मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

शुक्रबार, ०१ जेठ २०८३, १४ : १६
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरू उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।
  • सरकारले तोकेको न्यूनतम पारिश्रमिक ३४ हजार ७ सय ३० रुपैयाँ कार्यान्वयन नगरेको र आफूहरूले मासिक १९ हजार ३ सय ९६ रुपैयाँ मात्र पाउने गरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।
  • माग पूरा नभएसम्म आकस्मिक बाहेकका सेवा रोकेर आन्दोलन जारी राख्ने ४० जना स्वास्थ्यकर्मीहरूले अडान लिएका छन्।

काठमाडौँ । कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै आफूहरू  आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मीहरूले बताएका  छन्। सरकारले निजी अस्पतालहरूमा पनि लागू हुने गरी स्वास्थ्यकर्मीहरूको ५ औँ तहका लागि मासिक ३४ हजार ७ सय ३० रुपैयाँ पारिश्रमिक तोकेको भए पनि अस्पताल प्रशासनले उक्त निर्णय कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।

स्वास्थ्यकर्मीहरूका अनुसार अस्पतालले सरकारले तोकेको भन्दा झन्डै आधा कम तलबमा काम गर्न बाध्य पारिरहेको छ । हाल उनीहरूले मासिक १९ हजार ३ सय ९६ रुपैयाँ मात्र हात पार्ने गरेको बताउँछन् ।

श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण गर्न पाइँदैन भन्ने लगायतका पर्चा बोकेर स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा धर्ना दिएका छन् ।

नर्स, हेल्थ असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीले मासिक १९ हजार मात्रै पारिश्रमिक पाउँदै आएको उनीहरूको भनाइ छ। निजी अस्पतालहरूले सरकारी मापदण्डअनुसार पारिश्रमिक दिए/नदिएको विषयमा अनुगमन गर्न नेपाल सरकारबाट अनुगमन टोली खटाइने आश्वासन दिएका थिए । तर, हालसम्म शहीद मेमोरियल अस्पतालमा कुनै पनि सरकारी अनुगमन टोली नपुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

रातदिन बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीहरूमाथि नै यसरी श्रम शोषण हुँदा पनि नियमनकारी निकाय बेखबर बसेको उनीहरूको आरोप छ। तत्काल अस्पतालको अनुगमन गरी सरकारले तोकेको नियमअनुसारको पारिश्रमिक दिलाउन स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

अस्पतालका ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बिहीबार मात्रै माग पूरा नभएर ड्युटी गर्न असमर्थ रहेको भन्दै अस्पताल प्रशासनलाई पत्र दिएका थिए । माग पूरा नहुँदासम्म ड्युटीमा उपस्थित हुन नसक्ने अडान उनीहरूको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप