मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लिभरपुल र चेल्सीबिच बराबरी, एनफिल्डमा समर्थकको आक्रोश

शनिबार, २६ वैशाख २०८३, २० : ३७
शनिबार, २६ वैशाख २०८३

एनफिल्ड । लिभरपुल र चेल्सीबिचको रोमाञ्चक प्रिमियर लिग भिडन्त १–१ गोलको बराबरीमा सकिएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । 

चेल्सीका लागि यो नतिजा केही राहतपूर्ण बनेको छ किनभने यसअघिका लगातार ६ खेलमा व्यहोरेको पराजयको शृङ्खला यस बराबरीसँगै अन्त्य भएको छ । 

यस बराबरीका बाबजुद लिभरपुल चौथो स्थानमा कायमै छ र छैटौँ स्थानको बोर्नमाउथभन्दा ७ अंकले अघि छ । चेल्सी भने नवौँ स्थानमा यथावत छ । लिभरपुलले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने सम्भावनालाई थप बलियो बनाए पनि एनफिल्डको माहोल भने केही अशान्त देखिएको थियो । विशेष गरी मुख्य प्रशिक्षक अर्ने स्लटले दोस्रो हाफमा किशोर विङ्गर रियो एनगुमोहालाई मैदानबाट बाहिर निकाल्दा र खेल सकिएपछि समर्थकहरूले चर्को हुटिङ गर्दै असन्तुष्टि व्यक्त गरेका थिए । 

खेलको सुरुवातमै एनगुमोहाको पासमा रायन ग्राभेनबर्चले पेनाल्टी क्षेत्रको किनाराबाट उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, सुरुवाती अग्रता लिएपछि लिभरपुलले खेलमा पकड गुमाउँदै गयो र चेल्सीले पुनरागमनको अवसर पायो । पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा एन्जो फर्नान्डेजको फ्रिकिक सिधै गोलमा परिणत भएपछि खेल बराबरीमा आएको थियो । 

चेल्सीका कोल पाल्मरले दोस्रो हाफमा बललाई जाली चुमाए पनि मार्कुस कुकुरेला अफसाइड भएपछि उक्त गोलले मान्यता पाएन । लगत्तै लिभरपुलका कर्टिस जोन्सले गरेको हेड गोल पनि कोडी गाक्पो अफसाइड भएका कारण रद्द गरिएको थियो ।

प्रशिक्षक स्लटले ६७औँ मिनेटमा स्ट्राइकर अलेक्जेन्डर इसाकलाई मैदान प्रवेश गराएका थिए, तर उत्कृष्ट प्रदर्शन गरिरहेका एनगुमोहालाई निकाल्ने निर्णयले समर्थकहरूलाई आक्रोशित तुल्याएको थियो । खेलको अन्तिम समयमा लिभरपुलले जितका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप