शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा

शुक्रबार, १९ असार २०८३, १५ : २४
शुक्रबार, १९ असार २०८३

सारांश

  • जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले विश्वकपबाट टोली बाहिरिएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  • बोस्टनमा भएको खेलमा जर्मनी पाराग्वेसँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो, जुन विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा जर्मनीको पहिलो हार हो ।
  • योसँगै जर्मनी लगातार तेस्रो विश्वकपमा पनि अन्तिम १६ मा पुग्न असफल भयो, जसको कारण नागेल्समानको बहिर्गमनलाई स्वाभाविक कदम मानिएको छ ।

काठमाडौँ । जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले विश्वकपबाट टोली बाहिरिएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । 

३८ वर्षीय नागेल्समानले चार पटकको विश्वच्याम्पियन जर्मनी अन्तिम ३२ चरणबाट बाहिरिएको चार दिनपछि पद छाडेका हुन् ।

बोस्टनमा भएको खेलमा जर्मनी पाराग्वेसँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो । विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा जर्मनीको यो पहिलो हार हो । यसअघि जर्मनीले खेलेका चारवटै विश्वकप पेनाल्टी सुटआउट जितेको थियो ।

योसँगै जर्मनी लगातार तेस्रो विश्वकपमा पनि अन्तिम १६ मा पुग्न असफल भयो । सन् २०१८ र २०२२ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने यसपटक अन्तिम ३२ मै यात्रा टुंगियो ।

पराजयपछि नागेल्समानले तत्काल राजीनामा नदिने बताएका थिए । तर आफ्नो भविष्य जर्मन फुटबल संघ (डीएफबी) ले तय गर्ने स्वीकार गरेका थिए ।

उनले भने, ‘म आफैं पद छाड्दिनँ । यदि डीएफबीले मलाई निरन्तरता दिन चाहन्छ भने म रहनेछु । तर यो क्षेत्रमा निर्णय कसरी हुन्छ भन्ने मलाई थाहा छ ।’

बुधबार डीएफबीका अध्यक्ष बेन्र्ड नोएन्डोर्फले नागेल्समान तथा खेलकुद नेतृत्व टोलीका आन्द्रेयास रेट्टिग र रुडी फोलरसँग छलफल गर्ने बताएका थिए  ।

संघको विज्ञप्तिमा उनले भनेका छन्, ‘आउँदा केही दिन हामी शान्त वातावरणमा बसेर टोलीले आफ्नो वास्तविक स्तर किन देखाउन सकेन, किन आफ्नै अपेक्षा र जर्मनीभरका समर्थकको अपेक्षामा खरो उत्रन सकेन भन्ने विषयमा विस्तृत समीक्षा गर्नेछौं । यस्तो ठुलो असफलतापछि केही नभएको जस्तो गरेर अगाडि बढ्न सकिँदैन र बढिँदैन ।’

नागेल्समानले सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको स्थानमा जर्मनीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनलाई त्यसको करिब छ महिनाअघि बायर्न म्युनिखले बर्खास्त गरेको थियो ।

उनको नेतृत्वमा जर्मनीले सन् २०२४ मा आफ्नै भूमिमा आयोजित युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलसम्म यात्रा गरेको थियो, जहाँ अतिरिक्त समयमा अन्ततः च्याम्पियन बनेको स्पेनसँग पराजित भएको थियो ।

जनवरी २०२५ मा नागेल्समानले आफ्नो सम्झौता नवीकरण गर्दै सन् २०२८ को युरोपियन च्याम्पियनसिपसम्म जर्मनीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका थिए ।

पाराग्वेसँगको हारअघि कुनै पनि प्रमुख प्रतियोगितामा जर्मनीको एकमात्र पेनाल्टी सुटआउट हार सन् १९७६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा तत्कालीन चेकोस्लोभाकियासँग भएको थियो ।

यसैबीच, जर्मनीका गोलरक्षक मानुएल नोयरले पनि पाराग्वेसँगको हारपछि दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि मात्रै सन्यासबाट फर्किएका ४० वर्षीय नोयरले जर्मनीका लागि १२८ अन्तर्राष्ट्रिय खेल खेलेका थिए र सन् २०१४ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विश्लेषकका अनुसार, खराब विश्वकपपछि यही नै एकमात्र सम्भावित अन्त्य थियो । फुटबल विश्लेषक सेबास्टियन स्टाफर्ड–ब्लोरका अनुसार, यो निर्णय कुनै आश्चर्यजनक होइन । जर्मनी बाहिरिएलगत्तै नागेल्समानले आफू राजीनामा नदिने घोषणा गरेका थिए, जसले निर्णयको जिम्मेवारी डीएफबीमाथि नै छोडेको थियो ।

के दुवै पक्षको सहकार्य जारी रहन सक्थ्यो ? त्यो कल्पना गर्न निकै कठिन थियो । जर्मनीले यस विश्वकपमा अत्यन्तै निराशाजनक प्रदर्शन ग¥यो । वास्तवमा यो केवल केही साताको खराब प्रदर्शन मात्र होइन, पछिल्ला केही वर्षदेखि टोलीको अवस्था लगातार कमजोर बन्दै आएको थियो ।

टोलीको खेलशैलीमा अपेक्षित सुधार देखिएन । कुनै स्पष्ट रणनीतिक पहिचान बनेन । नागेल्समानले जिम्मेवारी सम्हाल्दा पनि कमजोर रक्षापंक्तिमा सुधार गरिएन तथा गोल गर्ने अवसर सिर्जना गर्न नसक्ने समस्यालाई पनि हल गरिएन भन्ने आरोप लागेको छ ।

यस्तो अवस्थामा राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा नागेल्समानको विश्वसनीयतामा प्रश्न उठेको देखिन्छ । उनी अझै पनि सक्षम प्रशिक्षक हुन्, तर पूर्व खेलाडीहरू र प्रभावशाली जर्मन सञ्चारमाध्यमका धेरै व्यक्तिहरूले अब उनी राष्ट्रिय टोलीका लागि सही प्रशिक्षक होइनन् भन्ने निष्कर्ष निकाल्न थालेका छन् ।

आलोचनाको आवाज अत्यन्त ठुलो भइसकेको छ । विशेषगरी पाराग्वेसँगको हारपछि उनीसँग आफ्नो पद जोगाउने आधार बाँकी रहेन । 

जर्मनीलाई केवल नयाँ प्रशिक्षक मात्र होइन, अझ व्यापक परिवर्तन आवश्यक छ । आगामी हप्ता, महिना र सम्भवतः वर्षौंसम्म टोलीको गहन पुनर्मुल्याङ्कन र पुनर्निर्माण आवश्यक हुनेछ । नागेल्समानको बहिर्गमन त्यस प्रक्रियाको पहिलो र स्वाभाविक कदम बनेको छ । यद्यपि जनवरी २०२५ मा गरिएको नयाँ सम्झौताका कारण डीएफबीले उनलाई बिदाइ गर्दा ठुलै रकम क्षतिपूर्ति भने दिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?