हेटौँडाको गौरीटारमा तयार भयो क्रिकेट मैदान, ११ करोड ७४ लाख खर्च
सारांश
- बागमती प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरीटार रंगशालामा ११ करोड ७४ लाख रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ।
- दुई वर्षअघि सुरु भएको निर्माण कार्य चालु आर्थिक वर्षको वैशाख मसान्तमा पूरा भएको छ र यसमा ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम लगायतका संरचना छन्।
- गौरीटार रंगशालामा क्रिकेट मैदानका अतिरिक्त पौडी पोखरी निर्माण सम्पन्न भइसकेको छ भने फुटबल मैदान र प्यारापिट निर्माण अन्तिम चरणमा छ।
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ।
करिब १६ वर्षअघि शिलान्यास भएर अलपत्र बनेको हेटौँडा–६ स्थित गौरीटार रंगशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएपछि ५ वटा पिच सहितको आधुनिक मैदान निर्माण सम्पन्न भएको हो।
दुई वर्षअघि सुरु गरिएको मैदान निर्माण कार्य चालु आर्थिक वर्षको वैशाख मसान्तमा पूरा भएको बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ। मैदान निर्माणमा कुल ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन्।
_KW4JMqiZli.jpg)
मैदान निर्माणको जिम्मा एसएनएस–पीएल–एचकेसी जेभीले २०८० चैत २० गते ठेक्का सम्झौता गरी लिएको थियो। ७० मिटर रेडियसको यस खेल क्षेत्रमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली जडान गरिएको छ र मैदानमा गुणस्तरीय ‘बर्मुडा दुबो’ लगाइएको छ। हाल मैदानको लेभलिङ गर्ने कार्य भइरहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य बनाइएको लामाको भनाइ छ।
मैदानमा हाल ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया कक्ष र अपाङ्गमैत्री संरचना निर्माण गरिएको छ। आगामी चरणमा ६ हजार दर्शक अटाउने गरी प्यारापिट विस्तार गर्ने लक्ष्य राखिएको छ।
मैदानको प्राविधिक पक्षलाई सुदृढ बनाउन नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरिएको छ। क्यानका केन्द्रीय सदस्य करण महताराका अनुसार पिचलाई थप गुणस्तरीय बनाउन टीयू क्रिकेट मैदानका क्युरेटर र बंगलादेशी क्युरेटरको प्राविधिक परामर्श लिने योजना रहेको छ।
सदस्य सचिव लामाले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेकाले अहिलकै अवस्थामा पनि यो मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न उपयुक्त छ र हामी छिट्टै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेर यसको औपचारिक उद्घाटन गर्ने तयारीमा छौँ।’
गौरीटारमा क्रिकेटका अतिरिक्त अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण सम्पन्न भइसकेको छ भने फुटबल मैदान र प्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारले यहाँ कभर्ड हल, सिन्थेटिक ट्रयाक, बोटानिकल पार्क र खेलाडीका लागि आवास गृह समेत निर्माण गर्ने योजना बनाएको छ।
२०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको यो आयोजना सुरुका वर्षहरूमा बजेट अभाव र स्वामित्व विवादका कारण अलपत्र परेको थियो। २०७६ सालमा बागमती प्रदेश सरकारले स्वामित्व लिएपछि निर्माणले गति लिएको हो।
२ अर्ब ४२ करोड ६४ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यहाँ फुटबल, पौडी, मार्सल आट्र्स र टेनिसका संरचनाहरू बनाउने लक्ष्य रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण