स्वस्पर्श अर्थात् जीवनस्पर्श
सारांश
- डा. नवराज केसीको गैरआख्यानात्मक कृति 'स्वस्पर्श' ले सुदूरपश्चिमको यथार्थ जीवनका कथाव्यथा र पात्रहरूसँग पाठकलाई साक्षात्कार गराउँछ ।
- पुस्तकले कर्णाली क्षेत्रमा कार्यरत बालरोग विशेषज्ञ केसीले नजिकबाट देखेका गरिबी, अशिक्षा, अन्धविश्वास र अभावजस्ता समस्यालाई समेटेको छ ।
- 'स्वस्पर्श' ले निराशा होइन, आशा र जीवन जिउने कला सिकाउँछ, जसमा विभिन्न पात्रका संघर्षपूर्ण कथाहरू समावेश छन् ।
सायद पढ्नु, लेख्नु त्यसबाट जीवन बोध गर्नु फरक हुन सक्छन् । सर्सर्ती किताब पढेर सक्नका लागि पढ्नु, सामान्यीकरण गर्दै लेख्नु र नजिकबाट नियालेर भोगाइबिच जीवन बोध गर्नु फरक पाटा हुन् भन्ने लाग्छ । नेपालको सुदूरपश्चिमको जीवन भोगाइबारे छर्लङ्ग पारिदिने पुस्तक हो स्वस्पर्श ।
डा. नवराज केसीले आफ्नो पुस्तक ‘स्वस्पर्श’ सुदूर ग्रामीण यथार्थ जीवनका कथाव्यथा र तिनका जिउँदाजाग्दा पात्रहरूसित अक्षरहरूमार्फत साक्षात्कार गराइदिन्छन् यस गैरआख्यानात्मक कृति मार्फत । अविरल बगिरहने कञ्चन कर्णाली नदी आसपासका वास्तविक पात्र र तिनका वास्तविक सुख–दुःखका कथाव्यथा र सुस्केराहरू समेटिएकाले होला सायद पुस्तक पढ्दै गर्दा पुस्तक कम र जीवन बढी पढिरहेको अनुभूत हुन्छ ।
लामो समयदेखि कर्णाली क्षेत्रमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ हुन् पुस्तकका सर्जक केसी । गरिबी, अशिक्षा, अन्धविश्वास, छुवाछुत, अभाव, समस्यालाई अत्यन्त नजिकबाट देखेका उनले ‘स्वस्पर्श’मा कतै आफूले भेटेका पात्रहरूका कथाव्यथा उपचारमा आइपुगेका अन्य पात्रहरूलाई सुनाएका छन् भने कतै आफैँले सुनेका छन् ।
आफ्ना विश्वास र विचारलाई पुष्टि गर्न संसारभर धेरै पहिले भएका अनि वर्तमानमा भइरहेका अनेकौँ अध्ययन, अनुसन्धान र तिनको निचोडको सहारा लिएका लिँदै पाठकको ध्यान खिच्न लेखक पोख्त भेटिन्छन् । बिचबिचमा बुद्धका अत्यन्त जटिल जीवनदर्शनलाई अत्यन्त सरल शब्दमा बुझाउने कोसिस समेत गरेका छन् उनले ।
निराशा होइन, आशा अँध्यारो नभई उज्याला किरण छरिएको पाइन्छ ‘स्वस्पर्श’मा छन् । जीवन जिउने अनेक कला र बान्की भेटेको अनुभूति हुन्छ पढ्दै गर्दा । अत्यन्त नजिकबाट अनुभूत गरेको घटना झैँ लाग्छ दुई कक्षामा पढ्ने बालकको आत्महत्याको पीडादायक दृश्यदेखि अनेकौँ आशा, विश्वास र भरोसाका कथाहरू ।
उपचार सेवा लिन आइपुगेका हुन् अथवा फरक–फरक घुम्तीमा भेटेर संवाद गरेका रिटायर्ड आमा, अस्मिता बादी, जंगबहादुर, गर्वे दाइ, मन्दिरे, सानीनानी, नवराज भेडाजस्ता थुप्रै भुइँमान्छेका कथाले आमपाठकलाई बाँच्नका निम्ति गर्नुपर्ने सङ्घर्ष सबै सिकाइदिन्छन् । तिनले आफूसँगै कर्णालीका विकट गाउँबस्तीदेखि भारतका विभिन्न सहर बजारसम्म घुमाएर जीवनमा एकमुठी खुसी खोज्न त सिकाउँछन् नै तिनले कतै खित्का छाडेर हाँस्न बाध्य पार्छन् भने कतै धरधरी रुवाउँछन् पनि ।
दैलेखका मन्दिरे बयलकोटीलाई भेटेपछि लेखकले मानिसका १८ प्रकारका हाँसोको चिरफार गर्दै १७ प्रकारका कृत्रिम र एउटा मात्र असली हाँसो हुने बताएका छन् । १२ वर्षमै भारत पसेर त्यहाँ खाएको ठक्कर र पाएको दुःख अनि एउटा हात गुमाएर नेपाल फर्किएका मन्दिरेबाट जीवका अनेकौँ प्रश्नको उत्तर उनको ‘मन्दिरे हाँसो’ र ठट्यौलो बोलीमा भेट्न सकिन्छ ।
साथमा केही छैन, फोहोरबाट बिक्रीयोग्य सामान बटुलेर परिवारको भरण पोषण गर्छन् मन्दिरे । जीवनमा हाँस्नुको मजा लिन र हाँसोको अर्थ बुझ्न चाहनेले एक पटक उनको कथाव्यथा पढिदिए पुग्छ । मानिसको एउटा मात्र असली, प्राकृतिक र आनन्दपूर्ण मुस्कानलाई वैज्ञानिकहरूले नाम दिएका छन् ‘डुक्ने मुस्कान’ ।
गर्वे दाइको व्यथा सुने पुग्छ सुदूर गाउँबस्तीमा कुष्ठरोगप्रतिको अन्धविश्वास या गलत बुझाइ कति गहिरो छ भन्ने कुरा । निको भएपछि मागेरै गुजारा चलाइरहेका गर्बेले जब कोभिडको समयमा आफूसँगै मागेर गुजारा चलाउने साथीहरू बिरामी भएको वेलामा आफ्नो ‘बचत’ दिएर सहयोग गरे त्यसपछि माग्न छाडिदिए ।
‘मैले दिन जानेपछि माग्न छाडेँ’ भन्ने गर्बेको यही वाक्यले धेरै कुरा बोल्छ । बुझाउँछ र धेरैमा हौसला भर्छ । मरिसकेकी आमाको अनुहार मोबाइलमा नहेरी दुध नपिउने आठमहिने सानीनानी, वृद्धावस्थामा कोरोनाबाट थलिएकी पत्नीप्रति वृद्ध बाको असीम प्रेम, कर्णालीको पुलमा पुगेर हाम्फाल्न तयार किशोरीको व्यथा, आफ्नै ठुलाबाको यौन शोषणमा परेकी सानी बालिकाको मौनता आदि अनेकौँ कथामध्ये केहीले तपाईंलाई आक्रोशित तुल्याउँछन् भने केहीले आपसमा प्रेम बाँडेर बाँच्ने कला सिकाउँछन् ।
जंगबहादुरको कथा पढेपछि सुरुको धारणा बदलिएर उसको गरिब बाबुआमाप्रति होइन, यो देशको राज्यव्यवस्था र हाम्रो सामाजिक संरचनाप्रति आक्रोशित हुन पुग्छ आम पाठक ।
पोलियोले खुट्टा लुलो बनाइदिए पनि आत्मविश्वासलाई कहिल्यै लुलिन नदिएका सुर्खेतका किरण किशोर सापकोटाको कथाले मानिसका अवरोध उसमा भएको शारीरिक अपाङ्गता होइन, उसप्रति हेय भावले हेर्ने र ‘बिचरा’ भन्दै साथ र सहयोग दिनबाट हच्किनेहरू हुन् ।
जीवन जिउने असीमित ऊर्जा प्राप्त हुन्छ बेवारिसे पशुपन्छीलाई निःस्वार्थ माया बाँड्ने, सुर्खेतका नवराज ‘भेडा’को कथा पढ्दै गर्दा । एउटा मान्छेको कथा अर्को मान्छेका लागि साँच्चै ओखती हुन सक्दो रहेछ भन्ने बोध यहाँ पुग्दा हुन पुग्छ ।
पोलियोका कारण आफूमा भएको अपाङ्गतालाई चुनौती दिँदै सुर्खेतका विद्यालयलाई हराभरा पार्ने, अन्तर्राष्ट्रिय मिडियामा समाचार बन्ने र छिमेकी देशहरूसम्म आफ्नो कर्मले परिचित हुने किरणको कथाले व्यक्तिमा शारीरिक अपाङ्गता भए पनि उसमा आत्मविश्वास भरिदिने सहयोगी पक्ष भए उसलाई कुनै पनि अवरोधले छेक्न नसक्ने निस्कर्षका पु¥याउँछ ।
कर्णालीतिरको स्थानीय भाषाको रमरम स्वाद भेटिने ‘स्वस्पर्श’ मा सरल र सरस भाषाशैलीले आम पाठकलाई मोहनी लगाउँछ । पुस्तक पल्टाएर पढ्न सुरु गरेदखि अन्तिम पानासम्म नपुगी रोकिनु नपरे पनि हुन्थ्योजस्तो लागि रहन्छ । आफूले आफैँलाई चिन्न, माया गर्न, पीडाबिच पनि हाँस्न र बाँच्न सिकाउँछ पुस्तकमा प्रस्तुत जीवन भोगाइका कथाले ।
चाहे जाजरकोट, कुशेको एउटा फुच्चे विद्यालयमा पढ्ने अस्मिता बादीको कथाले होस् चाहे एसओएस बालग्रामकी रिटायर्ड आमाको कथा पढ्दै गर्दा होस्, मानिसले जीवनमा कहाँ–कहाँबाट र कसरी खुसी पाउन सक्दो रहेछ भन्ने रहस्योद्घााटन हुन्छ ।
अस्मिता वादीको कथाले हाम्रो समाजका धेरै व्यथा बोल्छ । विद्याको मन्दिरका ‘मास्टर’बाटै चर्को जातीय विभेद भोगेकी, अर्कालाई झुक्किएर छोएको ‘अपराध’मा कक्षाका साथी र शिक्षकबाटै निर्घात चुटिएकी अस्मिताले कसरी आफ्नो सगरमाथाजस्तो अग्लो लक्ष्यमा आफूलाई अडिग राख्न सकिन्, यी सब चोट सहेर पनि कसरी उनी कक्षामा सधैँ प्रथम भइरहिन् ।
र, उनले आफ्ना बाबुले झनेझैँ कसरी जहिल्यै आफूलाई ‘दोब्बर माया’ गरिरहिन् ? जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा उनले कसरी पूरा गरिन् ? र, अहिले कसरी धेरै बालबालिकाकी ‘कर्ममम्मी’ बनेर तिनका उज्यालो भविष्यका लागि प्रयत्नशील छिन् ? यी सब प्रश्नको उत्तर पाउन र जीवनका आयाम बुझ्न फाइनप्रिन्टद्वारा प्रकाशित ‘स्वस्पर्श’ पढ्नै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण