‘व्यक्तिगत र सार्वजनिक मुद्दा नै नचिन्ने न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन खोजियो’
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि उजुरीकर्ताहरूले शैक्षिक योग्यता, संवैधानिक योग्यता र न्याय सम्पादन क्षमताको गम्भीर प्रश्न उठाएका छन् ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा मङ्गलवार भएको छलफलमा उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्माको समग्र योग्यता र न्याय सम्पादन क्षमतामाथि प्रश्न उठाएका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उजुरीकर्ता सरोजकुमार मिश्रले प्रस्तावित प्रधानन्यायाधीश शर्माको न्याय सम्पादनमा गम्भीर त्रुटि रहेको दाबी गरे । उनले व्यक्तिगत र सार्वजनिक सरोकारका मुद्दासमेत छुट्याउन नसक्ने न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको आरोप लगाए । संसदीय सुनुवाइ समितिले उजुरीउपर आवश्यक छानबिन नै नगरी सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजेको प्रति उनले कडा आपत्ति समेत जनाए ।
आफ्नो असन्तुष्टि राख्दै उजुरीकर्ता मिश्रले भने, ‘मैले उहाँ डा. मनोजकुमार शर्माको न्याय सम्पादनमा त्रुटि छ भनेर संसदीय सुनुवाइ समितिमा उजुरी गरेको छु । व्यक्तिगत र सार्वजनिक मुद्दा नै नचिन्ने न्यायाधीश हुनुहुन्छ । समितिले पनि एकदमै हतार गरिरहनुभएको छ, सुन्न चाहिरहनुभएको छैन । जसरी पनि मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न चाहिरहनुभएको छ, यसमा हामी के नै गर्न सक्छौँ र ।’
अर्की उजुरीकर्ता जस्मिन ओझाले प्रस्तावित प्रधानन्यायाधीश शर्माको संवैधानिक योग्यतामाथि नै प्रश्न उठाउँदै सार्वजनिक रूपमा उठेका विवादलाई बेवास्ता गर्न नमिल्ने बताइन् । उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सम्बन्धी मुद्दा लगायत केही अत्यन्तै संवेदनशील विषयमा शर्माले दिएको फैसला विवादास्पद रहेको उल्लेख गर्दै शर्मा प्रधानन्यायाधीश पदका लागि योग्य नरहेको दाबी गरिन् । ओझाले पनि समितिले उजुरीहरूमाथि पर्याप्त अनुसन्धान र छानबिन नै नगरी सुनुवाइ प्रक्रिया हतार–हतार अघि बढाएको आरोप लगाइन् ।
समितिको कार्यशैली र डा. शर्माको योग्यतामाथि प्रश्न उठाउँदै ओझाले भनिन्, ‘प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा संवैधानिक रूपमा पनि अयोग्य हुनुहुन्छ र अरू थुप्रै प्रश्नहरू छन् । उहाँमाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरू अनदेखा गर्न मिल्दैन भनेर मैले उजुरी दिएको हो । अर्को कुरा समितिले समेत हतारो गरिरहेको छ । हिजो मात्रै उजुरी दर्ता सकिएको छ, उजुरीमाथि अनुसन्धान र छानबिन नै सकिएको छैन । सञ्चारमाध्यममा आजै सुनुवाइ हुने कुरा आइरहेको छ । शर्माले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति लगायत कतिपय मुद्दामा विवादास्पद फैसला गरेको कारण पनि उहाँ प्रधानन्यायाधीशका लागि योग्य हुनुहुन्न ।’
उजुरीकर्ताहरूसँगको छलफल र उनीहरूको बयान लिने काम सकिएसँगै अहिले संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि थप सुनुवाइको कार्य र कार्ययोजना प्रस्तुतिकरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण