मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अभिनेत्री सेलिना जेट्लीका पतिविरुद्ध एफआईआर दर्ता

शनिबार, २६ वैशाख २०८३, १५ : २७
शनिबार, २६ वैशाख २०८३

सारांश

  • अभिनेत्री सेलिना जेट्लीले आफ्ना पति पिटर हागविरुद्ध कुटपिट, शारीरिक क्षति, धम्की र मानसिक तनाव दिएको आरोपमा मुम्बई प्रहरीमा एफआईआर दर्ता गराएकी छन्।
  • मुम्बई प्रहरीले भारतीय न्याय संहिता, २०२३ को विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ र पिटर हागविरुद्ध लुक आउट सर्कुलर (एलओसी) जारी गरेको छ।
  • सेलिनाले पतिमाथि घरेलु हिंसा, आर्थिक शोषणको आरोप लगाउँदै आफ्ना सन्तानलाई भेट्न नदिएको र डिभोर्सको नोटिस दिएको दाबी गरेकी छन्।

मुम्बई । मुम्बई पुलिसले बलिउड अभिनेत्री सेलिना जेट्लीका पति पिटर हागविरुद्ध एफआईआर दर्ता गरेको छ। अभिनेत्री जेट्लीले आफ्ना पतिमाथि कुटपिट, शारीरिक क्षति पुर्‍याएको, धम्की दिएको र लगातार मानसिक तनाव दिएको गम्भीर आरोप लगाएकी छन्।

न्यूज एजेन्सी एएनआईका अनुसार मुम्बईको वर्सोवा पुलिस स्टेशनमा शुक्रबार उनीविरुद्ध उजुरी दर्ता गरिएको हो।  पुलिसले भारतीय न्याय संहिता (बीएनएस), २०२३ को विभिन्न धाराहरू ८५, ११५ (२), ३५१(२) र ३५२ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

यो कारबाही घरेलु हिंसा ऐन, २००५ अन्तर्गत चलिरहेको कानुनी प्रक्रियाको अतिरिक्त गरिएको बताइएको छ। अनुसन्धानमा सहयोग नगरेपछि मुम्बई पुलिसले पिटर हागविरुद्ध लुक आउट सर्कुलर (एलओसी) समेत जारी गरेको छ। यसअघि सेलिनाले गत वर्षको नोभेम्बरमा अँधेरी अदालतमा पतिविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्।

अदालती कागजातका अनुसार उनले घरेलु हिंसा ऐनअन्तर्गत अन्तरिम र एकतर्फी राहतको माग गरेकी थिइन्। सेलिनाले आफ्ना पतिले काम गर्नबाट रोकेको, आर्थिक रूपमा कमजोर बनाएको र मुम्बईस्थित घर आफ्नो नाममा गराउन दबाब दिएको आरोप लगाएकी छन्।

नवजात सन्तान र आमाबुवाको मृत्युपछि आफू डिप्रेसनबाट गुज्रिरहेका बेला पतिले यस्तो व्यवहार गरेको उनको दाबी छ। उनले पतिमाथि भावनात्मक, शारीरिक, यौनजन्य, मौखिक र आर्थिक शोषणको आरोप लगाउँदै अस्ट्रियामा रहेको घर छोडेर भारत फर्कन बाध्य पारिएको र अहिले आफ्ना सन्तानलाई भेट्न नदिएको बताएकी छन्।

हालै सेलिनाले सामाजिक सञ्जालमा एक भावुक भिडियो सार्वजनिक गरेकी थिइन्, जसमा उनी अस्ट्रियामा आफ्ना दिवंगत छोरा शमशेरको चिहानमा रोइरहेको देखिन्छिन्। उनले विगत दुई हप्तादेखि डिभोर्सको सुनुवाइका लागि अस्ट्रियामा रहेको तर अदालतमा उपस्थित हुँदा समेत आफ्ना तीन छोरालाई भेट्न नदिइएको आरोप लगाएकी छन्। बच्चाहरूलाई आफूबाट टाढा राखिएको र उनीहरूलाई आफ्नो विरुद्ध भड्काउने काम भइरहेको उनको गुनासो छ।

सेलिना जेट्लीले सन् २०१० मा पिटर हागसँग विवाह गरेकी थिइन्। उनले २०१२ मा जुम्ल्याहा र त्यसको ५ वर्षपछि पुनः जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन्। तीमध्ये एक छोराको मुटुको समस्याका कारण मृत्यु भएको थियो।

सेलिनाका अहिले तीन छोरा विन्स्टन, विराज र आर्थर छन्। सन् २०२५ को सेप्टेम्बरमा सेलिनाले विवाहको १५ औँ वार्षिकोत्सवको उपहार दिने बहानामा आफूलाई पोस्ट अफिस लगेर डिभोर्सको नोटिस थमाइएको खुलासा गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप