरकारले हचुवा र सस्तो लोकप्रियताको आडमा प्रहार गर्नु आम मजदुरहरूको लागि अत्यन्त पीडादायी र निन्दनीय अवस्था हो ।

वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र प्रजातन्त्रको पुनर्स्थापनापछि भने नेपालको श्रमिक आन्दोलनले खुला आकाश पायो । ट्रेड युनियनहरूले तीव्र रूपमा आफ्नो सङ्घटन विस्तार गर्दै नीतिनिर्माणको तहमा हस्तक्षेपकारी र अर्थपूर्ण भूमिका निर्वाह गर्न सफल भए ।

यिनै सङ्घर्षहरूको फलस्वरुप नेपालले हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का ११ वटा महत्त्वपूर्ण महासन्धिहरू अनुमोदन गरिसकेको छ । यसका साथै व्यावसायिक सुरक्षा तथा स्वास्थ्य र सङ्घटन गर्न पाउने स्वतन्त्रता जस्ता अन्य महत्त्वपूर्ण महासन्धिहरू अनुमोदन गर्ने प्रक्रियामा पनि गम्भीर छलफल भइरहेको छ । 

प्रजातन्त्रको पुनर्स्थापनापछि नेपालको श्रम क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन राज्यले श्रम ऐन, श्रम नियमावली, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना, मे दिवसमा राष्ट्रिय बिदाको घोषणा र ट्रेड युनियन ऐन जस्ता अत्यन्त महत्त्वपूर्ण कानुनी व्यवस्थाहरू गर्‍यो । 

वर्तमान नेपालको संविधानले त श्रमसम्बन्धी हकलाई नागरिकको मौलिक हककै रूपमा स्वीकार गरिसकेको छ । देशैभरिका श्रमिक, कामदार एवं कर्मचारीको हकहितलाई व्यवहारमै लागू गर्न र उनीहरूलाई सङ्गठित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सही कार्यान्वयन गराउन आज नेपालमा करिब १९ वटा ट्रेड युनियन महासङ्घ, ४५० वटा राष्ट्रिय स्तरका ट्रेड युनियन र हजारौँको सङ्ख्यामा प्रतिष्ठान स्तरका युनियनहरू क्रियाशील छन् ।

आज नेपालमा सरकारी, अर्धसरकारी, निजी र अनौपचारिक क्षेत्रमा लाखौँको संख्यामा श्रमिक तथा कामदारहरू दिनरात पसिना बगाइरहेका छन् । सरकारी निकाय एवं सार्वजनिक प्रतिष्ठानहरूमा केही हदसम्म सम्मानजनक सेवा–सुविधा र रोजगारीको सुरक्षा रहे तापनि निजी प्रतिष्ठानहरूमा श्रमिकको अवस्था अत्यन्त दयनीय र कहालीलाग्दो छ । 

यसरी हेर्दा नेपालमा संवैधानिक रूपमा श्रमिक हकको प्रत्याभूति, श्रमिकमैत्री कानुनहरूको निर्माण र अन्तर्राष्ट्रिय महासन्धिहरूको अनुमोदनको हिसाबले श्रम क्षेत्र निकै सुरक्षित र सुदृढ जस्तो देखिन्छ । 

तर, विडम्बना ! व्यवहारमा राज्य र सरकारको श्रमिकलाई हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा श्रमिकमैत्री हुन सकेको छैन । झन् अहिलेको नवगठित सरकारले त घोषित रूपमै ट्रेड युनियनहरू खारेज गर्ने वा सङ्कुचित पार्ने जस्ता अभिव्यक्ति र निर्णयहरू बाहिर ल्याइरहेको अवस्था छ । यसले आम नेपाली श्रमिक र ट्रेड युनियन सङ्गठनहरूमा गहिरो तरङ्ग, संशय र अन्यौलता सिर्जना गरिदिएको छ । 

संवैधानिक व्यवस्था, श्रम ऐन, ट्रेड युनियन ऐन एवं अन्तर्राष्ट्रिय महासन्धिहरूले निसर्त ग्यारेन्टी गरेको ‘सङ्गठित हुन पाउने अधिकार’ माथि सरकारले हचुवा र सस्तो लोकप्रियताको आडमा प्रहार गर्नु आम मजदुरहरूको लागि अत्यन्त पीडादायी र निन्दनीय अवस्था हो ।

आज नेपालमा सरकारी, अर्धसरकारी, निजी र अनौपचारिक क्षेत्रमा लाखौँको संख्यामा श्रमिक तथा कामदारहरू दिनरात पसिना बगाइरहेका छन् । सरकारी निकाय एवं सार्वजनिक प्रतिष्ठानहरूमा केही हदसम्म सम्मानजनक सेवा–सुविधा र रोजगारीको सुरक्षा रहे तापनि निजी प्रतिष्ठानहरूमा श्रमिकको अवस्था अत्यन्त दयनीय र कहालीलाग्दो छ । 

अधिकांश निजी प्रतिष्ठानहरूमा स्थायी प्रकृतिको काममा पनि वर्षौँसम्म करारमा वा ज्यालादारीमा कर्मचारी भर्ना गर्ने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नदिने र सामाजिक सुरक्षाबाट वञ्चित गर्ने प्रवृत्ति हाबी छ । 

अझ डरलाग्दो कुरा त के छ भने, कामदार तथा कर्मचारीहरूले आफ्नो हकहितका लागि सङ्गठित हुने वा युनियन खोल्ने प्रयास गरेमा उनीहरूको करार अवधि नथप्ने, प्रतिष्ठानका विभागहरू नै साटफेर गरी ठेक्कामा दिने र कर्मचारीहरूलाई बिनाकारण जागिरबाट निकाल्ने जस्ता मजदुर विरोधी काम भइरहेका छन् । 

कामदारहरूले युनियन दर्ताका लागि श्रम कार्यालयमा निवेदन दिएको जानकारी व्यवस्थापन पक्षले पाएमा उनीहरूलाई धरपकड गर्ने, गाडीका गाडी कामदारलाई जबर्जस्ती श्रम कार्यालय लगेर युनियनको विरुद्धमा बोल्न र हस्ताक्षर गर्न लगाउने जस्ता अत्यन्त अमानवीय र गैरकानुनी कार्यहरू खुलेआम भइरहेका छन् ।

विशेषगरी निजी स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सलगायतका कामदार–कर्मचारी, निजी विद्यालयका शिक्षक, निजी बैंक तथा वित्तीय संस्थाका तल्लो तहका कर्मचारी र श्रमजीवी पत्रकारहरू अहिले ठुलो श्रम शोषणको सिकार भइरहेका छन् ।

देशमा विद्यमान चरम बेरोजगारीको बाध्यता र कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै न्यूनतम पारिश्रमिक र नियुक्ति पत्रसमेत नदिई श्रमशोषण गर्ने प्रतिष्ठानका सञ्चालकहरूलाई राज्यका नियमनकारी निकायबाट प्रभावकारी अनुगमन र कारबाही भएको देखिँदैन । 

आफ्नो कानुनी अधिकारको माग गर्दा भइरहेको जागिर पनि जाने डरले गर्दा अधिकांश कामदार तथा श्रमिकहरू आफ्नो श्रम शोषण, अन्याय र अपमान सहेरै भए पनि काम गर्न बाध्य छन् । यही चरम आर्थिक शोषण र कामको सम्मान गर्न राज्य तथा रोजगारदाता असफल हुनुको मुख्य कारण नै आज लाखौँको संख्यामा ऊर्जावान् नेपाली युवाहरू खाडी र मलेसियालगायतका विदेशी भूमिमा सस्तो मूल्यमा आफ्नो श्रम बेच्न बाध्य भएका हुन् ।

वर्तमान सरकार र यसका संयन्त्रहरू अब सीमित धनाढ्य, नवधनाढ्य र दलाल पुँजीपति वर्गको मात्र पछि लागेर देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका श्रमजीवी वर्गको विरुद्धमा लाग्नुहुँदैन । सरकारले धरातलीय यथार्थ के हो ? कसरी देशका सीमान्तकृत र तल्लो वर्गका श्रमजीवी जनताको हितमा काम गर्न सकिन्छ ? यतातिर आफ्नो ध्यान केन्द्रित गर्नु नितान्त जरुरी देखिन्छ ।

अहिलेको सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू हेर्दा यस्तो भान हुन्छ मानौँ, यो सरकारलाई श्रमिकको वास्तविक परिभाषा, पसिनाको मूल्य र श्रमिक वर्गले यसअघि लोकतन्त्र र अधिकार प्राप्तिका लागि गरेको ऐतिहासिक संघर्षको विषयमा न कुनै जानकारी छ, न त कुनै चासो नै । 

अर्कोतर्फ, श्रमिक कामदारको यो विकराल श्रम शोषणको अन्त्य गर्न र उनीहरूको आवाज बुलन्द गर्नकै लागि गठन भएका कतिपय ट्रेड युनियन महासङ्घ, सङ्घ र सङ्गठनहरू पनि अहिले सत्ता र शक्तिको वरिपरि रमेर ‘नुन खाएको ढुकुर’ जस्तो निरीह अवस्थामा पुगेको देखिन्छन् । हिजो निरंकुशताको कहालीलाग्दो समयमा समेत अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गरेका यस्ता गौरवशाली सङ्गठनहरू आज मजदुरका मुद्दामा मौन वा निष्क्रिय रहनु आम श्रमिक वर्गका लागि अत्यन्त दुःखदायी र निराशाजनक अवस्था हो ।

अहिले राज्यसत्ता सम्पूर्ण आर्थिक–प्रशासनिक समस्याको जड नै ट्रेड युनियनलाई ठान्छ, मजदुर दिवसका दिनमा यो भन्दा विडम्बना के हुन सक्ला ? सरकार र रोजगारदाताको यो भ्रमपूर्ण अवस्थालाई चिर्न र मजदुरका गुम्दै गएका अधिकारहरू स्थापित गर्न सम्पूर्ण कामदार, श्रमिक, कर्मचारी र यिनीहरूको प्रतिनिधित्व गर्ने सङ्गठन (ट्रेड युनियन) हरूले एकपटक फेरि सशक्त कानुनी र व्यावहारिक लडाइँ लड्नुपर्ने दिन नजिकै आइरहेको छ । 

वर्तमान सरकार र यसका संयन्त्रहरू अब सीमित धनाढ्य, नवधनाढ्य र दलाल पुँजीपति वर्गको मात्र पछि लागेर देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका श्रमजीवी वर्गको विरुद्धमा लाग्नुहुँदैन । सरकारले धरातलीय यथार्थ के हो ? कसरी देशका सीमान्तकृत र तल्लो वर्गका श्रमजीवी जनताको हितमा काम गर्न सकिन्छ ? यतातिर आफ्नो ध्यान केन्द्रित गर्नु नितान्त जरुरी देखिन्छ ।

यसका साथै, अब ट्रेड युनियनकर्मीहरूले पनि आफ्ना विगतका कमजोरीहरूको निर्मम आत्मसमीक्षा र पहिचान गर्नुपर्छ । सङ्गठनलाई सत्ताको भर्‍याङ मात्र नबनाई, वास्तविक श्रमिकको पहिचान, पर्याप्त कामको ग्यारेन्टी, पेटभरि खान र स–सम्मान बाँच्न पुग्ने गरी तलब सुविधाको सुनिश्चितताका लागि सरकार र रोजगारदातासँग संघर्ष, सहकार्य र सहमतिको नयाँ बाटो निर्माण गर्दै अघि बढ्नु आजको अनिवार्य आवश्यकता हो । 

संघर्षबिना कुनै पनि अधिकार प्राप्त हुँदैन र प्राप्त अधिकारको रक्षा पनि हुन सक्दैन भन्ने मे दिवसको मूल मर्मलाई हामी सबैले आत्मसात् गरौँ । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी वर्गमा हार्दिक मङ्गलमय शुभकामना !

(लेखक पोखरेल राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघका सह–अध्यक्ष हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश पोखरेल
दिनेश पोखरेल
लेखकबाट थप