बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
क्यान्सर उपचारमा आयुर्वेद

अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा

मङ्गलबार, २९ वैशाख २०८३, ११ : १८
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • सर्जनले बुवाको पेटको क्यान्सर अन्तिम चरणमा रहेको बताएपछि परिवारले उपचार निको पार्ने भन्दा पीडा कम गर्ने निर्णय गर्‍यो ।
  • आयुर्वेदिक फर्मुलेसन र सपोर्टिभ केमोथेरापीको संयोजनले एडभान्स स्टेज क्यान्सरका बिरामीको शारीरिक र मानसिक असहजता कम गर्न सहयोग गर्‍यो ।
  • आधुनिक अङ्कोलोजी र आयुर्वेद प्रतिस्पर्धी नभई सहकार्य गर्न सक्ने पूरक प्रणाली हुन् जसले जीवनको गुणस्तर सुधार गर्न सक्छ ।

‘अब घर लैजानुस्... सायद एक–दुई महिना मात्रै बाँकी छ होला ।’

काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा सर्जनले भनेका यी शब्दहरू मेरो जीवनका सबैभन्दा कठोर क्षणहरूमध्ये एक थिए । म चिकित्सक भएर पनि पूर्ण रूपमा असहाय महसुस गरिरहेको थिएँ । तर त्योभन्दा बढी म त्यस्तो छोरा थिएँ, जसले आफ्नो बुवाको आँखामा अझै केही समयको जीवन देख्न चाहन्थ्यो ।

बुवाको पेटको क्यान्सर अन्तिम चरणमा थियो, तर हामीले परिवारका रूपमा उहाँलाई रोगको वास्तविक गम्भीरता कहिल्यै बताएनौँ । किनभने हामीलाई लाग्यो, अन्तिम चरणको डरभन्दा पनि बाँकी समयलाई शान्त र सहज बनाउनु महत्त्वपूर्ण हो ।

शल्यक्रियाका क्रममा क्यान्सर शरीरभरि फैलिसकेको देखिएपछि अपरेसन सम्भव नभई घाउ बन्द गरेर घर फर्काइँदा हामी सबै मौन भयौँ । तर त्यो मौनताभित्र एउटा ठूलो निर्णय जन्मियो— अब उपचार निको पार्ने दिशामा होइन, पीडा कम गर्ने र जीवन सहज बनाउने दिशामा हुनुपर्छ ।

त्यसताका म भारतमा अध्ययनरत थिएँ । मेरा गुरु प्रोफेसर डा. विजय चौधरीको निरन्तर मार्गदर्शन, क्लिनिकल अनुभव र क्लासिकल आयुर्वेदिक सिद्धान्तलाई आधार बनाएर हामीले बुवाका लागि एउटा आयुर्वेदिक फर्मुलेसन तयार गर्‍यौँ, जसलाई हामीले सावधानीपूर्वक ‘सपोर्टिभ केमोथेरापी’का केही सेल्ससँग संयोजनमा प्रयोग गर्‍यौँ ।

हाम्रो उद्देश्य कहिल्यै क्यान्सर पूर्ण रूपमा निको पार्ने दाबी गरौँ भन्ने थिएन । बरु एडभान्स स्टेज क्यान्सरले ल्याउने अत्यन्त गहिरो शारीरिक र मानसिक असहजता, जसलाई केवल बिरामीले मात्र पूर्ण रूपमा महसुस गर्न सक्छन्, त्यसलाई कम गर्नुमा थियो ।

किनकि यस्तो अवस्थामा बिरामीले अनुभव गर्ने दुखाइ केवल शारीरिक दुखाइ मात्र होइन, त्यो सम्पूर्ण शरीर, मन र चेतनामा फैलिएको निरन्तर असहजता हो । यसले निद्रा, भोक, मानसिक शान्ति र आत्मबल सबैलाई कमजोर बनाइदिन्छ । र, हामीले प्रयोग गरेका आयुर्वेदिक औषधिहरूले बिस्तारै त्यही स्तरमा काम गर्न थाले र दुखाइको तीव्रता घट्दै गयो ।

पाचन र भोकमा सुधार देखियो । शरीरमा असहजता केही हदसम्म कम भयो । र, सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँको मानसिक अवस्था स्थिर हुन थाल्यो । यसले उहाँलाई फेरि सामान्य कुराकानी गर्न, मिठो मुस्कान दिन र परिवारसँग समय बिताउन सक्षम बनायो । यो कुनै पनि क्लिनिकल प्यारामिटरभन्दा धेरै मूल्यवान् थियो । त्यही समय मैले नेपाल र भारतका धेरै अङ्कोलोजिस्टहरूसँग प्रत्यक्ष समन्वय गर्ने अवसर पाएँ ।

यसले मलाई अझ स्पष्ट बनायो कि आधुनिक अङ्कोलोजी र आयुर्वेद प्रतिस्पर्धी होइनन्, बरु सहकार्य गर्न सक्ने दुई फरक तर पूरक प्रणाली हुन् । जहाँ मोडर्न अङ्कोलोजीले रोग (डिजिज) निको पार्ने प्रयास गर्छ भने आयुर्वेदले दुःख निवारण हेरचाहमार्फत ‘क्वालिटी अफ लाइफ’ सुधार गर्न सक्छ ।

यो सम्पूर्ण यात्रामा मेरा गुरु र श्रीमतीको भावनात्मक साथ निकै महत्त्वपूर्ण रह्यो । किनकि यस्तो अवस्थामा चिकित्सक स्वयम् पनि भावनात्मक रूपमा प्रभावित हुन्छ तर मार्गदर्शनले निर्णयलाई स्थिर बनाउँछ । र, मेरो दाइ र आमाको भूमिका त झन् निर्णायक थियो ।

हामीले बुवालाई डर वा भविष्यवाणी कहिल्यै महसुस हुन दिएनौँ । बरु उहाँलाई हरेक दिन सामान्य जीवनजस्तै अनुभव गराउने प्रयास गर्‍यौँ । यसले उहाँलाई मानसिक रूपमा बलियो राख्न सहयोग गर्‍यो र अन्ततः, जहाँ एक–दुई महिना मात्रैको अनुमान गरिएको थियो, त्यसमा उहाँले झन्डै दुई वर्ष ढुक्कले र अपेक्षाकृत सहज जीवन बिताउनुभयो ।

यो अवधिमा हाम्रो अनुभवले एउटा कुरा स्पष्ट गरायो कि एडभान्स क्यान्सरमा चिकित्सा केवल रोग नियन्त्रणको कुरा होइन, बरु पीडा, मानसिक अवस्था र परिवारको सहयोगको संयुक्त परिणाम हो ।

म दैनिक रूपमा एडभान्स स्टेज क्यान्सरका बिरामीहरूसँग कहिले टेलिफोन, कहिले भिडियो कल त कहिले प्रत्यक्ष सम्पर्कमा रहने गर्छु, जहाँ धेरै बिरामीहरू अत्यन्त कठिन शारीरिक र मानसिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । तर त्यही पीडाको बीचमा पनि मैले बारम्बार एउटा कुरा देखेको छु— उनीहरूको आँखामा बाँकी रहेको सानो तर गहिरो आशाले उनीहरू अझै पनि केही सहजता, शान्ति र केही साथको अपेक्षा गरिरहेका हुन्छन् ।

र, यसै यात्राबाट सिकिएको सबैभन्दा ठूलो पाठ के हो भने अन्तिम चरणमा पनि आशा समाप्त हुँदैन । यसको स्वरूप मात्र बदलिन्छ । कहिले औषधिका रूपमा, कहिले परिवारको साथका रूपमा र कहिले केवल बिरामीको अनुहारमा देखिने सानो शान्त मुस्कानको रूपमा ।

(आचार्य आयुर्वेद चिकित्सक तथा सल्लाहकार हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. रमेश आचार्य
डा. रमेश आचार्य
लेखकबाट थप