बुद्धलाई कसरी बुझ्ने ?
सारांश
- भगवान् बुद्धले आफू देवता, देवदूत वा यक्ष नभई 'बुद्ध' भएको बताउनुभएको छ, जसको अर्थ 'जागरुक व्यक्ति' हो ।
- बुद्धलाई बुझ्नका लागि उहाँको जीवनी, धर्म-शिक्षा, अनुयायीहरू, तीर्थाटन, अस्थिअवशेषको उपासना, मूर्ति उपासना, बौद्धज्ञान, ध्यान परम्परा र चाडबाडहरूलाई बुझ्नुपर्छ ।
- बुद्धले आत्माको अस्तित्व नस्वीकार्नुका साथै सृष्टिकर्ता ईश्वरलाई पनि नमान्नुभएको दर्शनले उहाँको उपासना परम्परामा भिन्नता ल्याएको छ ।
बुद्धको परिचय माग्दै कसैले उहाँसित सोधेका थिए– ‘तपाईँ देवता हो कि ? देवदूत हो कि ? यक्ष हो कि ? तपाईँ को हो ?’ भगवान् बुद्धले जवाफ फर्काए– ‘म देवता होइन, म देवदूत पनि होइन, न कि म यक्ष हुँ, म त बुद्ध हुँ ।’ उत्तर बुझ्न अलिक कठिन छ ।
उहाँले आफ्नो नामबाट नीजि तथा व्यक्तिगत परिचय कसैलाई दिनुभएन । तर पनि उहाँसँग सम्बन्ध देखाएर गर्व गर्ने त्यतिबेला धेरै थिए । तात्कालिक कोसलका राजा प्रसेनजीत आफू पनि कोसलक भगवान् बुद्ध पनि कोसलक भनी खुसि हुने गर्थे । भगवान्का बुबा शुद्धोदनलाई बाबु–छोराको व्यक्तिगत सम्बन्ध नदेखाउन ‘तपाईँको वंश त शाक्यवंश हो, मेरो वंश त बुद्धवंश हो’ भनी उहाँले बताउनु भएको थियो ।
अब समस्या आउँछ– बुद्ध भनेको के हो ? यसलाई कसरी बुझ्ने ? बुद्धको परिभाषा ‘जागरुक व्यक्ति’ रूपमा दिइएको छ । जागरुक व्यक्ति कसलाई भनिन्छ ? यहाँ निर बुद्ध भन्दा २४ सय वर्षपछि जन्मेका भारतीय गुरु रमण महर्षिको जागरुक वा सदैव जागरुक रहने व्यक्तिको सरल परिभाषाबाट बुझ्न सकिन्छ– ‘हरेक विचार मसँग जोडिएको हुन्छ । म र त्यससँग जोडिएको हरेक विचार वास्तवमा कुनै निश्चित कुरा होइन ।
त्यो भ्रम मात्र हो । हामी लगातार सोचिरहने मानव हुँदा त्यो भ्रम सत्य जस्तो प्रतिक हुन्छ । जब त्यो भ्रमलाई हामी ध्यानपूर्वक मनभित्र निरिक्षण गर्ने कोशिस गर्छौँ, त्यो मको भ्रम गायब हुन्छ । मको भ्रम गायब भएपछि जुन विचार बच्छ त्यही नै सत्य हो । त्यो सत्य शान्त, स्थिर र पूर्णरूपमा मौजूद रहन्छ । यो तरिका आफुलाई हेर्ने र बुझ्ने व्याबहारिक तरिका हो ।
म भनेको शरिर, यसका इन्द्रिय र मन होइन भन्ने बुझेर त्यसलाई हटाउँदा जागरुकता जन्मिन्छ । यसैलाई रमण महर्षिले आत्मा भनेका छन् । तर भगवान् बुद्ध आत्मालाई मान्नु हुन्न, न त सृष्टिकर्ता ईश्वरलाई मान्नु हुन्छ । यस जन्मको धर्मकर्मको संस्कारको आधारमा अर्को जन्म हुने मान्यता बुद्धधर्ममा पाइन्छ । तब बुद्धलाई कसरी बुझ्ने ?
बुद्धलाई बुझ्न पहिले उहाँलाई चिन्ने र जान्ने कोशिस गर्नुपर्छ । उहाँको जीवनीसँग सर्वसाधारण नेपाली परिचित रहेका हुनाले यसबारे यहाँ चर्चा गरिरहन नपर्ला । साथै, बुद्धलाई बुझ्नका लागि उहाँको धर्म–शिक्षा र उहाँको अनुयायीहरूलाई पनि बुझ्न जरुरी पर्छ ।
उहाँले आत्माको अस्तित्व नस्विकार्दा सनातनी धर्म अनुसार परिभाषित आत्माको अमरतालाई पनि अस्विकार्नु भएको देखिन्छ र कुनै सृष्टिकर्ता ईश्वर पनि नभएको उहाँको दर्शनले बुद्धधर्मको उपासना परम्पराको परिपालनमा केही भिन्नता देखिने नै भयो ।
यसैबारे चर्चा चलाउँदै भगवान् बुद्धलाई कसरी बुझ्न सकिन्छ भन्ने सानो लेख तयार गरिएको छ ।
भगवान् बुद्धलाई पूर्णरूपमा बुझ्न त आफू स्वयं बुद्ध हुनु पर्छ, अन्यथा उहाँलाई पूर्णरूपमा बुझ्न सकिँदैन भन्ने यथार्थ बताइरहनु नपर्ला । तर निम्न तरिकाबाट भगवान् बुद्धलाई थोरबहुत बुझ्न सकिन्छ भनी यस लेखमा बुँदागत रूपमा चर्चा गर्ने प्रयास गरेको छु ।
तीर्थाटन परम्पराबाटः ‘महापरिनिब्बान सुत्त’ मा उल्लेख छ– आर्य आनन्दले बुद्धलाई सोधेका थिए ‘अब भगवान् नरहनु भएपछि बुद्ध तथा मनोभावनीया भिक्षुहरूको दर्शन पाउँदैनौँ होला ।’ तब भगवान् बुद्धले संवेजनीय तीर्थाटनबाट त्यसलाई बुझ्न सल्लाह दिनु भएको थियो । उहाँले आफ्नो जीवनको अन्त्यताका भन्नु भएको थियो, ‘श्रद्धालु कुलपुत्रको लागि चार दर्शनीय बैराग्यप्रद स्थान हुनेछन्– बुद्धजन्मस्थान, बुद्धत्वप्राप्तिस्थान, धर्मचक्र प्रवद्र्धनस्थान र महापरिनिब्र्बाणस्थान ।’
यस अर्थमा बुद्धजन्मस्थान लुम्बिनी, बुद्धत्वप्राप्तिस्थान बोधगया, प्रथम धर्मचक्र प्रवद्र्धनस्थान सारनाथ र महापरिनिब्र्बाणस्थान कुशिनगरको चारधाम तीर्थयात्रा गरी आदरपूर्वक उब्जिने वैराग्यपूर्ण संवेदनाबाट उहाँलाई बुझ्न सकिन्छ । त्यति मात्र होइन, बुद्ध भगवान्ले आफ्नो जीवनमा चारिका गर्नुभएको बौद्धक्षेत्रहरूलाई पनि यसमा समावेश गर्न सकिन्छ ।
बौद्ध साहित्यमा सम्पूर्ण ब्रह्माण्डलाई नै बौद्धक्षेत्र भनिएको छ र बुद्धधर्म फैलिएका विभिन्न क्षेत्रहरूमा पनि बौद्ध मन्दिर, विहार तथा तीर्थस्थलहरू बनेका छन् जसको यात्रा गरी उहाँप्रति आदरपूर्वक उब्जिने संवेदनाबाट उहाँलाई बुझ्न सकिन्छ ।
बुद्ध–अस्थिअवशेषको उपासनाबाटः भगवान् बुद्धको महापरिनिब्र्बाण पछि उहाँको जीवित शरिर रहेन, श्रद्धापूर्वक जलाइयो । उहाँ अनात्मवादी तथा अनिश्वरवादी हुँदा अमरआत्मा वा ईश्वरका रूपमा उहाँलाई पुजिने अवस्था रहेन । तर बुद्धका अनुयायीहरूले जुक्ति निकाले– उहाँको अस्थिधातु राखेर चैत्य–मन्दिर बनाए । यसलाई एक प्रकारको बुद्ध–स्मृति–शरिर मान्न सकिन्छ । तात्कालिक अष्टकुलिक (मगध, कपिलवस्तु, रामग्राम, वैशाली, बेठदीप, अल्लकप्प, पावा र कुशिनगरका बासिन्दा) हरूले आ–आफ्ना क्षेत्रमा ठूल्ठूला चैत्यहरू बनाई बुद्ध–अस्थिअवशेषको उपासना शुरु गरे ।
ती चैत्यहरूलाई पनि इ.पू. तेस्रो शताब्दीमा सम्राट अशोकले रचनात्मक रूपमा तोडेर त्यहाँबाट बुद्ध–अस्थिअवशेष निकाली ८४ हजार भाग गरी नेपाल लगायत विभिन्न क्षेत्रहरू ८४ हजार चैत्यहरू निर्माण गरेको उल्लेख ‘अशोकावदान’ मा उल्लेख पाइन्छ । आजको समयसम्म लाखौँ चैत्यहरू निर्मित भए, जसको श्रद्धापूर्वक उपासनाको अनुभवबाट भगवान् बुद्धलाई बुझ्न सकिन्छ ।
परम्परागत तथागत उपासनाबाटः ‘दीघनिकाय’ मा भगवान् बुद्धले आफुलाई तथागतको रूपमा पनि परिचित गराएका छन् । तथागतको अर्थ ‘आउने–जाने’ हुन्छ । विभिन्नकालमा विभिन्न बुद्धहरू यस लोकमा आउनुहुने र जानुहुने गर्नुहुन्छ । गौतम बुद्धभन्दा अघि विभिन्न युग र कालमा २७ बुद्धहरू यस लोकमा आइसक्नु भएको मानिन्छ ।
हालको समयको बुद्ध गौतम बुद्ध हुन् र गौतम बुद्ध भन्दा ५ हजार वर्षपछि भविष्यबुद्धको रूपमा मैत्रेय बुद्धले जन्म लिनुहुनेछ । ती सबै बुद्धले वैराग्य–शिक्षा दिएर जानुभएको छ र ती सबै तथागतहरूको उपासनाबाट पनि बुद्धलाई बुझ्न सकिन्छ ।
भगवान् बुद्धका मूर्ति उपासनाबाटः भगवान् बुद्धको महापरिनिब्र्बाण पछिको प्रारम्भिक कालमा उहाँका स्मृतिचिन्हहरू (बोधिवृक्ष, कमल, सिंह, धर्मचक्र आदि) को उपासना हुन्थ्यो । इ.पू. दोस्रो शताब्दीबाट जब बुद्धमूर्ति बन्न थाल्यो त्यसलाई हरेक बौद्ध बिहारहरूमा भगवान् बुद्धलाई रहन बनाइएका मूल कोठाहरूमा कोष्ठपाल वा गन्धुरी देवताका रूपमा स्थापना गरी बुद्ध–पूजा परम्परा शुरू भयो । भगवान् बुद्धका मूर्तिहरू शास्त्र अनुसार सदृष्य रूपमा बनाइन्छ, जसबाट उहाँलाई मूर्त रूपमा चिनेर उपासना गर्न पाइने भयो ।
त्यसका साथै बोधिसत्त्व (बुद्धत्व प्राप्तिको तहमा पुगेपनि बुद्ध बन्नबाट स्थगनमा बस्नुभएका) तथा बौद्धधर्मका धर्मपाल देवताहरूको पूजनक्रममा पञ्चशील (चोरी, हिंसा, असत्य, मादक पदार्थ सेवन, परस्त्री–परपुरुष गमन छोड्ने व्रत) ग्रहण गरेर पनि उहाँलाई बुझ्न सकिन्छ ।
बौद्धज्ञान सिकाई परम्पराबाटः ‘संयुक्तनिकाय’ मा उहाँले, ‘म नै (बुद्धधर्मको) मार्गदर्शक हुँ’ भन्नुभएको छ । त्यसै गरी उहाँले भन्नुभएको छ, ‘जसले मेरो धर्म बुझ्दछ, उसले मलाई बुझ्दछ ।’ पहिलो धर्म उपदेशमा उहाँले चार आर्यसत्य (दुःख छ, दुःखको कारण छ, दुःखको निदान छ र निदानको मार्ग छ) लाई बुझाउनु भएको छ । दुःखको निदानको हेतु उहाँले मध्यम मार्गयुक्त आर्यअष्टाङ्गिक (सम्यक) मार्गको शिक्षा दिनुभएको छ ।
यसका अतिरिक्त बौद्धधर्मका पालि, संस्कृत, चिनी तथा तिब्वती अनुवाद साहित्यको अध्ययन गरेर उहाँलाई बुझ्न सकिन्छ । बिहार, योग्य धर्मगुरु तथा विश्वविद्यालयहरूबाट बुद्धधर्म सिक्न सकिन्छ ।
ध्यान परम्पराबाटः विपस्सना ध्यानका अभियन्ताहरूको दावा अनुसार विपश्यना ध्यानबाट बुद्ध र उहाँको धर्मलाई बुझ्न सकिन्छ । भगवान् बुद्धले सिकाउनु भएको विपश्यना तथा शमथ लगायतका ध्यानमा आफुभित्रको सत्यको अनुभूतिबाट जागरुक भई उहाँलाई बुझ्न सकिन्छ ।
उहाँले ‘मज्झिमनिकाय’ मा आफुलाई देवता र मानव मात्रको अनुत्तर (सर्वाेच्च) गुरु हुँ भन्नु भएको छ । त्यसैगरी, वज्रयानी तान्त्रिक ध्यानबाट पनि अर्हत्व (सुख–दुःखमा अनाशक्ति) प्राप्ति हुने हुँदा यसबाट पनि बुद्धलाई बुझ्न सकिन्छ ।
बौद्ध चाडबाड मनाएरः वैशाख पूर्णिमाका दिनमा राष्ट्र वा सरकार प्रमुखको उपस्थितिमा लुम्बिनीको मायादेवी परिसरमा औपचारिक रूपमा बुद्ध–जयन्ति मनाइने परम्परा छ । बौद्ध धर्माबलम्बिहरूको यो प्रमुख चाड हो, जसलाई सबै बौद्धहरू मनाउँछन् ।
यसबाट विश्वमा शान्ति कायम गर्ने प्रेरणा प्राप्त हुन्छ । त्यसै गरी पद्मपाणि–मत्स्येद्रनाथ जात्रा, पञ्चदान, सम्यक पर्व लगायतका बौद्ध चाडबाड मनाएर बौद्ध परम्परा अनुसार दान प्रदान गरेर भगवान् बुद्धलाई बुझ्न सकिन्छ ।
(लेखक स्वतन्त्र पत्रकार हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण